|

काठमाडौं : लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरूले नयाँ सरकारका लागि मंगलबार बहुमतसहितको दाबी पेश गर्ने भएका छन्। 

सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने तयारी गरेका हुन्। 

प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि बुधबारसम्मको समयसीमा दिएकोमा  एक दिनअघि नै दलहरूले दाबी पेश गर्न लागेको नेकपा एमालेका प्रदेश सभा सांसद भूमिश्वर ढकालले बताए। 

उनका अनुसार सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्ता पक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेश गर्ने सहमति गरेका थिए।

प्रदेश प्रमुख शेरचनले मंगलबार साँझसम्ममा लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने सम्भावना छ। 

लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट छन् । नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ। कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेश गर्ने ढकालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.