सभाध्यक्ष बेपत्ता भएको आरोप, भट्ट भन्छन्- दुष्प्रचार हो

|

धनगढी : आज (शुक्रबार) सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मतदान गर्ने कार्यक्रम थियो तर मतदान नै हुन नसकेपछि सभामुख चयनको प्रक्रियामा दलहरूले राजनीतिक झमेला झिकेका छन्।

प्रदेशसभामा ७ सिटसहित प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीको अड्चनका कारण सुदूरपश्चिममा सभामुख चयनको विषय गिजोलिएको बताइएको छ। सभामुखको निर्वाचनमा शुक्रबार उन्मुक्ति पार्टी सहभागी नहुने भएपछि प्रदेशसभा बैठक नै स्थगित गरिएको छ।

सभामुख चयनका लागि शुक्रबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरिएको हो।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार त्यसअघि सर्वदलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा बैठकमा सहभागी नहुने अडान लिएको थियो।

सत्ता साझेदार दलले मुख्यमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोषकुमारी थापा (शर्मा) लाई मन्त्रीको शपथ गराएपछि नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट बनेको छ।

सत्तारुढ गठबन्धनमा छलफल नगरेर एकलौटी हिसाबले मन्त्रीको शपथ गराइएको भन्दै नागरिक उन्मुक्तिले असहमति जनाएको छ। यसअघि सरकारमा नजाने भन्दै आएको नागरिक उन्मुक्तिले सत्तारुढ गठबन्धनमा ३ मन्त्रालय र २ संसदीय समिति सभापतिमा दाबीसमेत गरेको छ।

यसमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने उन्मुक्तिको अडान छ। बिहीबार नागरिक उन्मुक्तिका एक सांसद प्रदेशसभामा उपस्थित नहुँदा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका भीमबहादुर भण्डारीले सभामुखका लागि बहुमत जुटाउन सकेका थिएनन्।

हिजोको मत विभाजनमा सत्तारुढ गठबन्धनको एक मत बदर भएको थियो भने एमालेका चक्र मल्ल बैठकमा सहभागी भएका थिएनन्। सभामुखको मत विभाजनमा भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका १९, माअ‍ोवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १/१ छन्।

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएको मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए। दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन्। कांग्रेसका रावलले दुवै पटक २३ मत पाएका थिए।

शुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्ने बारे प्रदेशसभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो।

कांग्रेसले पुनः निर्वाचन प्रक्रियाको माग गरेको थियो। पहिलो दिन भएको निर्वाचनमा बहुमत नआएपछि फेरि शुरुबाटै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने माग कांग्रेसको छ। सर्वदलीय बैठकमा सहभागी एक नेताले भने, ‘एमाले र माओवादीले त्यसको विरोध गरे, त्यसैले सहमति भने जुट्न सकेन।’

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ। यो समय माघ २ गते पूरा हुन्छ।

माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ। यता‚ पहिलो चरणमा कसैले बहुमत नपुर्‍याउँदा के गर्ने भन्नेबारे अनिश्चितता हुँदा माघ २ भित्रै सभामुख र उपसभामुख चयन गर्नसमेत सकस पर्ने देखिएको छ।

सभाध्यक्ष बेपत्ता भएको आरोप !

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभाका सभाध्यक्ष शिवराज भट्ट सम्पर्कविहीन भएको आरोप लगाएको छ। सर्वदलीय बैठकमा शुक्रबार दिउँसो प्रदेशसभा बैठक राख्ने सहमति भए पनि सभाध्यक्ष ‘बेपत्ता’ भएपछि बैठक बस्न नसकेको एमालेले जनाएको छ।

शुक्रबार सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी हुँदा सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद भट्ट सम्पर्कविहीन बनेको एमालेको दाबी छ।

यतिमात्र होइन, सुदूरपश्चिम प्रदेशसभाका बहुमत प्रदेशसभा सदस्यहरूले तत्काल बैठक आह्वान गर्न पनि माग गरेका छन्। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेशसभा सदस्यले संसद् बैठक आह्वान गर्न माग गरेका हुन्।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा २९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा ध्यानाकर्षण पत्र दर्ता गरिएको छ।

आज बिहान ११ बजे बैठक बस्ने भनिएकोमा दिनभर बैठक बस्न सकेन। प्रदेशसभामा ज्येष्ठ सदस्य शिवराज भट्ट बैठक अनिश्चित समयसम्मका लागि स्थगित गरेर सम्पर्कविहीन भएपछि सत्तारुढ दलका २९ जनाले तत्काल बैठक बोलाउन आह्वान गरेका हुन्।

ध्यानाकर्षण पत्रमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले हस्ताक्षर गरेका छन्।

गायब छैन : भट्ट

यता, सुदूरपश्चिम प्रदेशसभाका अध्यक्ष शिवराज भट्टले आफू सम्पर्कविहीन नभएको बताएका छन्। उनले सुनियोजित तरिकाले आफ्नो दुष्प्रचार गरिएको दावी गरे।

उनले बैठक बोलाउने आफ्नो अधिकारभित्र रहेको कुरा भएको बताउँदै कसैको इच्छाअनुसार आफू चल्न नसक्ने बताए।

पहिलो चरणमा सभामुख चयन हुन नसक्दा दोस्रो चरणमा कसरी जान सकिन्छ? भनेर कानूनी परामर्श लिएको समेत उनले बताए। सोहीअनुसार जेठ २ बजे बिहान ९ बजे बैठक आह्वान गर्ने सभाध्यक्ष भट्टले बताएका छन्।

त्यसअघि शनिबार (भोलि) बिहान ११ बजे सर्वदलीय बैठक पनि डाकिएको उनको भनाइ छ। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य तथा प्रदेशसभाका सभाध्यक्ष शिवराज भट्टले भोलि (शनिबार) प्रदेशसभाको तेस्रो बैठक आह्वान गर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.