|

पर्वत : पोखरास्थित सेती नदी खोंचमा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा सवार थप एक जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीका अनुसार सोमबार साँझ दुर्घटना भएकै सेती नदीको खोंचमा त्यो शव फेला परेको हो। योसँगै दुर्घटनामा मृत्यु भएकाहरूको संख्या ७० जना पुगेको पुष्टि भएको छ।

दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए।

दुर्घटना भएकै दिन आइतबार साँझसम्म ६८ जनाको शव भेटिएका थिए। बाँकी ४ जनाको अवस्था पत्ता लगाउन सोमबार बिहानैदेखि सुरक्षाकर्मीका उद्धारसम्बन्धी विशेष तालिमप्राप्त टोलीहरू खटिएका भए पनि थप २ जनाको मात्रै शव भेटिएको हो।

सोमबार मध्यान्हमा एउटा शव सेती नदीको पानीबाट निकालिएको थियो। तर साँझमा फेला पारेको शव भने पानीमा नभएको प्रहरी उपरीक्षक केसीले बताए।

‘दुर्घटनामा ज्यान गुमाउनु भएका ७२ जना महानुभावहरूमध्ये ७० जनाको शव प्राप्त भएको छ। पछिल्लो पटक भेटिएको ७० औँ नम्बरको शव केहीबेरअगाडि अस्पतालमा इन गराएका छौँ’, उनले भने, ‘अब २ जनाको अवस्थाको बारेमा पत्ता लगाउन सकिएको छैन। सकेसम्म छिटो अवस्था पत्ता लाग्ने गरी हामीहरू मिहिनेतका साथ खटिरहेका छौँ। भोलि पनि बिहानैबाट खोजी कार्य शुरु हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.