मृतककी पत्नीले गृहमन्त्रीसँग राखिन् यस्ता माग

|

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरेका छन्। 

मंगलबार संसद भवनअगाडि नयाँ बानेश्वरमा आत्मदाह गरेका उनका परिवारलाई भेट्न बुधबार कीर्तिपुर अस्पताल पुगेका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरूबाट वाक्क भएर केही गर्न राजनीतिमा प्रवेश गरेको बताए। 

उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताए। गृहमन्त्री लामिछानेले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए। 

‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरून्त छानबिन गर्नेछु। हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ। म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन,’ गृहमन्त्री लामिछानेले भने।  

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षा सुनिश्चित गर्न, आफूलाई सक्ने रोजगारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन्। उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन्। 

उनले भनिन्, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरूको भविष्य के हुने हो? मैले कसरी गर्ने, मेरो छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्, मैले सक्ने रोजगारी पनि दिनु, म यो आर्थिक भार उहाँले तिर्ने कतितिर छ यो सक्दिनँ राज्यले यसमा सहयोग गरोस्। यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले भर्न नै कति लाख खर्च भएन।’

उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताइन्। गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरूले शव बुझेका छन्। मंगलबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पताल निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.