|

दाङ : यही माघ २५ गते हुने लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट गजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर बुधबार एमालेका केन्द्रीय सदस्य दसौँदीले गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रस्तावक र प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठको समर्थनमा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन्।

एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहितका नेतासँग उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय उनी पुगेका थिए। उनले माओवादी केन्द्र, राप्रपालगायतका पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनले आफ्ना लागि राष्ट्रियसभा अवसर भएको भन्दै आफूले करिब दुई तिहाइ मत ल्याएर  जित्ने दाबी पनि गरे। उनले आफ्नो प्रस्तावक र समर्थन सत्ता गठबन्धन दलहरूबाट रहेको भन्दै आफू जित्ने कुरामा ढुक्क रहेको पनि बताए।

उनले राष्ट्रियसभा भनेको नियम कानुन बनाउने ठाउँ भएको भन्दै जनजीविकाका कुरा, विकास निर्माणका कुराहरू लगायतमा काम पहल गर्ने समेत बताए।

नेपाली कांग्रेसबाट नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सभापतिसमेत रहेका माधवप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। आचार्यको प्रस्तावकमा दाङको बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी रहेका छन्। उनीहरु दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

लामो समय पार्टी राजनीति गरेको र जनताको सेवा गर्ने अवसर प्राप्त नभएकाले पार्टीको आग्रहमा आफू राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेको उनले बताए। उनले आफ्नो मुख्य उद्देश्य भनेको वर्तमान संविधानअनुसार कानुनी राज्यलाई सफल पार्न प्रयत्नशील रहने रहेको पनि बताए।

उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट गजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशसभा सदस्य धर्मराज चौधरीको प्रस्तावक र प्रदेशसभा सदस्य राजकुमार चौधरीको समर्थनमा रायले उम्मेदवारी दर्ता गराएका हुन्।

उनले  आफूले उम्मेदवारी सहज रुपमा लिएको र जित हुनेमा  ढुक्क  रहेको पनि बताए। उनले आफूले जहिले पनि निमुखा, गरिब, असहाय, पीडित, उत्पीडित पिछडिएको समाजको उत्थानको लागि र अधिकारको लागि आफ्नो जीवन समर्पित गर्न राजनीतिमा लागेको पनि उनको भनाइ थियो। 

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ। राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। लुम्बिनी प्रदेशमा कुल मतदाताको सङ्ख्या ३०५ जना छ।

यसमध्ये प्रदेश सांसदको संख्या ८७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या २१८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेशका १०९ स्थानीय तहमध्ये कांग्रेसले ४८ स्थानमा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२, राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ र स्वतन्त्रबाट २ जनाले जितेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.