|

पर्वत : बिग्रिएको उपकरणका कारण पर्वत अस्पतालमा ६ महिनादेखि रोकिएको ‘हाई एक्सपोजरको डिजिटल एक्स–रे’ सेवा पुनः सञ्चालनमा आएको छ।

अस्पतालमा प्रयोगमा रहेको ‘कम्प्युटेड रेडियोग्राफी’ (सी.आर) सिस्टमको उपकरणको ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स–रे’ हरू गर्न नसकिएको अवस्था थियो।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भीक, ढाड, खुट्टा लगायतका ठूलो हड्डीको एक्स रे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ।

प्रयोगमा रहेको उपकरणले काम नगरेपछि ‘एक्स–रे’ मा समस्या आएको बारेमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपकरण केन्द्रले ‘मसिन’ उपलब्ध गराएको थिएन।

पर्वतबाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेपछि उनैको पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको ‘डिजिटल एक्स–रे मसिन’ पाएको हो।

स्वास्थ्य मन्त्री गिरीले उपकरणको अभावमा पर्वत अस्पतालमा आउने बिरामीहरू ‘हाइ एक्सपोजर एक्स–रे’ गर्न पोखरा वा अन्यत्र जानुपर्ने बाध्यतामा रहेको र आपूर्ति गरिहाल्न स्वास्थ्य सेवा विभागसँग समन्वय गरेपछि अस्पतालमा नयाँ उपकरण आएको हो।

‘यो मेसिन आपूर्ति गरिदिनका लागि छ महिनादेखि आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दै आइरहेका थियौँ। आपूर्तिका लागि व्यक्तिदेखि माननीयसम्म हामीले समन्वय गर्दै आएका थियौँ, तर मसिन भने आएको थिएन’, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारी भन्छिन्, ‘पछिल्लो पटक पर्वतबाट नै पदम गिरी जी स्वास्थ्य मन्त्री बनेपछि हामीले उहाँसँग अस्पतालको अप्ठ्यारोका विषयमा कुरा गरेका थियौँ। उहाँले नै स्वास्थ्य सेवा विभागमा कुरा गरिदिएर मसिन उपलब्ध भएको हो।’

अस्पतालमा रहेको सी.आर सिस्टमको उपकरणले काम नगरेको भए पनि अस्पतालले भने लायन्स क्लबका तर्फबाट प्राप्त गरेको ‘डिजिटल रेडियोग्राफी’ (डी.आर) प्रविधिको उपकरणबाट एक्स–रे को कामहरू गर्दै आइरहेको थियो। तर एउटा उपकरणको उपलब्धताले मात्रै सेवाग्राहीलाई सेवा पु¥याउन तथा बढी ‘एक्सपोजर’ आवश्यक पर्ने खालका ‘एक्स–रे’ हरू गर्नका लागि समस्या हुँदै आएको थियो।

‘हाइली एडभान्स टेक्नोलोजी’ को उक्त ‘एक्स–रे मसिन’ स्वास्थ्य मन्त्री गिरीले नै अस्पतालका अध्यक्ष शङ्कर गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीलाई हस्तान्तरण गरेका छन्।

एक करोड ४४ लाख मूल्य पर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलो पटक जिल्लामा आएको अवसरमा अस्पताललाई दिएका हुन्। सो अवसरमा बोल्दै उनले दुरदराजसम्मका जनतामा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। आफू अहिले स्वास्थ्य क्षेत्रका समस्या पहिचानमा लागेको बताउँदै मन्त्री गिरीले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।

‘गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्‍याउने जिम्मा सरकारको हो। उपचार नपाएर अकालमा मर्नु पर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउने गरी काम गर्ने छौँ’, उनले भनेका छन्, ‘यसका लागि सबै स्वास्थ्य संस्थामा आधारभूत सुविधा र जनशक्तिको व्यवस्थापन गर्ने छौँ। स्वास्थ्य क्षेत्रका समस्याहरूको समाधान सहज भने छैन। तर पनि न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशैभर पुर्‍याउने लक्ष्य लिएका छौँ।’

पर्वत अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेकोले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सात वटै स्थानीय तहमा सुविधा र जनशक्ति सहितका अस्पताल रहने उनको भनाइ छ।

पाँच सय एम.बी क्षमताको उक्त उपकरणबाट शरीरका सबै ठाउँको ‘एक्स–रे’ गर्न सकिने छ। उपकरण आएसँगै अस्पतालले प्रविधिमा थप सहज अवस्था हासिल गरेको अस्पताल विकास समितिका अध्यक्ष गिरीले बताए।

पर्वत अस्पतालमा ५० शय्या क्षमताअनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरणहरू उपलब्ध गराइदिन उनले मन्त्री गिरीसँग अनुरोध पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.