|

पर्वत : प्रदेश तथा स्थानीय विकास प्रक्रियामा सहभागी गराउने गरी गण्डकी प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानीय तहमा स्वयंसेवकहरू खटाउने भएको छ।

मुख्यमन्त्रीको कार्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालयबिच भएको सम्झौता अनुसार परिषद्ले यसका लागि मापदण्डमा पर्ने इच्छुकहरूबाट आवेदन माग गरेको छ। परिषद्का उपनिर्देशक भूमहेश्वर रञ्जितकारका अनुसार प्राविधिक शिक्षा हासिल गरेका युवालाई प्रदेश तथा स्थानीय विकास प्रक्रियामा सहभागी गराई सुशासन प्रवर्द्धन, पूर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा परिचालन गरिने छ।

प्रदेशभरका लागि कुल ७७ जना यस्ता स्वयंसेवकहरू खटाइने बताउँदै रञ्जितकारले यही वर्षको फागुनदेखि २०८० सालको आषाढ मसान्तसम्म पाँच महिनाका लागि उनीहरूले काम गर्ने जानकारी दिए। सम्बन्धित विषयमा प्रि डिप्लोमा (प्राविधिक एस.एल.सी) उत्तीर्ण गरी १८ वर्ष उमेर पूरा भएका प्राविधिक जनशक्तिलाई परिचालन गरी कृषि (बाली विज्ञान), कृषि (पशु विज्ञान), इन्जिनियरिङ (सिभिल) र सर्भ (अमिन) लगायतका क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ। माग गरिएका ७७ जनामध्ये ३३ जना बाली विज्ञानमा, २१ जना पशु विज्ञानमा, १४ जना सिभिलमा र नौ जना अमिनमा खटिने छन्।

‘यो कार्यक्रमको उद्देश्य मुख्य गरी तीन वटा राखिएका छन्। एउटा त अठार महिने तालिम लिइसकेका भाइबहिनीहरूले आफूले सिकेको कुरालाई समुदायमा लगेर कसरी घुलमिल हुन्छन् भन्ने कुरा हो। अर्को उनीहरूले सिकेका कुरालाई कसरी डेलीभर गर्ने? भन्ने हो। साथसाथै स्थानीय नागरिकबाट उनीहरूले के कस्ता कुरा कसरी प्राप्त गर्छन् भन्ने हो’, उपनिर्देशक भन्छन्, ‘यो कार्यक्रमको खर्च खासै धेरै आउँदैन। मुख्यमन्त्रीको कार्यालयसँग द्विपक्षीय सम्झौता गर्ने बेलामा यो बारेमा स्पष्ट पारिएको छ। नेपाल सरकारको आधारभूत तलब सुविधा जे छ त्यही रकम बराबर नै सुविधा हुन्छ।’

तोकिएका क्षेत्रमा आवश्यक सहयोग गर्न इच्छुक गण्डकी प्रदेशका स्थायी बासिन्दाले मात्रै यसमा सहभागिता जनाउन पाउने छन्। स्वयंसेवक बन्न चाहनेहरूले  कार्यालयको वेब साइट  www.ctevtgandaki.org.np बाट आवेदन फाराम डाउनलोड गर्न सक्ने छन्। उनीहरूले शैक्षिक योग्यता, तालिम र नागरिकताको प्रमाणपत्रको स्क्यान कपी संलग्न गरेर सेवा गर्न चाहेको स्थानीय तहको प्राथमिकीकरण सहित तोकिएका विवरणहरू भरी सूचना प्रकाशन भएको मितिले सात दिनभित्रमा आवेदन गर्न भनिएको छ।
स्वयंसेवक छनोट गर्दा सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा र यस अघि प्रदेशमा स्वयंसेवकका रूपमा काम गर्ने अवसर नपाएका उम्मेदवारहरूलाई प्राथमिकतामा राखिने पनि परिषद्ले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.