|

काठमाडौं : राजधानीबाट करिब ८० किलोमिटरमा पर्छ धादिङको सुनौला बजार। ५० को दशकमा नामको मात्र  बजारमा गोरेटोले विकासको छनक दिन्थ्यो। धुले बाटोलाई पिचको पर्खाइ थियो। भनौँ न  बसमा सवार भएर आउने बजारको स्वागत गर्न गाउँ तयार थियो। 

त्यसबेलासम्म गाउँमा स्कुल पुगिसकेको थियो। साहित्यिक किताब पुगेका थिए। बाल्यकालमा लेखक  शैलेन्द्र अधिकारी गाउँमा दाइहरूसँग साहित्यिक किताब पढ्थे।

विस्तारै अक्षरहरूसँग प्रेम बस्न थाल्यो। गाउँमा रामायण र महाभारतका कथा भाका हालेर भन्ने अग्रज पुस्ता थियो। उनी ती कथामा मोहित हुन्थे। 

उनी अन्य कथाका किताब  कहाँ पाइन्छन्? भनेर जिज्ञासु हुन्थे। कसैले सुनाउँथ्यो, 'काठमाडौंमा पाइन्छ।'

गाउँका एकाध भलाद्मीको घरमा सादा टिभी पनि पुगेको थियो। जसलाई सम्पन्नताको मानक मानिन्थ्यो। त्यही टिभीमा देखिन्थ्यो उनले चाहेको कथा पाइने काठमाडौं। ठूला भवन, चौडा सडक र सवारी साधनको ट्वाट्वा। सोच्थे, 'काठमाडौं भनेको ठूला भवन, चौडा सडक र कथा पाइने ठाउँ हो।'

५७ सालको मध्यतिर उनी बिरामी भए। बुबाले उपचारका लागि काठमाडौं ल्याइपुर्‍याए। बिरामी शरीर ब्युझँदा  शिक्षण अस्पताल महाराजगंजको एक शय्यामा आफूलाई भेट्टाए। जता हेरे पनि बिरामीहरू मात्र। उनलाई लाग्यो, यो बिरामीहरूको सहर हो।

उपचार गरेर पुन: उनी गाउँ फर्किए।

तर, अझै कथा सकिँदैन। किनभने उनले जीवनमा धेरै कुरा बुझ्न र भोग्न बाँकी नै थियो। मन भरिने गरेर कथा पढ्न बाँकी थियो। प्रेम र घृणाको संसारमा यात्रा गर्न, उच्च शिक्षा पढ्न, शिक्षक बन्न, समय र परिस्थितिले जेजे बनाउँछ ती सबै बन्न बाँकी थियो।

जेहोस उपचारपश्चात् उनी केही दिनमा निको भए। एसएलसी सकेपछि स्वस्थ शरीर बोकेर ५८ सालमा पुन: काठमाडौं छिरे।

अधिकारी काठमाडौं बस्न थालेकै अब २ दशक भयो।

कहिलेकाहीँ बेफिक्री मोटरसाइकल कुदाउनेहरू देख्दा यो हतारको सहर हो जस्तो लाग्छ। सुन्दर भविष्यका खातिर पढिरहेका विद्यार्थी देख्दा यो पढ्नेहरूको सहर हो जस्तो लाग्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा यो सहर खाडीका लागि मान्छे पुर्‍याउने एजेण्ट हो जस्तो लाग्छ, महानगरका प्रहरीको अपमान सहने फुटपाथे व्यवसायी देख्दा लाग्छ, यो असह्य पीडा र अपमान सहेर बाँच्नेहरूको सहर हो जस्तो लाग्छ।

समग्रमा भन्दा यो सहर फरक-फरक कथा बोकेर बाँचिरहेकाहरूको हो। र यो सहर आफैँमा नै एक कथा हो। यही कथाको भिडमा उनले अक्षरमार्फत नयाँ कथासंग्रह ल्याउँदै छन्, जसलाई नाम दिइएको छ: 'बह्मास्त्र '

दुई दशकको अवधिमा अधिकारीले काठमाडौंमा फरक-फरक परिचय निर्माण गरेका छन्। यो सहरमा भेटिएका नभेटिएका, देखिएका नदेखिएका, भोगिएका, नभोगिएका अनेक विषयलाई समावेश गरेर उनले यो कथासंग्रह तयार पारेका हुन्। यो कृतिमार्फत उनी कथाकारका रूपमा स्थापित होलान्? प्रतीक्षा गरौँ।

'अनि यो पुस्तक चाहिँ कसको हो?', पंक्तिकारले सोध्यो।

'शनिबारदेखि पढ्नेहरूको हो', त्यसपछि उनी मुस्कुराए। लामो समयदेखि साहित्य लेखनमा लागेका अधिकारी पेसाले शिक्षक हुन्। यसअघि उनका केही गजलसंग्रह, समालोचना, उपन्यास सार्वजनिक भइसकेका छन्।

सन्तुष्टि प्राप्त गर्न र फ्रस्टेसन हटाउन आफूले साहित्य लेख्ने गरेको बताउने अधिकारी आफ्नो कथाकृति सन्तुष्टि र फ्रस्टेसन प्रतिफलका रूपमा चित्रण गर्छन्।  तीन वर्षअघि उनको उपन्यास 'निर्वेद' बजारमा आएको थियो।

'निर्वेद'को निर्माण

जीवन खुसी र नैराश्यता आवतजावत गर्ने एक चौतारी हो। जहाँ अनगिन्ति खुसी र नैराश्यता सवार हुन्छन्। खुसी सुनाउने अनगिन्ति यारहरू छन्। नैराश्यता सुन्न पनि उनीहरू तयार छन्?

होलान्। तर, अधिकारी आफ्ना दु:ख र नैराश्यताको साक्षी अरूलाई बनाउन चाहँदैनन्। यसका लागि उनको विकल्प हो , 'पशुपतिनाथ मन्दिर'

एकदिन उनी निराश र बेचैन मन बोकेर पशुपतिनाथ मन्दिर पुग्दा चितामा एक मुर्दा जल्दै थियो। जीवनको अन्तिम बिन्दु यही हो भने मेरो बेचैनी केका लागि भन्दै उनी आफैँलाई शान्त बनाउँदै थिए। एक बाबा (जोगी : यसलाई संन्यासी बाबाका रूपमा बुझिदिनुहोला) को आकृतिले उनको ध्यान तान्यो।

जय भोलेनाथ जपिरहेका ती बाबा देखेपछि उनले मनमनै सोचे। 'कहाँबाट आए होलान यी? यिनका पनि परिवार हुँदा हुन्। हक जताउने बहिनी हुँदी हो। दाइलाई भन्दिन्छु भन्दै साथीहरूसँग झगडा गर्ने भाइ हुँदो हो। कहीँ कतै जाँदा फर्केर नआउँदासम्म परपरसम्म हेरिरहने आमा हुँदी हुन्। मनभरी माया हुँदा पनि अनुहारमा जब्बरपन बोकिरहने बुबा हुँदा हुन्।'

सोच्दासोच्दै उनको मुखबाट बाबामाथि प्रश्न तेर्सिहाल्यो, 'बाबाको घर कता नि?

बाबाले आफ्नो धर्म नछोडी भने, 'बाबाको कुनै घर हुँदैन।'

पुन: प्रश्न तेर्सियो, 'बाबाहरू बिरामी हुँदा कसले उपचार गर्छ?'

जवाफ आयो, 'बाबाहरू कहिल्यै बिरामी हुँदैनन्, जय शम्भो।' घर परिवार आफन्त, माया मोह धन सम्पत्तिका लागि मरिहत्ते गर्ने जमातको संगत गरेका अधिकारीलाई बाबाको जवाफले करेण्ट लागेको जस्तो भयो।

उपन्यास लेखनमा विषय खोजिरहेका अधिकारीले जोगी अर्थात् बाबाको कथा लेख्ने प्रण गरे। यिनीहरूको दुनियाँबारे बुझ्ने कोसिस गरे। उनीहरूको जीवन पाठकसामु पुर्‍याउनका निम्ति उनको बास पशुपतितिरै हुन थाल्यो। करिब २ वर्षपश्चात् बाबाहरूको संगतबाट उनले नेपाली साहित्यमा 'निर्वेद' उपन्यास पस्किए।

निर्वेदमा जोगी अर्थात् बाबाहरूको कथा हो।  उपन्यास  बजारमा गएपछि केही प्रति बोकेर अधिकारी पशुपति पुगे। र बाबाहरूलाई उपन्यास कृति उपहार दिए। दुनियाँका सबै चिज छाडेर हिँडेका बाबाहरूका निम्ति आफ्ना कथाहरू लेखिनु या नलेखिनुले खास महत्व राख्दैन पक्कै। तर, अधिकारीले भने उपहार दिने हिम्मत गरे। प्रतिक्रियाको आस भने गरेनन्।

तर, बजारमा अनगिन्ति बाध्यताका कारण बाबा हुन नसकेका बाबाहरू, बाबा जीवन मन पराउने वा उनीहरूलाई मन नपराउनेले किताबमाथि फरक-फरक प्रतिक्रिया दिए।  यसबाट उनी हौसिए। निर्वेद पढेपछि एकदिन  लेखक कुमार नगरकोटीले अधिकारीलाई भने, 'अब कथामा पनि लाग्ने हो कि?' नगरकोटीले अधिकारीको सुषुप्त अवस्थामा रहेको कथा लेखनको अंश जगाइदिए।

हिम्मतले सुरू भयो कथा लेखन

छिटफुट कथा लेखे पनि अधिकारीले कथा छाप्ने र अरूलाई देखाउने हिम्मत गरिरहेका थिएनन्।

कथा लेखनमा पनि उही गुरुप्रसाद मैनालीकै ट्रेण्ड समात्ने भए किन समय र अक्षरको सत्यानाश गर्नु? भन्दै उनले आफैँलाई टारिरहन्थे।

नगरकोटी जस्तै कथाकार तथा पत्रकार राजेन्द्र पराजुलीले कथा लेख्न र पुस्तकको आकारबारे सुझाइरहन्थे।  उनीहरूको सुझावले अधिकारीलाई अलिकति आत्मबल बढ्यो।

उनले कथाको संसारमा उडान भर्न थाले।

उनी भन्छन्, 'अरूभन्दा फरक देखिन्छु वा लेख्छु भनेर कथा लेखेको होइन। विषय वस्तुको छनोट र परिवेशले आफैँ पात्र निर्माण भए। तिनै पात्र र परिवेशले नै कथानक अगाडि बढ्यो।'  उनी उपन्यास लेखनमा भन्दा आफूलाई कथा लेखनमा बढी सहजता महसुस गरेको बताउँछन्।

प्रयोगको लोभ

असीमित सम्भावनाको खोजीका कारण मान्छे एक स्थानबाट अर्को स्थानमा बसाइँ सर्छ। यहाँ केवल बासको मात्र कुरा होइन। लेखनमा पनि लेखक एक विधाबाट अर्को विधामा हामफाल्छ। उपन्यासबाट कथामा के कारण आए त उनी? 'कथामा प्रयोगशीलताको ठाउँ रहन्छ। एउटा उपन्यासमा एकपटक प्रयोग गर्न सकियो। तर, १० कथामा १० तरिकाले प्रयोग गर्न पाइन्छ। पात्रलाई कथामा स्वतन्त्र छोड्न पाइन्छ। उपन्यासमा पाइँदैन', उनी सुनाउँछन्।  

यसमा केही लामा कथाहरू छन्। यद्यपि, नेपाली कथा लेखनमा लामा कथाहरू कम लेखिएका छन्, यसको मतलव लेखिएकै छैनन् भन्ने चाहिँ होइन।

उनले आफ्नो पुस्तकभित्र समाविष्ट कथामा प्रस्तुतिकरण, शैली, शिल्प र अभिव्यक्ति कौशलता आदिमा नयाँपन दिन खोजेको सुनाए। 'यो पुस्तक नै मेरो प्रयोगको अन्तिम विन्दु हो भन्न खोजिएको होइन तर आफूले दिन सक्ने सबै क्षमता यस कथामा देखाउन खोजेको छु।'

'पुस्तकको शीर्षकमा इञ्जिनियरिङ'

शीर्षक राखेर कथा लेखिँदैन अथवा प्रयोग गर्छु भनेर पनि कथाहरू लेखिँदैनन्। कथा विषयवस्तु, पात्र वा परिवेशले कसरी लेखाउँछ भन्ने कुरा मुख्य हो। कथा संग्रह निकाल्दा सामान्यतया पुस्तकमा समावेश कुनै एक कथालाई पुस्तकको शीर्षक राख्ने प्रचलन रहेको छ। हामीले यो नै देख्दै आएको हो। पंक्तिकारको जिज्ञासा मेटाउँदै अधिकारीले भने, 'दश कथाको सार हो बह्मास्त्र ।'

ज्ञान र सिर्जनाका हिसाबले बह्मास्त्र हुन नसकेका, युगीन विसंगतिहरूको चित्रण यी १० कथाहरूमा रहेका छन्। त्यसैले समग्र किताबको सार नै बह्मास्त्र राखिएको उनी सुनाउँछन्।

यस पुस्तकमा केही स्वैरकाल्पनिक, केही मनोवैज्ञानिक, र केही वर्तमान समयको विद्रुप विसंगतिहरू समेटिएका कथाहरू छन्। पाठकले प्रत्येक कथामा फरक-फरक तरिकाले आफूलाई पाउन सक्छन्। 

सँगसँगै शिक्षण यात्रामा

अधिकारी शिक्षण पेसामा लागेको जीवनको एक दशकभन्दा बढी समय भयो।  फरक-फरक भूगोल, फरक-फरक समुदाय र फरक-फरक विचार भएका विद्यार्थीहरूसँग उनले संगत गरेका छन्।  जो जहाँबाट आएका भए पनि विद्यार्थी साझा लक्ष्य छ, 'पढ्ने'

एउटा डाक्टरले जीवनभर बिरामीको संगत गर्छ। ठेकदारले श्रमिकसँग। तर, एउटा शिक्षकले नयाँ सोच भएका विद्यार्थीसँग संगत गर्ने अवसर पाउँछ। जोसँग नवीन विचार छ। ऊर्जाशील समय छ। अधिकारी सुनाउँछन्, 'विद्यार्थीहरू हामीभन्दा बढी बद्धिमान हुन्छन्। उनीहरूले मलाई फरक जीवन दर्शनको संसारमा सवार गर्न सिकाउँछन्। मेरा लागि कक्षाकोठा सिकाइको एक विश्वविद्यालय हो। जहाँ विद्यार्थीहरू शिक्षक हुन् भने शिक्षक विद्यार्थी हुन्।'

उसो भए जीवनको एक दशकभन्दा बढी समय विद्यार्थीलाई के सिकाउनुभयो त?, उनी कुराकानीलाई टुंग्याउँदै भने, 'बढीमा बढी पास हुन सिकाएँ कि।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.