प्रथम पुरस्कार २ लाख २५ हजार

|

घोराही :  नेपाली कांग्रेस दाङको आयोजना दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता-२०७९ शुरु भएको छ। कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खड्काको स्मृतिमा शुक्रबारदेखि दाङको घोराहीमा भलिबल प्रतियोगिता शुरु भएको हो।

प्रतियोगिताको उद्घाटन कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकिशोर घिमिरेले गरेका थिए। जिल्लाका १० स्थानीय तहका खेलाडी सहभागी रहेको प्रतियोगिताको शुरुवातमा बबई गाउँपालिका र गढवा गाउँपालिकाको टोलीले विजयी शुरुवात गरेका छन्। साविक विजेता तुलसीपुर उपमहानगरपालिकालाई बबई गाउँपालिका टिमले २५-१६, २५-१५ र २५-१८ को ३-० को सेटमा हराएको थियो।

यस्तै गढवा गाउँपालिकाको टिमले राप्ती गाउँपालिकाको टिमलाई ३-१ को सेटमा हराएको थियो। राप्तीको टिमले पहिलो सेट जिते पनि त्यसपछिका खेल लगातार हारेको थियो। जसमा गढवाले २५-२३, २५-२७, १७-२५ र २३-२५ को सेटमा जितेको थियो।

यही माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू लिग कम नक आउटका आधारमा खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगिताको समूह ‘ए’मा साविक विजेता तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका र समूह ‘बी’ मा साविक उपविजेता राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, दंगीशरण गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिबल टोली रहेका छन्।

प्रतियोगिताको विजेताले नगद २ लाख २५ हजार, शिल्ड, मेडल र प्रमाण पाउनेछ भने उपविजेताले १ लाख १२ हजार ५०० र शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै तेस्रो हुने टिमले ५६ हजार २५० र चौथो हुने टिमले २८ हजार १३२ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ।

स्वर्गीय खड्काको योगदान जीवन्त राख्न प्रतियोगिताको आयोजना गरिएको कांग्रेस दाङले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.