राष्ट्रपतिको चुनावलाई तारो बनाउँदै साना दल

|

काठमाडौं :  नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसले सक्रियता बढाएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै कांग्रेसले समीकरण बदल्ने रणनीति लिएको हो। 

कांग्रेसले  अहिलेको सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको निष्कर्ष निकाल्दै नयाँ समीकरणका लागि भेटवार्ता र छलफललाई तीव्रता दिएको हो।

यसका लागि बताउन थालेका छन्। प्रवक्ता डा. प्रकाशशरण महत निर्वाचनमा आफ्नो दल पहिलो भए पनि चलखेल गरेर सरकार बाहिर राखिएको बताउँछन्। 

प्रवक्ता महतले भने, ‘सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ। छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन। यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ। यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं।’ 

यही गठबन्धनमा मिसिनुहुन्छ कि नयाँ समीकरण बनाउनुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘यो गठबन्धनमा हामी कुनै पनि हालतमा जाँदैनौँ। बन्यो भने नयाँ समीकरण बन्छ।’ 

उनले आफूहरू चाँडै सरकारमा आउने दाबी  गरे। प्रवक्ता महतले राष्ट्रपतिको निर्वाचन अगाडिबाटै नयाँ समीकरण बन्न सक्ने बताए। 

उनले भने, ‘फागुन १३ गतेबाट नै नयाँ समीकरणबारे गृहकार्य सुरू हुन्छ। तर, माओवादी केन्द्र कसरी प्रस्तुत हुन्छ हेर्न बाँकी छ।’ 

‘सबैभन्दा ठूलो पार्टी भएर पनि कांग्रेस अहिले सरकारमा छैन। नेपालको राजनीतिको विडम्बना। देशको विकास गर्ने पार्टी कांग्रेस हो। हामी ढिलोचाँडो फेरि सत्तामा आउँछौँ। हामी सत्ताबाहिर हुँदा पनि सरकारलाई जनताको आवश्यकतामा केन्द्रित हुन निरन्तर खबरदारी गर्छौँ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गनै महामन्त्री गगन थापालाई खटाएका छन्। महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डसँग पटकपटक भेट गरेको स्रोतले जानकारी दियो। 

‘नयाँ समीकरणको प्रस्ताव लिएर आउने जानकारीमा आएको छ। उहाँहरूले राष्ट्रपति निर्वाचनमा मिलेर जाने र पुरानै गठबन्धनलाई निरन्तरता दिने विषय ल्याउनुभएको छ,’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ।  

यस्तै,  सभापति देउवाले पनि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनले राष्ट्रपतिको निर्वाचन र नयाँ समीकरणबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको स्रोतले जानकारी दियो। 

‘सुदूरपश्चिममा सरकार ढलेसँगै उहाँ (देउवा) प्रधानमन्त्रीज्यूसँग भेट गर्न आउनुभएको थियो। राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने र पुरानै गठबन्धन ब्युँतिएर जाने विषय प्रस्ताव गर्नुभएको थियो,’ बालुवाटार स्रोतले भन्यो। 

यता, प्रधानमन्त्री प्रचण्डले तत्काल गठबन्धन तोड्ने मनस्थितिमा देखिँदनन्।  उनले एमालेले उठाउने उम्मेदवार हेरेर आफ्नो रणनीति बनाउने स्रोत बताउँछ।
‘तत्कालै हामी गठबन्धन तोडिहाल्ने पक्षमा छैनौँ। तर, राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारमा निर्भर गर्छ,’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने।

नागरिक उन्मुक्ति पार्टी यतिबेला पर्ख र हेरको रणनीतिमा छ। आफ्ना मागबारे बेवास्ता गरेको सरकारलाई सुदूरपश्चिममा सरकार ढालेर झस्काएको नाउपाले राष्ट्रपतिको निर्वाचनलाई तारो बनाएको छ।

नागरिक उन्मुक्ति पार्टीले अहिलेको सत्ता गठबन्धनले आफ्ना माग सम्बोधन नगरे राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने र राष्ट्रपतिको निर्वाचनपछि बन्ने नयाँ समीकरणमा सहभागी हुने रणनीति लिएको छ।

सांसद गंगाराम चौधरीले राष्ट्रपतिको निर्वाचन नजिकिरहेकाले सरकारलाई आफूहरूले घचघच्याउने काम गरिरहेको बताए। 

‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ। अहिले पनि समर्थन कायमै छ। हम्रा माग पूरा गर्नुभयो भने राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्छौं,’ सांसद चौधरीले भने, ‘नत्र हाम्रा माग जसले समर्थन गर्छ उसैलाई सहयोग गर्छौं।’  

सुदूरबाट विपक्षी दल उत्साहित, रेशमलाई छुटाउन पहल

सुदूरपश्चिम प्रदेशमा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै विपक्षी गठबन्धन उत्साहित बनेको छ। नागरिक उन्मुक्ति पार्टीले निर्णायक मत नदिएपछि सरकारको चाबी पाएको कांग्रेस र एकीकृत समाजवादी पार्टी उत्साहित देखिएका हुन्। 

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकार ढाल्न आफूले कांग्रेससँग कुराकानी गरेको दाबी गरे।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि सरकार ढले पनि उनले आफ्नो पक्षमा जस लिन खोजेका छन्।  

विपक्षी गठबन्धन यतिबेला सुदूरपश्चिममा केन्द्रित भएको छ। गठबन्धनले कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीलाई फकाउने रणनीति लिएको छ।

हिजो मात्रै मुख्यमन्त्री शाहले जेलमा रहेका नाउपाका नेता रेशम चौधरीको घरमा पुगेर आमासँग भेट गरेका छन्। 

रेशमकी ६८ वर्षीया आमा सुनफीदेवीबाट आशिर्वाद लिँदै मुख्यमन्त्री शाहले भने, ‘म पनि तपाईँको छोरा हो। चिन्ता नलिनुहोला। रेशम जीलाई छुटाउने म अथक प्रयास गर्नेछु।’

नाउपाका सांसद गंगाराम चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पनि स्थानीयस्तरमा आफूहरूले उठाएका विषयमा सकारात्मक रहेको बताए। 

‘हाम्रा मागबारे मुख्यमन्त्रीजी पनि सरकारात्मक हुनुहुन्छ। हाम्रा माग पूरा गरे उहाँलाई नै विश्वासको मत दिन्छौँ,’ उनले भने।

 आइतबार धनगढी पुगेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नाउपाका नेता रेशम चौधरीलाई छुटाउन सरकारले पहल गर्नुपर्ने बताए। 

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीसहितका राजबन्दीलाई रिहा गर्नुपर्ने बताएका हुन्। 

‘उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छु। रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरूका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन्। यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ,’ उनले भने। 

प्रचण्डको लचकता

प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसप्रति लचक देखिएका छन्। पुरानो सत्तासहयात्री दलसमेत रहेको कांग्रेसले आफूलाई विश्वासको मत दिएपछि प्रचण्ड लचक देखिएका हुन्। उनले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने संकेत गरेका छन्। आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै कांग्रेसतर्फ संकेत गर्दै आफूलाई विश्वासको मत दिने दलको भावना पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए। 

‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्वोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।’

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सत्ता गठबन्धनभित्र आफू दबाबमा परेको बताउने गरेका प्रचण्डले कांग्रेससँग लचकता प्रस्तुत गर्नुले नयाँ समीकरण बन्ने संकेत गरेको छ। प्रचण्डले देउवासँग भन्दा ओलीसँग काम गर्न असहज महसुस गर्ने गरेको स्वयं एमाले नेताहरूले बताउने गरेका छन्। 

गठबन्धनभित्र मतभेद, रवि सशंकित 

राष्ट्रपतिको विषयलाई लिएर सत्तारूढ गठबन्धन दलभित्र विवाद उत्पन्न भएको खबरहरू बाहिर आइरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच नियमित भेटवार्ता भए पनि राष्ट्रपतिको विषयले थप खाडलको अवस्था सिर्जना गरेको टिका टिप्पणी भइरहेका छन्।

माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको विषय टुंगो लाग्नुपर्ने बताउन थालेपछि एमाले थप  सशंकित देखिएको हो। माओवादी केन्द्रले सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बन्नुपर्ने बताउँदै संविधानको पूर्णपालना गर्ने उम्मेदवारको खोजी हुनुपर्ने अडान लिएको छ। 

यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई नेताबीचको विवादबारे चासो राखेका थिए। उनले सत्तारूढ दुई दलका शीर्ष नेताहरूबीचको विवाद निरूपण हुनुपर्ने बताए। 

आज भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा उनले राष्ट्रपतिको निर्वाचन नजिकिरहेको अवस्थामा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच विश्वासको वातावरण बन्नुपर्ने बताए। सभापति लामिछानेले राष्ट्रपतिको निर्वाचनमा गठबन्धनभित्र मतान्तर देखिएकाले एकै ठाउँमा उभिन सकेको हो कि हैन जस्तो भएको बताएका थिए। 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रपतिको विषय पुस १० गते नै टुंगो लागिसकेकाले गठबन्धनभित्र कुनै विवाद नरहेको बताउँछन्। 

‘राष्ट्रपति निर्वाचनबारे बाहिर आइरहेका कुराहरू भ्रमपूर्ण छन्। हामीले सरकार निर्माणको क्रममा एउटा सहमति गरिसकेका छौं। सोही सहमतिमा सत्ता साझेदार दलहरूबीचमा विमति छैन्। बाहिर आएजस्तो सत्तारूढ दलभित्र कुनै मतभेद छैन,’ अध्यक्ष लिङ्देनले भने।  

साथै उनले गठबन्धनका नेताहरूबीच छलफल गर्नुपर्ने भएकाले नियमित भेटघाट हुनेसमेत बताए। 

अध्यक्ष लिङ्देनले भने, ‘आगामी दिनमा मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ। नियमित रूपमा यस प्रकारका भेटवार्ता कायम राख्ने सहमति भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.