|

बैतडी : बैतडीका स्थानीय तह खेलकुदमय भएका छन्। यहाँका स्थानीय तहहरूमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनमा भइरहेकाले खेलकुदमय भएका हुन्।

पालिकामा माघ २५ गते शुरु भएका सिल्ड प्रतियोगिताहरु फागुन ९ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए।

यसअघि जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा प्रतियोगिता सम्पन्न भइसकेका छन्। आइतबारदेखि पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी, सिगास र पञ्चेश्वर गाउँपालिकामा रनिङ सिल्ड सञ्चालन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

यसका साथै फागुन ३ गते दशरथचन्द नगरपालिका र फागुन ७ गतेदेखि सुर्नया गाउँपालिकामा रनिङ सिल्ड प्रतियोगिताको तयारी भइरहेको छ।

पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले यहाँका स्थानीय तह खेलकुदमय बनेका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जोशीले बताए। उनले भने, ‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले पालिकाहरु खेलकुदमय भएका छन्, यसलाई उत्सवका रुपमा मनाईरहेका छन्।’

स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो। विद्यालयहरु खेलकुद क्षेत्रको उदगमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारीले बताए।

उनले भने, ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नारा लिएर सञ्चालन भइरहेको प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्नेछ।’

खेलाडी उत्पादनको मुख्य आधार विद्यालय रहेकोले यस्ता प्रतियोगिता निरन्तर हुनुपर्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए। उनले भने, ‘विद्यालय खेलाडी उत्पादन गर्ने थलो हो, विद्यालयमा पढाईसँगै खेलकुदका गतिविधिलाई जोड दिन आवश्यक छ।’

पढाइ सँगसँगै खेलकुद पनि महत्वपूर्ण रहेकोले स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउन जरुरी देखिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथको भनाई छ।

उनले भने, ‘विद्यालय भनेको विश्वमा देशलाई चिनाउन खेलाडी उत्पादन हुने जग हो। खेलकुदका लागि पालिकाले खेल पूर्वाधारका साथै खेलहरु पनि थप्नुपर्छ। साथै खेलशिक्षक र प्रशिक्षण पनि आवश्यक छ।’

प्रतियोगिताले क्षमता अभिवृद्धिका साथै विद्यालयभन्दा माथिल्लो स्तरका खेलकुद प्रतियोगितामा सहभागिताका लागि सहयोग पुग्ने श्रीकेदार मावि पिपलकोटका खेलाडी दिपक ठगुन्नाले बताए।

उनले भने, ‘यस्ता प्रतियोगिताले विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने र उत्कृष्ट खेल्ने खेलाडीका लागि माथिल्लो स्तरको प्रतियोगितामा सहभागिताका लागि ढोका खुल्नेछ।’

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगायत खेलहरु खेलाइँदै आएको छ। पालिकास्तरीय रनिङ सिल्ड सम्पन्न भएपछि फागुन दोस्रो सातापछि जिल्लास्तरीय प्रतियोगिताको तयारी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.