उच्चस्तरीय टास्क फोर्स गठन गरिँदै

|

काठमाडौं : राजधानी काठमाडौंमा जति जनघनत्व बढ्दै गएको छ, उत्तिकै समस्या थपिएको छ, त्यो हो–खानेपानीको व्यवस्थापन। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। मेलम्ची खानेपानीलगायत यहाँकै स्रोतबाट संकलित पानीले यो मागलाई धानिरहेको छैन।

आयोजना सुरु भएको २ दशकपछि काठमाडौं उपत्यकाभित्र मेलम्ची खानेपानी यतिखेर वितरण भइरहेका छ। तर, यसको व्यवस्थित तरिकाले वितरण नहुँदा कोही उपभोक्ताको घरमा दिनहुँ पानी पुगेको छ भने केहीका घरमा हप्तौँसम्म पनि पानी नपाएको गुनासो छ। 

यही गुनासोको चाँडै अन्त्य गर्ने खानेपानी मन्त्रालयको प्रतिबद्धता छ। सोमबार खानेपानी मन्त्री अब्दुल खानले केयुकेयलको १५ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै शहरबासीको मागलाई सक्दो सम्बोधन गर्ने प्रतिवद्धता जनाए। उनले भने,‘व्यवस्थित तरिकाले जनताको घरघरमा पानी पुर्याउन सकेमात्र वार्षिक उत्सवहरूको पनि महत्व रहन्छ,केयुकेयलको चर्चा गर्दै आएको छु,यसले परिणात्मक कार्य गरेर देखाउनुपर्छ।’ 

उनले बोतलरहित बनाई भएका र स्रोतको खोजी गरेर पनि सबै क्षेत्रमा केयुकेयलको पानी उपयोगको व्यवस्था गर्ने बताए। उनले वार्षिक उत्सव कार्यक्रममा केयुकेयलले मेलम्चीको पानीबाहेक अरू बोतलको पानी राखेको पाएपछि हटाएका समेत थिए। ‘खानेपानी मन्त्रालयको पद ग्रहणदेखि लिएर कार्यक्रममा भनेको छु,अब बोत्तलरहित बनाउनुपर्छ,बोत्तलकै पानी खानु थियो भने बोतलको उत्पादन गरी केयुकेयलको पानी वितरण गरौँ,’उनले भने।

उनले केयुकेयलका व्यवस्थापन समिति र कर्मचारीहरूलाई राजनीति नगरी इमान्दारी पूर्वक काम गर्न निर्देशन दिए। ‘पानी भनेको हाम्रो जीवन हो,योसँग खेलवाड गर्ने कसैको अधिकार हुँदैन, पानी मौलिक अधिकारभित्र पर्छ, नीति नियम बनेपछि पानी पाएन भने सरकारलाई मुद्दा पनि हाल्न सक्छ जनताले, त्यसैले पानीमा राजनीति गर्न हुँदैन,’उनले भने।

उनले दिगो विकास लक्ष्यको २०३० सम्ममा ९० प्रतिशत भन्दा बढीलाई स्वाच्छ पानी पुर्याउँनैपर्ने भएकाले सबै सम्बन्धित निकायले इमान्दरीपूर्वक काम गर्न आग्रह गरे। ‘पानी वितरण र पानीको मिटरमा कहि चुकिरहेका छौँ,मिटरमा किचलो छ,झन्झटिलोे छ,गुनासो नै आएको छ,यसको समस्या समाधान गर्नुपर्छ,’उनले कार्यक्रममा भने। 

उच्चस्तरीय टास्क फोर्स गठन गरिँदै 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले पनि भएका स्रोत साधनबाट पानी वितरण गर्दा पनि विभिन्न समस्या देखिएकाले यसको समस्या समाधान गर्ने प्रयास भइरहेको बताए। ‘मन्त्रालयको सहसचिव स्तरको उच्चस्तरीय टास्क फोर्स बनाएर कार्यविवरण तोकेको छौँ,यो जटिल प्रकृया पनि छ,क्याबिनेटमा प्रस्ताव पेस गरेका छौँ,सम्भवत अर्को पटकको क्याबिनेट बैठकमा छलफल हुन्छ,छिट्टै कमिटी भए यसले धेरै काम गर्ने छ,’उनले भने।

उनका अनुसार केयुकेयलका कर्मचारीहरूको आन्तरिक समस्या,पानी वितरण तथा ग्राहकहरूको पहिचान गर्ने लगायत कार्यमा यो उच्चस्तरीय टास्क फोर्सले काम गर्ने छ। ‘अहिले यहाँ को ग्राहक छ छैन भन्ने केयुकेयललाई थाहा छैन,त्यसैले यो फोर्स गठन भए कर्मचारीहरूको समस्या समाधानदेखि संस्थागत सुधारमा यसले विशेष मद्दत पुग्ने छ,’उनले भने।

उनले पुरानै पाइपलाइनबाट अहिले पानी वितरण गरिँदा चुहावटको समस्या देखिएको सुनाए। ‘मेलम्ची पानी आएपछि धेरैले खुशी व्यक्त गरे,कुनैमा प्राविधिक कारणले पानी ग्राहकहरूको घरमा पुगेन,कोहीलाई पानी फालाफाल अनि हामीलाई चाही किन समान रूपमा पानी उपभोग गर्न दिइएन भन्ने गुनासो छ,यसको समस्या मिलेर समाधान गर्नेपर्छ,’उनले भने। 

महसुल निर्धारण आयोगलाई पूर्णता दिइने

मन्त्रालयका सचिव गेलालले पानीको महशुल पुनः निर्धारण गर्न लागिएको बताए। केयुकेयलका अनुसार सामुदायिक धाराहरूमा वितरण हुने १० हजार लिटरसम्मको पानीको महशुल १०० रूपैयाँ निर्धारण गरिएको छ। यसले आर्थिक संकट निम्तिन थालेको सचिव गेलालले बताए।

‘महसुल निर्धारणको कुरामा कसरी व्यवस्थापन गर्ने भनेर पुर्नविचार गर्न जरूरी छ, खानेपानी तथा सरसफाइ ऐन २०७९ लागु भएपछि महसुल निर्धारण आयोगमा अध्यक्षको पदपूर्ति भएको छ,अब २ जना सदस्य पदपूर्ति गर्न बाँकी छ,यो काम छिटै गरिन्छ,र खानेपानीको महशुल वैज्ञानिक ढंगले निर्धारण गरिने छ,’उनले भने। काठमाडौंको मुख्य बजारमा मेलम्चीको पानीसहितको धाराको व्यवस्था पनि गर्ने उनको भनाइ छ। 

शुद्ध पानी वितरण गर्नमा प्रतिबद्ध छौँ : केयुकेयल

केयुकेयलका सञ्चालक समितिका अध्यक्ष तिरेश प्रसाद खत्रीले स्वाच्छ पानी वितरण गर्नमा सधै केयुकेयल प्रतिबद्ध रहेको बताए। ‘यहाँको माग अनुसारको पानी पूर्ति गर्न चुनौती पूर्ण छ,तै पनि निश्चित प्रतिफल प्राप्त गर्ने गरि काम गरिरहेका छौँ र गर्दै जानेछौँ,’उनले भने।

केयुकेयलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले पनि पानी वितरणमा देखिएको चुहावट र आगामी दिनहरूमा पनि पानी वितरण प्रणालीलाई व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता जनाए।

उनले आवमा ६२ किमि विभिन्न किसिमका पाइलाइन विस्तार,८ हजार ७ सय चुहावट मर्मत, १० हजार भन्दा बढी नयाँ धारा जडान गरिएको बताए।

‘मेलम्चीबाट पानी ल्याएपछि नयाँ ११ सय चुहावट मर्मत गरेका छौँ, शिवपुरी,विष्णुमति,बोडे लगायत खानेपानी मुहानको संरक्षण तथा सुधार गरिएको छ,खानेपानीको गुणस्तरीय कायम गर्ने गरिएको छ,आवमा २ हजार ५ सय ६८ पानीको नमुना परीक्षण गरिएको छ,’उनले भने।

मेलम्चीको पानी अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै थप दैनिक १० करोड लिटर पानीको व्यवस्था गर्न लागेको उनले बताए। ‘हामीले अनलाइन प्यामेन्टको व्यवस्था गरिरहेका छौँ,’उनले भने,‘निकट भविष्यमा ट्यांकरको पानी अनलाइन बुकिङ गर्ने व्यवस्था गर्दै छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.