'कर्मचारीहरूले मानसिक र शारीरिक यातना दिन्छन्'

|

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरूले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन्।

पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरू असुरक्षित महशुस गर्नुका साथै तराईका जिल्लाहरूमा ऋणीहरू यातना खेप्न बाध्य भएका हुन्। लघुवित्तहरूले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ऋण दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरूले खुलासा गरेका छन्।

लघुवित्तको कर्मचारी भन्ने तर लघुवित्तकै ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरूलाई मिटर ब्याजमा पैसा लिन प्रोत्साहन गरिरहेको पीडितहरूको आरोप छ। गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरुमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ऋण लिन प्रोत्साहन गर्ने गरेका छन्।

लघुवित्तहरूले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरूको घरमा पठाउने र कर्मचारीहरूले मानसिक र शारीरिक यातना दिने गरेको बताए। किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको उनीहरूले बताए।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटरब्याजीको समस्या खेप्नुपरेको बताइन्। उनले पछिल्लो समय तराईका जिल्लाहरूमा मिटरब्याजी साहुहरूले महिलाहरूलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको गुनासो गरिन्।

उनले तराईमा लघुवित्तको कारण महिलाहरू घर बस्नसमेत नसकेको बताइन्। उनले लघुवित्तका कर्मचारीहरू रातिसमेत घरमा गई शरीरमा थुक्ने, शरीर व्यापार गरेर भए पनि ऋण तिर् भन्दै यातना दिने गरेको दुःखेसो गरिन्।

उनले लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरूलाई शौचालयमा थुनिदिने गरेको बताइन्। उनले लघुवित्तहरूले घरमा ताल्चा लगाएकाले धेरै महिलाहरू घरबारविहीन हुनुपरेको समेत उल्लेख गरिन्। उनले घरमा आमाबुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले मनोमानी खाने गरेको गुनासो गरिन्।

‘सिरहाको गोलबजारमा लघुवित्तका कर्मचारीहरूले आफैँ मिटर ब्याजमा पैसा लगाएर ५ हजारको महिनामा १ हजार लिने गरेका छन्। लघुवित्तको कर्मचारी भएर बस्ने तर लाखौं रुपैयाँ मिटर ब्याजमा लगाउने गरेका छन्। लघुवित्त र मिटरब्याजीको समस्यामा हामी २०७२ सालदेखि पिडामा छौं। मिटरब्याजीहरूले महिलाहरूलाई चोक चोकमा ल्याएर लगाएको सारी खोलेर कुट्छन्। तराईका गाउँमा महिला दिदीबहिनीहरू लघुवित्तको कारण बस्न सकेका छैनन्। लघुवित्तका कर्मचारीहरू राति ९ बजेपछिसम्म चुलोको पछाडि खाना बनाउने ठाउँमा बस्छन्। शरीरमा थुक्ने गर्छन्। झुन्डिएर, विष पिएर मर् भन्ने गर्छन्। शरीर व्यापार गर् भन्छन्’, उनले भनिन्, ‘ के हामी यो देशको नागरिक होइन? यो देशमा बस्ने अधिकार हामीलाई छैन? लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरूलाई शौचालयमा थुनिदिन्छन्। मेरो घरमा बसेर जे भन्छु त्यही गर् भन्छन्। लघुवित्त संस्थाहरूले कर्मचारी राखेको हो कि तानाशाह राखेको हो? धेरै महिलाहरू लघुवित्तको कारण गाउँ छाडेर भागिसकेका छन्। लघुवित्तहरूले घरमा ताल्चा मार्ने गरेका छन्। घरमा आमाबुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले खाने गरेका छन्। शुरुमा पाँचवटा लघुवित्त समूहमा थिएँ।’

त्यस्तै, सिरहाकै अर्को महिला सुनिता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ऋण ५ वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताइन्। उनले ११ वटा लघुवित्त समूहबाट ऋण लिएको बताइन्।

उनले आफूले एउटामा ३० र अर्कोमा ४० हजार रुपैयाँ ऋण तिर्ने भए पनि लघुवित्तले १ लाख नै रहेको भन्दै तत्काल तिर्न दबाब दिँदै आएको बताइन्। उनले लघुवित्तका कर्मचारीहरू ऋण उठाउन बिहान १० बजेदेखि बेलुका १० बजेसम्म घरमा नै बस्ने गरेको बताइन्। उनले लघुवित्तको ऋण तिर्दा तिर्दा भएका गाईवस्तु र लगाएको सुनसमेत सकिएर सुकुम्वासीजस्तै भएको गुनासो गरिन्।

त्यस्तै, रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटर ब्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताइन्। उनले मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुम्वासी बन्ने लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको बताइन्।

कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिनसमेत लिलाममा हालेर खाएको बताइन्। उनले लघुवित्तबाट एक लाख रुपैयाँ ऋण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदा समेत कहिल्यै नसकिने गरेको बताइन्।

उनले फरवार्ड, मेरो माइक्रो, मिथिला, डिप्रोस, गरिबी र साना किसान लघुवित्तको समूहमा बसेर ऋण लिएको उल्लेख गरिन्। उनले यी लघुवित्तहरूमा १ लाख रुपैयाँ ऋण लिँदा जति किस्ता तिरे पनि त्यति नै ऋण देखाउने गरेको बताइन्।

कार्कीले लघुवित्तहरूको किस्ता तिर्दातिर्दै भएको सबै सम्पत्ति सकिएपछि संस्थाका कर्मचारीहरू घरमा आएर यातना दिँदा १३ वर्षकी छोरीले ३ महिनाअगाडि आत्महत्या गरेको जानकारी दिइन्। उनले अहिले लघुवित्तको कारण घर छाडेर भाडामा समेत बस्न नसक्ने अवस्थामा रहेको गुनासो गरिन्।

त्यस्तै, विभिन्न जिल्ला छाडेर काठमाडौं उपत्यकामा आएर लघुवित्त समूहमा बसेर ऋण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन्।

उनीहरूलाई लघुवित्तहरू आफैँले समूह बनाएर ऋण लिन बोलाएको र अहिले एउटाले ऋण तिर्न नसकेको भन्दै सबै महिलाहरूको निक्षेपसमेत दिन नमानेको बताए।

उदार बजार अर्थतन्त्रमा लघुवित्त संस्था आफैँ जिम्मेवार बन्नुपर्ने भए पनि पछिल्लो समय त्यस्तो देखिएको छैन। लघुवित्तबाट ऋण लिने ३३ लाख ऋणी छन्।  राष्ट्र बैंकले सुपरीवेक्षण गरेपछि ऋणीबाट लिन पाइनेभन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवा शुल्क फिर्ता गर्न लघुवित्तहरू तयार भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.