‘उपभोक्तालाई चेतना दिन ढिला नगरौँ’

|

काठमाडौं : पछिल्लो समय एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुने घटना बढेका छन्।

ग्यास लिक हुने र लिकबाट आगलागी भइ ग्यास विस्फोट हुने हुँदा उपभोक्ताहरू यतिखेर त्रसित बनेका छन्। तर, बारम्बार किन दोहोरिन्छन् सिलिण्डर विस्फोट र आगलागीका घटना? भए पनि सरकार अनुगमन गर्नमा मौन छ।

गत बुधबार राति बुद्धनगरस्थित निवासमा सांसद चन्द्र भण्डारी ग्यास सिलिण्डर लिक हुँदा आमा हरिकला भण्डारीसहित घाइते भए। कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा सांसद भण्डारीकी आमा हरिकलाको निधन भयो। यहाँ उपचार सम्भव नभएपछि सांसद भण्डारीलाई भारतमा लगेर उपचार भइरहेको छ।

यसअघि पनि यस्ता घटना नघटेका भने होइनन्। घटना घटे पनि यसलाई खासै चासोको रूपमा लिइएको पाइँदैन। तर, सांसद भण्डारीकै घरमा यस्तो घटना भएपछि निकै चासो लिएका छन् सर्वसाधारणले पनि। यस्तो घटना घटिसक्दा पनि सरकारले अहिलेसम्म केही नगरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ।

तर, सम्बन्धित निकायबाट हालसम्म केही काम भएको छैन।  यो घटना पनि विस्तारै सेलाउँदै गएको छ तर सिलिण्डर विस्फोटका घटना भने अझै रोकिएका छैनन्। पुनः यस्ता घटना दोहोरिँदै गएका छन्।

गत बिहीबार पनि दाङको तुलसीपुर उपमहानगरपालिका–१५ मा खाना पकाउने ग्यास सिलिण्डरमा लिक भएर आगलागी हुँदा २ जना घाइते भएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा लहलौराका ५० वर्षीय कुसुम केसी र तुलसीपुर– १५ मै बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका थिए।

यस्तै, हिजो (सोमबार) धरानमा ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। धरान-१७ को आदर्श चोक बस्ने सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा घरधनी सविता राई, कोठा भाडामा बस्ने अञ्जना राई, रामकुमारी राई, साङ्केन राई, सुमिहाङ राई, अनिश कार्की र वासुदेव खड्का घाइते भएका छन्। अहिले अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

यसकारण हुन्छ ग्यास लिक र आगलागी

फायर फाइटर किशोरकुमार भट्टराईका अनुसार सिलिण्डरको आयु १० वर्ष हुन्छ। कहिले बनेको?, कुन कम्पनीले बनाएको लगायत सबै जानकारी सिलिण्डरमै हुन्छ। कुनै पनि सिलिण्डरले काम गर्ने जति क्षमता अर्थात् कति प्रेसरमा काम गर्छ त्योभन्दा दोब्बर प्रेसर धान्ने किसिमको मेटिरियलबाट सिलिण्डर बनेको हुनुपर्छ।

यसरी नै टेष्ट भएर सिलिण्डर बजारमा आएको हुन्छ। त्यसैले सिलिण्डर आफैँ नपड्किने उनी बताउँछन्। कहिलेकाहीँ मात्रै आफैँ पड्किने घटना सुनिएको उनको भनाइ छ।

यसमा भने ग्यास भर्ने र बनाउने कम्पनीको लापरबाही हो। ‘तर यस्ता घटना बढी घट्नुमा उपभोक्ताहरूमा जनचेतना नहुनु पनि एउटा कारण हो,’ फायर फाइटर भट्टराईले भने। 

हामी जो कोहीले ट्रकबाट सीधै भुइँमा सिलिण्डर फालेका देख्छौँ। अझ कुनै गाडीले सिलिण्डर ओसारपसार गर्दा परबाटै सिलिण्डर ठोक्किएको आवाज सुनिन्छ। यसो गर्नु खतरापूर्ण भएको उनी बताउँछन्।

‘त्यसरी फाल्दा सिलिण्डरको क्षमतामा ह्रास आउँछ, त्यसको संरचनामा ड्यामेज हुन्छ, फाल्दा जहाँ कुच्चिन्छ, त्यो भाग कमजोर हुन्छ र सिलिण्डर पड्किन्छ। कहिले फाल्दाफाल्दै पनि सिलिण्डर विस्फोट हुन्छ,’ उनले भने।

त्यस्तै, उनले अज्ञानता, असावधानी र लापरवाही यी ३ कारणले पनि सिलिण्डर विस्फोटका घटना हुने बताए। उनी भन्छन्, ‘सिलिण्डर एउटा निर्जीव चिज हो, हामी हाम्रो कमजोरीकै कारण भए पनि सिलिण्डरलाई दोष दिइरहेका छौँ, सबैले सेफ्टी कल्चर अपनाए समस्या हुँदैन।’

उनका अनुसार एउटा कोठामा धेरै सिलिण्डर भण्डारण गर्दा पनि यस्तो घटना घट्न सक्छ। ‘रेगुलेटरबाट ग्यास लिक हुन्छ, सिलिण्डरको भल्बमा ओरिन हुन्छ छालाको रबरको त्यो घस्रेको काटिएको कारण पनि ग्यास लिक हुन्छ, पाइपबाट लिक हुन्छ र त्यहींबाट आगलागी भएर र अन्य स्रोतको आगोले भेट्दा सिलिण्डर पड्किन्छ,’ उनले भने।

उनका अनुसार ग्यास लिक भइहाले के गर्ने भन्ने चेतना पनि यहाँ छैन। ग्यास लिक भएपछि कोठामा भरिन्छ। यस्तो बेला बिजुली बत्ती बाल्न हुँदैन।

कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ र स्विच अन वा अफ गर्दा निस्कने झिल्कोले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गरी आगो लाग्ने गरेको उनको भनाइ छ।

उनले ग्यास सकिन लाग्दा कतिपय सर्वसाधारणहरूमा सिलिण्डर ढल्काउँदा ग्यास बल्ने भन्ने गर्छन्। तर यो भ्रम रहेको र यसो गर्नु जोखिमपूर्ण रहेको उनले बताए। 

बाँकेमा रोक, उपत्यकामा छैन अनुगमन

सिलिण्डर पड्किने जाेखिम बढेपछि बाँकेमा दुईवटा खाना पकाउने ग्यास बिक्री वितरण गर्ने उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री गर्न रोक लगाएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले  फागुन ६ गते नै अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको जानकारी दिए।

उनका अनुसार जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङ मेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका १ सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा २ सय १० ग्यास सिलिण्डरलाई बिक्री नगर्न निर्देशन दिइएको छ।

यस्तै, भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब २ हजार ५ सय, म्याद सकिन लागेका २ सय सिलिण्डर बिक्री नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ।

तर, काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरूका अनुगमन गर्नेबारे सम्बन्धित निकाय मौन छन्। न बजार अनुगमन गरेका छन् न त उपभोक्ताहरूलाई यसबारे कुनै चेतना नै दिए।

‘सरकारले उपभोक्ताहरूलाई विशेष चेतना दिनुपर्छ’

फायर फाइटर भट्टराई सरकारले कसरी सिलिण्डर प्रयोग गर्ने, यसबाट हुने जोखिम र बच्ने उपायबारे उपभोक्ताहरूमा चेतना जगाउनुपर्ने बताउँछन्।

‘सिलिण्डरमा खराबी हुँदा दुर्घटना भएको भन्नेमा हाम्रो त्यतातिर ध्यान गएको छ तर वास्तवमा त्योभन्दा बढी कारणले ग्यास सिलिण्डरप्रति हामीले गर्ने दुर्व्यवहार हो। केही घटना घटेपछि सतहमा आउँछ, मिडियामा समाचार आउँछ, विज्ञको धारणा आउँछ, फेरि हराउँछ। कम्पनीबाट उपभोक्ताको चुलोसम्म ग्यास सिलिण्डर कसरी आएको छ, त्यो हामी हेर्दैनौँ,’ उनले भने।

उनले केही मिनेटको आगलागी नियन्त्रण भिडियोले मात्रै नपुग्ने बताए। ‘मैले कसरी सिलिण्डरमा भएको आगलागी नियन्त्रण गर्ने भन्ने २/३ मिनेटको भिडियो बनाएर हालेको छु। तर त्यत्तिकै गर्दा त दुर्घटना पो हुन्छ, यसका लागि अनुभव चाहिन्छ, सेफ्टी सामग्री चाहिन्छ, समुदायमा सचेत गराउनुपर्छ,’ उनले भने।

उनले कसरी सुरक्षित ढंगले सिलिण्डर नियमित प्रयोग गर्ने भन्नेमा ९० प्रतिशत उपभोक्ताहरूलाई जानकारी नभएको बताए।

उनले भने, ‘सिलिण्डरमा कहिले बनेको, कुन कम्पनी र ब्राण्डबाट बनेको, टेस्ट भएको, एक्सपाएर मिति, कति ग्यास हालिन्छ, सबै जानकारी हुन्छ तर चेतना अभावले ९० प्रतिशत उपभोक्ता हेर्न जान्दैनन्।’ 

उनले यो समस्या उपभोक्तामा मात्र नभइ नियामक निकाय र सिलिण्डर बिक्रेतामा पनि देखिएको बताए। उनका अनुसार देशभर करिब डेढ करोड सिलिण्डर रहेको तथ्यांक छ।

‘सरकारले बजार अनुगमन पनि गर्नुपर्छ, यतिले मात्र पुग्दैन, तपाईं हामी पनि जागरूक हुनुपर्छ, एक अर्कामा जानेका कुरा अरूलाई भन्नुपर्छ, केही त्रुटि सिलिण्डरमै फेला परे तुरून्तै बजारमै रोक्न सम्बन्धित निकायमा खबर गर्नुपर्छ। यसो गरे यस्ता दुर्घटना हुन सक्ने सम्भावना कम हुन्छ,’ उनले भने।

सरकार भन्छ : अनुगमन गर्न प्राविधिक जनशक्ति छैन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य‚ आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं प्रवक्ता होमनाथ भट्टराईले किन बजार अनुगमन भएन भन्ने प्रश्नमा सिलिण्डरको अनुगमन गर्न प्राविधिक जनशक्ति नभएको बताए।

उनले थाहाखबरसँग भने, ‘हामीले उपभोक्ता संरक्षण ऐनअनुसार हेर्ने हो, अनुगमन गर्ने भनेको सिलिण्डरको मूल्य सूची, त्यसको लेबल, पसल सञ्चालनको लागि प्रमाणपत्र लिए नलिएको, एक्सपायर मिति हेर्छौं तर यसको टेक्निकल पार्ट हेदैनौँ। सिलिण्डरको क्वालिटी हेर्न प्राविधिक जनशक्ति छैन।’

उनले यो हेर्ने छुट्टै निकाय नेपाल आयल निगमले अनुमति दिने र रेगुलेट गर्ने तथा गुणस्तर नापतौल विभागले क्वालिटी हेर्ने गरेको बताए।

भएको स्रोतसाधन प्रयोग गरी नियमित बजार अनुगमन गर्दै आएको उनको दाबी छ। ‘हाम्रो १०/१२ जनाको मात्रै टिम छ, देशभरको सबै समस्या सम्बोधन गर्ने स्रोतसाधन हामीसँग छैन। तै पनि भए जति सकेसम्म हामीले नियमित बजार अनुगमन गरेका छौँ, यसको अपडेट हाम्रो वेबसाइटमा राख्ने गर्छौं,’ उनले भने।

केन्द्र, प्रदेश र स्थानीय तीन तहकै सरकारले समन्वय गरि बजार अनुगमन गरेमात्रै प्रभावकारी हुने उनी बताउँछन्। ‘केन्द्र, प्रदेश र स्थानीय सरकारलाई बजार अनुगमन गर्न संविधानले अधिकार प्रदान गरेको छ,’ उनले भने, ‘त्यसैले एक निकायले मात्रै गरेर हुँदैन, सबै तहबाट हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.