|

विराटनगर : कोरोना संक्रमण भयावह हुँदा निर्माण गरिएको कोसी कोभिड–१९ उपचार केन्द्र संक्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा रुपान्तरण भए पनि  नामअनुसार कामले स्वरूप  फेर्न सकेको छैन।

विराटनगर–१० नेशनल ट्रेडिङको कोरोना संक्रमणको जोखिम घटेसँगै संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरिएको थियो। तर, नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भनेको उक्त अस्पताल अहिले सामान्य उपचारबाहेक पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो।

तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा रहेको प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमितको उपचारका लागि विशेष पहल लिएर अस्पताल स्थापना गरेका थिए। एक करोड खर्चेर ५० शैय्याको कोभिड अस्पताल निर्माण गरेको थियो।

 हतार–हतारबीच २०७६ चैत्र २१ गतेदेखि सञ्चालनमा ल्याइएको अस्पतालमा २०७७ वैशाख ५ गतेदेखि कोरोना संक्रमित बिरामीलाई भर्ना सुरू गरिएको थियो। निक्कै नै प्रभावकारी देखिएको अस्पताल विस्तार गरेर १६० शैय्यामा विस्तार गरिएको थियो।

तत्कालीन आवश्यकता पूरा गर्न २० भेन्टिलेटरसहित २४ शैय्या आइसियु र ५२ वटा एच्डीयु शैय्या रहेका छन्। स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले यसका लगानी थप गरिएको थियो। तर, अहिले एच्डीयु र आइसीयुसहित उपकरणहरू प्रयोगमा नै आउन सकेका छैनन्। संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गर्दासमेत अस्पतालको समुचित प्रयोग नहुँदा सामानहरू बिग्रने स्थितिमा पुगेका हुन्।

प्रदेश सरकारलेआर्थिक वर्ष ०७७÷०७८ मा प्रस्ताव गरिएको बजेटमा कोभिड उपचार केन्द्रलाई प्रादेशिका सरुवा अस्पतालको रूपमा स्तरोन्नति गरिने र त्यसका लागि आवश्यक भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड विनियोजन गरिएको थियो। तर, साधारण स्वास्थ्य उपचारमै सीमित रहेको सो अस्पताललाई सरकारी नितीले सम्बोधन भने गरेको छैन।

अस्पतालको बेड, अन्य भौतिक पूर्वाधार साथै भेन्टिलेटर प्रयोगविहीन हुँदा बिग्रने स्थितिमा पुगेको एक कर्मचारीले जानकारी दिए।

तेस्रो लहरमा निर्माण भएको कोभिड सेन्टर प्रयोगविहीन

कोरोना महामारीको तेस्रो लहरको समय भाइरस रोकथाम र न्यूनीकरणलाई ध्यानमा राखेर प्रदेश सरकारले सुविधा सम्पन्न कोभिड सेन्टर निर्माण गरेको थियो। कोसी कोभिडको परिसरमा निर्माण भएको सो भवनमा २४ वटा आइसियु र ५२ वटा एच्डीयु बेड रहेका छन्।

स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरिएको सो भवनमा रहेको एच्डीयु र आइसीयु बेड प्रयोगविहीन हुँदा उपकरणहरू प्रयोगमा नै नआइ बिग्रिन सक्ने सोही अस्पतालका एक कर्मचारीले बताए।

 करारमा रहको कर्मचारीहरूको रेखदेखमा रहको उक्त अस्पतालमा बेलामौका आफूहरूले सरसफाइ गर्ने रेखदेख गर्ने गरेको उनले बताए। ‘यो सरुवा रोग तथा अनुसन्धान केन्द्र बनाउने भन्ने सरकारको कुरा छ, खै के गर्नु हो? किन रोकिएको हो हामीलाई त केही थाहा छैन,’ नाम नबताउने सर्तमा उनले भने,‘ यहाँको रेखदेख हामी नै गर्दै आइरहेका छौं।

२०७९ असोज ३ गते शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोसी कोभिड अस्पतालको नाम ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ राख्ने निर्णय गरेको थियो। उक्त अस्पतालमा ओपिडी सेवा सुरू गर्ने बताएको थियो।

अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी रहेको छ। जसमा मेडिकल अधिकृत र स्टाफ नर्सहरूको दरबन्दी रहेको अस्पतालले जनाएको छ। अस्पतालमा २० वटा भेन्टिलेटरसहितका १६० शैय्या रहेको छ। नयाँमा ७० र पुरानोमा ९० शैय्या छ। अस्पतालबाट ४ जना मेडिकल अधिकृत र १२ जना नर्सहरूले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले कोसी कोभिड अस्पताललाई संक्रमण अस्पतालको रूपमा रूपान्तरण गर्ने निर्णय भए पनि भौतिकरुपमा अध्ययन गर्ने विज्ञहरूको समिति गठन भएको बताएका छन्।

उनले हाल साधारण स्वास्थ्य सेवा प्रवाह गर्दै कर्मचारीहरू राखिएको बताए। ‘केही परिहाले स्वास्थ्य सेवा प्रवाहका लागि कर्मचारी राखिएको छ’, उनले भने,‘स्वास्थ परीक्षण भइरहेको छ, तर त्यहाँ भएको बेडहरू चाहीँ प्रयोग भएको छैन।’ सरकारले नीतिअनुसार यसको सञ्चालन गरिने प्रसाईंको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.