|

काठमाडौं : ७१ लाख ८० हजार रूपैयाँ नगदसहित हुण्डी कारोबारी एक जना भारतीय पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशनविपरीत इजाजतपत्र नलिई हुण्डी कारोबार गर्ने भारत हिमाचल प्रदेश सिमला थाना घर भई काठमाडौं कुलेश्वर बस्ने विजयकुमार गुप्ता पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालकसमेत रहेका ४९ वर्षीय गुप्ताको साथबाट ५७ हजार रूपैयाँ नगदसहित १४ लाख ८० हजार बराबरको ३ थान चेक बरामद भएको छ।

यही फागुन ८ गते कुलेश्वरबाट पक्राउ परेका गुप्तालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ। गुप्तामाथि यसअघि पनि राजस्व छलीको कसुरमा अनुसन्धान भएको पाइएको प्रहरीले जनाएको छ।

यसअघि गुप्तालाई २०७५ साउन ७ गते २ लाख भारतीय रूपैयाँ र ३१ लाख नेपाली रूपैयाँसहित प्रहरीले पक्राउ गरी राजस्व छलीको कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोक पठाएको प्रहरी उपरीक्षक राठौरले बताए।

यस्तै, सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने लालच देखाएर ४ लाख रूपैयाँ ठगी गर्ने युवक समातिएका छन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भइ हाल भक्तपुर पुरानो ठिमी बस्ने ३२ वर्षका दावा डुण्डुप तामाङ समातिएका प्रहरीले जनाएको छ।

यही माघ २३ गते काठमाडौं साँखुमा अमेरिकी डलर देखाई नेपाली ४ लाख रूपैयाँ ठगी गरेका  उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको छ।

उनले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने भन्दै उनीबाट पीडित व्यक्तिले प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.