|

बुना घिमिरे
दोलखा
: राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको सीमा नाका लामाबगर खोल्नुपर्ने बताएकी छन्। दोलखा सदरमुकाम चरिकोट भ्रमणका क्रममा बिहीवार उनले उक्त नाका खोल्नुपर्ने बताएकी हुन्।

उनले प्राचीन कालदेखि नै यो नाकामार्फत छिमेकी मुलुकसँग व्यापार सम्बन्ध रहेको चर्चा गर्दै उनले यो नाकाको महत्त्व स्पष्ट पारेकी हुन्। राष्ट्रपतिले चीनसँगको व्यापारिक सम्बन्धमा जोड दिँदै उत्तरदक्षिण जोड्ने लामाबगर नाका बन्द रहेकाले उक्त नाका खोल्नुपर्ने आजको आवश्यकता रहेको बताइन्।

उक्त नाका खोल्न सकेको खण्डमा चीन र भारतसँग छोटो दूरीमा त्रिदेशीय यातायातको सिधा सम्पर्क हुने भण्डारीले बताइन्। उनले भनिन्, ‘यसबाट दोलखा जिल्लाको मात्रै नभएर नेपालको विकासमा समेत टेवा पुग्नेछ।’

उनले शिवपार्वतीको वास स्थान मानिने गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्ला इतिहासको आदिकालदेखि आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृृतिक दृष्टिबाट महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको समेत उल्लेख गरिन्।

ग्रामीण विकास टुकी संघ दोलखा र सुनकोशी टुकी संघ सिन्धुपाल्चोकले आयोजना गरेको टुकी प्रदर्शनी कार्यक्रम-२०७९ मा बोल्दै उनले टुकी अवधारणा नेपालको विकासका लागि सहयोगी बन्ने बताएकी छन्।

टुकी अवधारणा अभ्यासका क्रममा प्राप्त अनुभव र सिकाइले नेपालका अन्य क्षेत्रको विकासका लागि सहयोगी बन्ने उनको कथन छ।

उनले जिल्लाका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र अन्य जलविद्युत् आयोजनाले देशको विद्युत् उत्पादनमा उल्लेख्य सहयोग पुर्‍याएको चर्चा गरिन्। तामाकोशी आयोजना यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिइन्।

धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण स्थल दोलखा रहेकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकास हुनुपर्ने उनको भनाइ छ।

दोलखाका प्रमुख पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सके स्थानीय बासिन्दाको जीवन स्तर माथि उठाउन सकिने उनले बताइन्। यसका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय पालिकाले समन्वयात्मक पहल गर्नुपर्ने पनि उनको भनाइ थियो।

यसैबीच राष्ट्रपति भण्डारीले दोलखा भीमेश्वर मन्दिरको दर्शन गरेकी छन्। उनले राष्ट्रप्रमुखको हैसियतले भीमेश्वर मन्दिरमा रुद्री पूजा र संकल्प गरिन्। भीमेश्वर मन्दिर प्रवेश गर्नुअघि राष्ट्रपतिलाई भीमेश्वर गुठीका तर्फबाट स्वागत गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.