|

विराटनगर : झण्डै एक दशकपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको माहोलले तातेको छ। यसै क्रममा स्ववियुको नेतृत्व हाँक्न पार्टीले टिकट दिएर कसलाई नेतृत्व पंक्तिमा उभ्याउने हुन् भन्ने चर्चा पनि उत्तिकै छ।

सभापतिको आकांक्षीमा अधिकांश राजनीतिक दलका भ्रातृ संगठनमा अधिकांश पुरुषको चर्चा चलिरहँदा नेतृत्वमा दावी गर्ने महिला भने छैनन्।

नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य वा ३३ प्रतिशत सुनिश्चित गरेको छ। यही आधारमा महेन्द्र मोरङ क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले भने ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गरेको छ।

महिलाको समान सहभागिताभन्दा पनि ३३ प्रतिशतमा अटाउनुपर्ने बाध्यताले उपसभापति, कोषाध्यक्ष या त समानुपातिकमा नै चित्त बुझाउनुपर्ने अवस्था रहेको छ। यसकारण महिलाहरू प्रमुख पदमा पुग्नै पाउँदैनन्।

शीर्ष नेताहरूले पनि महिलाको नेतृत्व क्षमतालाई नजरअन्दाज गर्ने हुँदा स्ववियु निर्वाचनको सभापतिमा महिलाले आफूलाई उभ्याउन नचाहेको अखिल क्रान्तिकारी महेन्द्र मोरङ बहुमुखी क्याम्पस कमिटी अध्यक्ष आशिका लम्साल बताउँछिन्।  

उनी स्ववियु निर्वाचनमा सचिवको दावेदार हुन्। त्यसो त महेन्द्र मोरङ क्याम्पसमा स्ववियुको इतिहास देशका शीर्ष नेताहरूसँग गएर जोडिन्छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको महेन्द्र मोरङ क्याम्पससँगको सम्बन्ध विद्यार्थी राजनीतिसँग जोडिएको छ।

विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय रहेकी राष्ट्रपति भण्डारी विसं २०३७ मा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन्।

उनले पनि त्यो समय कोषाध्यक्षमा नै चित्त बुझाउनुपरेको थियो। जुन प्रवृत्ति अहिले पनि परिवर्तन हुन नसकेको लम्सालको भनाई छ। महिलालाई नेतृत्व गर्न सक्दैन भन्ने सोच अबको पुस्ताले चिर्नुपर्ने उनको भनाइ छ। 

नेतृत्वको बाधक ‘आर्थिक’

क्याम्पसको राजनीतिमा समेत पैसा भए चुनाव जित्न सकिन्छ भन्ने सोच हावी भएको बताउने आशिका आर्थिक अभावका कारण पनि महिलाहरू सभापतिमा आफूलाई उभ्याउन नसक्ने बताउँछिन्।

अझै पनि पितृसत्तात्मक विचारको अन्त्य भइनसकेको तर्क राख्दै उनी भन्छिन्, ‘शीर्ष नेताहरूले पनि प्रमुख जिम्मेवारीमा पुरुषलाई नै प्राथमिकतामा राख्ने गरेका छन् भने आर्थिक पाटो पनि अर्को कमजोरी हो।’ महिला भएकै कारणले पनि कतिपय अवसरबाट वञ्चित हुनुपर्ने उनले बताइन्।

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटी सह–सचिव वन्दना कामत महिला नेतृत्वमा आफूले दावी गर्न नसक्नुमा आर्थिक कारण प्रमुख रहेको र पुरुषभन्दा महिलालाई नेतृत्वमा कमजोर ठान्ने भएकाले अवसर गुमाउनुपर्ने बाध्यता भएको बताउँछिन्।

मोरङ क्याम्पसमा २०५७ सालमा नेविसंघबाट पूजा कोइराला सभापतिको आकांक्षी थिइन्। चुनावमा उनी पराजित भइन्।

स्ववियु निर्वाचन विद्यार्थीहरूको हक, हित र अधिकारका लागि सम्बोधन गर्न सक्ने एउटा नेतृत्व चुन्ने अवसरको रुपमा रहेको बताउने उनी विद्यार्थी राजनीतिमा नै पैसा हावी हुन थालेपछि महिला नेतृत्वमा उभिन असमर्थ हुने गरेको बताउँछिन्।

उनी भन्छिन्, ‘अर्को कारण पार्टीका शीर्ष नेताहरूले पनि टिकट दिँदा महिलाभन्दा बढी पुरुषलाई  प्राथमिकतामा राख्ने भएकाले हामी पछि हट्न बाध्य हुनुपर्छ।’

उनले कथंकदाचित टिकट पाइहाले पनि मुख्य पदमा जित्न नसक्ने बताइन्। कोइराला उप–सभापति निर्वाचित भए पनि सभापतिमा निर्वाचित हुन नसकेको स्मरण गर्दै कामतले विद्यार्थी मतदाताले विद्यार्थी महिला नेतृत्वलाई समेत नपत्याउने गरेको बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.