दाङ : तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा पुलनजिकै रामनगर टोलमा बस्ने भरत पुरीको ५ कित्तामा गरी करिब ४ कठ्ठा जग्गा लालपुर्जामा छ।
तर अहिले उनले करिब २ कठ्ठा जतिमात्र भोगचलन गर्दै आएका छन्, बाँकी २ कठ्ठा जति जग्गा पातुखोलामा परिणत भएको छ।
उनले भने, ‘खोलाको पूर्वतिर अहिले जुन बस्तीहरू रहेका छन्। त्यो बसपार्क संरक्षण गर्न तत्कालीन नगरपालिकाले पातुखोलामा तारजाली लगाएको थियो। अहिले त्यहाँ १५/२० मिटर लामा घरहरू बनेका छन्। सिंचाइ कुलो पछाडि फालेको अवस्था रहेको छ। हाम्रो जग्गामा अहिले खोला हिँडिरहेको छ।’
अहिले पनि वडा-५ मा पर्ने खोलाको भागमा विभिन्न बहानामा माटो राखेर अतिक्रमण हुँदा खोला वडा न ९ तर्फ आउने गरेको र जसले गर्दा आफूहरूको जग्गा कटान हुने मात्र नभइ बस्ती नै जोखिममा रहेको उनको भनाइ छ।
उनले राजश्व नतिरेको जग्गाहरू निःशुल्क प्रयोग गरिहेको भन्दै आफूहरूले राज्यलाई राजश्व दिँदा पनि जग्गा बगरमा परिणत गरेर उठीबास बनाउन लागेको आरोप लगाए।
तत्कालीन नगरपालिका हुँदा पातुखोलालाई ८० मिटर राख्ने सहमति भएको भए पनि अहिले खोला कुलोमा परिणत हुँदा जोखिम एकदमै बढेको पनि उनको भनाइ छ।
उनले भने, ‘त्यही सहमतिको आधारमा ८० मिटर खोलालाई राखेर आफ्ना जग्गाहरू संरक्षण केही तटबन्धन गरेका थियौँ तर हाम्रो जग्गा अहिले बगरमा परिणत भएको छ। हामीलाई लालपुर्जामा भएको जग्गा चाहिएको हो। हामीले राज्यलाई कर तिर्दै आएका छौँ तर जग्गा खोलामा छ। मेरो ५७ मिटर रहेको जग्गा अहिले २८ मिटरमात्र उपभोग गर्दै आएको छु।’
उनले पातुखोला पुलमा आफ्नो जग्गा पर्ने भन्दै त्यो पुल बनाउँदा पुलमा मिचिएको जग्गाको मुआब्जा दिने भने पनि अहिलेसम्म त्यो पनि नपाएको बताए। उनका अनुसार पूर्वतर्फ संरक्षण गर्दै पश्चिमतर्फ खोला ढल्काउँदा आफूहरू जोखिममा रहेको पनि बताए।
उनले पातुखोलाको पुल पनि जोखिममा रहेको उल्लेख गरे। उनले भने, ‘अहिले मेरा ग्यारेजको जगमा खोला बगिरहेको छ। पश्चिमतर्फ खोला ढल्काउँदा पुलको एउटै प्यानबाट खोला बग्दा जालीहरू पनि बगाएको छ। जसले गर्दा पनि पुल जोखिममा परेको छ।’
सोही ठाउँका गोपाल पुरीको पनि लालपुर्जामा १५ धुर जग्गा रहेको छ तर अहिले उनको जग्गा ७ धुरजति मात्र रहेको र बाँकी बगरमा परिणत भएको बताए। उनले पनि राज्यलाई कर भने १५ धुरको तिर्दै आएको बताउँछन्।
अहिले उक्त जग्गाको मूल्य करिब ६ लाख रूपैयाँ मिटर रहेको पनि उनले बताए। उनले भने, ‘हामी धेरै अन्यायमा परेका छौँ। लालपुर्जामा १५ धुर जग्गा रहेको छ। तर अहिले ७ धुर जतिमात्र रहेको छ। खोला अहिले कुलो जत्रो भएको छ। हाम्रो जग्गामा खोला हिँडिरहेको छ। हाम्रो जग्गाको व्यवस्थापन हुनु पर्छ भन्ने हाम्रो माग हो।’
सोही ठाउँका खड्ग शाहीको पनि अवस्था उस्तै छ। उनको पनि १० धुर जग्गामध्ये खोलाले बगर बनाउँदा ३ धुर जति बाँकी रहेको छ। उनले पनि राजश्व १० धुरको तिर्दै आएको बताउँछन्।
उनले भने, ‘हामीले यो जग्गा धेरै पहिला किनेका थियौँ। त्यतिबेला खोला पूर्वतिर थियो। अहिले खोला हाम्रो जग्गामा परेको छ।’ तुलसीपुर वडा नम्बर ९ र ५ मा पर्ने पातुखोलामा पूर्वतर्फबाट वडा नम्बर ५ पर्ने पुलदेखि उत्तरतर्फ ठाउँमा फोहोर फाल्ने बहानामा खोलामा च्याप्दै ल्याएको हुँदा बचेको जग्गा पनि बगरमा परिणत हुन लागेको उनको भनाइ छ।
उनले उपमहानगरलाई खोलाको सिमाना छुट्ट्याउनसमेत आग्रह गरे। उनले भने, ‘हाम्रो जग्गा अहिले बीच खोलामा पर्छ। पूर्वतिर पक्की घरहरू बनेका छन्। खोला साँघुरो हुँदै गएको छ। पूर्वबाट अहिले च्याप्दै आएकाले खोला पश्चिमतर्फ आएको छ। त्यसैले खोलाको सिमाना छुट्टाउन आवश्यक।’
स्थानीय यान्द्रबहादुर वलीका अनुसार पातुखोला अतिक्रमणले गर्दा अहिले कुलाको रुपमा परिणत भएको छ। उनले भने, ‘मैले थाहा पाउने बेला पातुखोला अहिले बसपार्क भएको ठाउँबाट बग्ने गरेको थियो तर पछि सबै ठाउँ अतिक्रमण भएर बस्तीहरू बसेका छन्। जसले गर्दा अहिले खोला कुलोजस्तै छ। अवस्था रहेमा यो ठाउँ पनि मेलम्ची नबन्ला भन्न सकिन्न।’
उनले उपमहानगरले खोलाको मापदण्डअनुसार छुट्ट्याउनु पर्ने पनि बताए। खोला अतिक्रमण भएर बस्ती बसेको हुँदा धेरै जोखिम रहेको भन्दै त्यसतर्फ ध्यान दिनसमेत आग्रह गरे।
उनले भने, ‘पहिला हाम्रा गाउँ ठाउँमा २०/२५ मिटरका कुलहरू हुन्थे। अहिले पातुखोलाको अवस्था त्यस्तै रहेको छ। बेलुवा केही स्थानीयहरूको दर्ता जग्गा अहिले खोलामा परिणत भएको छ। यसतर्फ पनि उपमहानगरले ध्यान दिन जरुरी छ।’
बारम्बार आग्रह गर्दा पहल भएन : टोल अध्यक्ष भुसाल
तुलसीपुर-९ रामनगर टोलका अध्यक्ष वामदेव भुसालले यहाँको समस्याका बारेमा तत्कालीन मेयर घनश्याम पाण्डेलगायत वडा कार्यालयहरूमा पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताए। उनले आफ्ना टोलका केही बासिन्दाको जग्गा अहिले खोलाको बीचमा परेको पनि बताए।
उनले भने, ‘खोला अतिक्रमण गर्दा मेरा टोलका केही बासिन्दाको जग्गा खोलामा पर्छ। एक जनाको ३ कठ्ठा जग्गा लालपुर्जामा छ तर उहाँको ५ धुर पनि जग्गा छैन‚ सबै खोलामा पर्छ। यहाँका पीडित टोलवासीहरू पटक पटक मकहाँ पहल गरिदिनु पर्यो भनेर आउनु हुन्छ तर हाम्रो भनाइको कुनै सुनुवाइ हुँदैन।’
तत्कालीन मेयर पाण्डेले दर्ता जग्गा छुट्ट्याएर खोलाको भाग ८० मिटर छुट्ट्याउने आश्वासन पाएको भए पनि त्यो अहिलेसम्म नभएको उनको भनाइ छ।
उनले पछिल्लो समय वडा-५ मा पर्ने पुलदेखि पूर्वतर्फ विभिन्न बहानामा खोलाको बीचमा मैदान जस्तो बनाउँदा खोला पश्चिमतर्फ आउने भएकाले बचेको पनि जग्गा बगरमा परिणत हुने सम्भावना रहेको पनि बताए।
हामी अध्ययन गर्छौं : नगरप्रमुख खड्का
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले वडा नं. ९ का नागरिकहरूले भने जस्तै दर्ता जग्गा खोलाले खाएको हो वा होइन भन्ने बारेमा अध्ययन गर्ने बताए।
उनले दर्ता जग्गा उपलब्ध बनाउने कुरामा नगर सरकारको भएको पनि बताए। उनले भने, ‘तारबार, तटबन्ध जे गरेर भए पनि खोलामा ८० मिटर छुट्ट्याएर बाँकी अतिक्रमण भएको ठाउँलाई उकास दिनु नगरको कर्तव्य हो।’
उनका अनुसार सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासको सन्दर्भमा छुट्ट्याउँदा दर्ता भएर अतिक्रमण भएका जग्गा पनि छुटिन्छन्। बाँकी खोलाहरूको संरक्षण गर्ने र त्यसपछि मात्र वास्तविक सुकुम्बासी र भूमिहीनहरूलाई नाप नक्सा गरेर जग्गा उपलब्ध गराउने हो।’
पातुखोला अतिक्रमणले गर्दा विपद्को धेरै जोखिम रहेको भन्दै तटबन्ध बाँध्न प्रदेश सरकारमा बजेटको लागि पहल गरेको पनि उनको भनाइ छ। खोला अतिक्रमण गरेर बसेका बस्तीहरू जोखिममा रहेको भन्दै उनले कानुनी रुपमा दर्ता गर्न नमिल्ने पनि बताए। खोला, जंगल, बाटो सार्वजनिक सम्पत्ति भएकाले संरक्षण गर्न समुदायले साथ दिनुपर्नेसमेत उनले बताए।
उनले भने, ‘पातुखोलाको बस्ती एकदमै जोखिममा रहेको छ। हामीले डोजर लगाएर हटाउ भने पनि उपमहानगरले सुकुम्बासीहरूलाई डोजर लगाएर हटायो, भनेर जनता हाम्रो विरुद्धमा सडकमा आउलान्। कुनै पनि आयोग आए पनि खोलामा जग्गा दर्ता हुँदैन।’
मानिसहरूले जबरजस्ती अतिक्रमण गरेर घरहरू बनाएर खोला साँघुरो भइरहेको भन्दै उनले जसको जग्गा दर्ता छ उनीहरू खोलाका कारण जोखिममा परेको र खोला बेचेर खानेहरूले धेरैलाई पीडा दिएको पनि उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।