|

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सुझाव कार्यान्वयन नहुँदा अर्थतन्त्रमा विकराल अवस्था आएको दाबी गरेका छन्।

शुक्रवार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै ढकालले कोरोना महामारी कम भएसँगै निजी क्षेत्रले दिएका सुझाव सरकारले समयमा कार्यान्वयन गर्न नसक्नु वर्तमान समस्याको कारक भएको दाबी गरे।

उनले मुलुकको अर्थतन्त्रमा वर्तमान अवस्था आउँछ भनेर पहिला नै सरकारको ध्यानाकर्षण गराएको बताए। उनले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई सरकारले प्राथमिकता नदिएको आरोप लगाए।

ढकालले सरकारले करिब ६ महिना आयातमा प्रतिबन्ध लगाए पनि नाकामा कडाइ नहुँदा सवारीसाधनमा आउने भन्दा बाहेक अन्य सामानमा रोक नभएको बताए। उनले त्यसरी नाकाबाट आउने सामान नियन्त्रण गर्न नसक्दा सरकारले अर्बौं राजस्व गुमाएको बताए।

उनले सरकारले प्राप्त राजस्व संकलन गर्न नसक्दा कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताए। निजी क्षेत्रले उठाएका माग निजी क्षेत्रका मात्र भनेर नबुझ्न उनले आग्रह गरे। उनले निजी क्षेत्रले उठाएका विषय सरकारले गम्भीर ठानी नीति नियम बनाउन सके अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताए।

त्यसैगरी फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानीमा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको बताए। उनले बैंकहरूले कृषि क्षेत्रलाई अन्य क्षेत्रसँग हालेर कर्जा प्रवाह गरिरहेको भन्दै वास्तविक कृषकले ऋण पाउन नसकेको बताए। उनले सरकारले अन्य बैंकसँग नभए पनि कृषि विकास बैंकसँग समन्वय गरेर कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको समय अवधि बढाउन माग गरे।

उनले फ्लोरिकल्चर क्षेत्रमा लगानी गर्दा लगानीको ८० प्रतिशत लगानी भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै २० प्रतिशत कृषिमा लगानी गरेर ५ वर्षमा ऋण तिर्न सक्ने अवस्था नभएको स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.