नक्कली परीक्षार्थीको परीक्षा रद्द, कारबाही गरिने

|

विराटनगर : मोरङको तीन वटा परीक्षा केन्द्रबाट एकै दिन ठूलो संख्यामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का नक्कली परीक्षार्थीहरू पक्राउ परेका छन्। एसइई परीक्षाको पाँचौ दिन आज (बिहिबार) सामाजिक विषयको परीक्षा दिने क्रममा करिब दुई सय जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। 

मोरङको झोराहाटस्थित सरस्वती नमुनामा मा.वि परीक्षा केन्द्रबाट ५२ जना, सार्वजनिक मा.वि केराबारीबाट १२७ जना र जनता मा.वि सुन्दरहरैचाबाट २० आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख टंक गौतम जानकारी दिए।

उनका अनुसार एक जना बुधबार नक्कली परीक्षार्थी पक्राउ परेका थिए सोही दिन देखि निरीक्षण र अनुगमनमा कडाइ गरिएको थियो। परीक्षा दिन आउने विद्यार्थीहरूले प्रवेश पत्रमा टाँसिएको तस्वीर हुबहु हुने भएकाले पनि नक्कली परीक्षार्थी चिन्न सकस भएको प्रमुख गौतमले बताए।

सामान्य निरीक्षणले पहिचान गर्न सकस हुने बताउँदै उनले बुधबार प्रहरीले एक जना नक्कली परीक्षार्थी पक्राउ गरेपछि निरीक्षणमा कडाइ गरिएको जानकारी दिए।  ‘विद्यार्थीको अनुहार र प्रवेश पत्रमा टाँसिएको फोटो हुबहु छ, टाँसिएको फोटोमा प्रधानाध्यापकको छाप पनि छ, त्यसैले यो सामान्य निरीक्षणले पहिचान गर्न सकस पर्छ’, उनले भने,‘उनीहरूलाई आवेदन फाराममा उल्लेख भएको व्यक्तिगत विवरण सोधिएपछि बुवा, आमाको नाम जन्म मिति भन्न सकेनन् त्यहीबाट नक्कली परीक्षार्थी हो भन्ने पत्तो पाइयो।’

परीक्षा रद्द
जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गौतमले विभिन्न सुत्र प्रयोग गरेर छानबिन गर्नुपर्ने भएकाले परीक्षा केन्द्रले जानकारी समेत पाउन गाह्रो हुने गरेको बताए।बुधबार एक जना नक्कली परीक्षार्थी रहेको सूचना प्रहरीलाई आएपछि आज(बिहिबार)बाट निरीक्षण र अनुगमन सुरू गरिएको बताउँदै उनले भने,‘यस्तो सम्भावना भोलि पनि बढ्न सक्छ।’

नक्कली परीक्षार्थी पक्राउ परेपछि उनीहरूको सम्पूर्ण परीक्षा रद्द भएको उनले बताए। उनले प्रहरीले नियन्त्रण लिएकालाई नेपालको प्रचलित कानुन अध्ययन गरेर निकायले कारबाही गर्ने बताए। 

उनले परीक्षा केन्द्रमा खटिएका केन्द्र अध्यक्ष र केन्द्रमा खटिएका शिक्षकहरूको कुनै कमजोरी नभएको उनले दाबी गरेका छन्। विद्यार्थीले प्रवेश पत्र लिएर आएपछि रोक्ने नमिल्ने बताउँदै केन्द्रमा खटिएका शिक्षकहरूले विद्यार्थीको प्रवेश पत्र र त्यहाँ टाँसिएको फोटो हेरे परीक्षा हलमा प्रवेश दिने भएकाले परीक्षामा खटिने शिक्षक दोषी नभएको उनको भनाई छ। 

‘शिक्षा ऐनअनुसार कारबाही हुन्छ’

यता, पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई शिक्षाको ऐन अनुसार कानुनी कारबाहीको तयारी अगाडि बढाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उनले भने,‘शिक्षा ऐन अनुसार अर्काको परीक्षा दिन नपाउने भन्ने कानुनी व्यवस्था अनुसार उहाँहरूलाई कारबाही हुन्छ।’ उनले विद्यालयले यस्तो गरेको हो या कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

पहिलो दिनदेखि नै एसइई परीक्षामा लापरबाही 

एसइईको पहिलो दिनमै लापरबाही : कतै प्रश्नपत्र आउट त कतै अर्कै विषय ! को प्रश्नपत्र परेको थियो। गत शुक्रबारदेखि देशभर यस वर्षको एसइई परीक्षा सञ्चालन भयो। सोही दिन बाराको आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट परीक्षा सुरू भएको १५ मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र फेसबुकबाट आउट भएको थियो।

यो प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल समेत भयो। त्यस्तै,धनुषाको औरही गाउँपालिकास्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि झन्डै एक घण्टा ढिलो एसइई परीक्षा सुरू भएकाे थियाे।

जिल्ला शिक्षा समन्वय एकाइ धनुषाका अनुसार अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी परीक्षा सुरू गरिएको थियो। आज (शुक्रबार) बिहान ८ बजे सुरू हुने परीक्षा ८ः५० मा सुरू भएको थियो। 

शुक्रबारदेखि सुरु भएको एसइई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष , निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका छन्। तर,यस्ता गल्तीहरू बारम्बार दोहोरिँदै गएको छ। परीक्षा बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.