|

सुर्खेत : निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका ६ र जुनिचाँदे गाउँपालिका ४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न समस्य हुँदै आएको छ।

दुई वर्षअघि लगाएको पक्की पुलको ठेक्काको काम जय बागेश्वरी कन्स्ट्रक्सन बाँकेले अहिलेसम्म शुरु नगर्दा खोलामा तुइनको यात्रा अझै लम्बिने देखिएको छ।

भेरी करिडोरबाट छेडा–चाँदे हुँदै जुम्ला जोड्ने सडकको बीचमा रहेको यो खोलामा वर्षेनि खोलाले बगाएर स्थानीय बासिन्दाको ज्यान समेत जाने गरेको छ। पुल निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम नगर्दा हैरानी खेप्नु परेको आरोप लाग्दै आएको छ।

सडक डिभिजन चौरजहारीले यो ठेक्का दुई वर्षअघि खोलेर निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो। छेडागाड नगरपालिका-६ का मानबहादुर थापाले तुइन निर्माण गरेर अहिले यो खोलामा दैनिक सेवा दिइरहेका छन्।​

वर्षायाममा यो तुइनमार्फत यहाँका सर्वसाधारणले खोला तर्ने र दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन्। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि खोलामै जबरजस्त सवारीसाधन चलाएर खोला पार हुने गरेको छ। तुइनबाट खोला तरेर प्रतिव्यक्ति रु. १०० तिर्नुपर्ने बाध्यता रहेको स्थानीय रेशमबहादुर खड्काले बताए।​

यत्ता सडक डिभिजन चौरजहारीले भने ताकेता गरिरहेको बताएको छ। सरकारले देशै भरीका तुइन हटाउने भने पनि यहाँको तुइन हटाएर तत्काल पुल निर्माण गर्न सकेको छैन। झोलुङ्गे पुल समेत नहुँदा यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका हुन्।

पश्चिम क्षेत्रबाट निर्वाचित राजीवविक्रम शाहले पुल निर्माणमा ढिला सुस्ती गर्ने निर्माण व्यवसायीलाई काम गर्न दबाब नदिएको आरोप लाग्दै आएको छ। निर्माण व्यवसायीसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको सम्बद्ध व्यक्तिले बताए। आफूहरूले निर्माण व्यवसायीसँग भारी ताकेता गरिरहेको सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए।

पश्चिममा रहेका छेडा बडावन, सानाखोला चाँदे टोप्ला सडक र चैखिला साना खोला हुँदै जुनी सडकको स्तरोन्नति गर्नका लागि अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बोलपत्रका लागि अनुमति नदिँदा काम रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.