|

दाङ : सडक खण्ड निर्माण नभएपछि दाङका बासिन्दाले सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्।  

घोराही-तुलसीपुर सडक खण्ड निर्माणमा ढिलाइ हुँदा निकै सास्ती भोग्नुपरेपछि उनीहरूले यस्तो चेतावनी दिएका हुन्। यसअघि उनीहरूले विभिन्न आन्दोलन समेत गरेका छन्।​

वर्षौदेखि फोरलेन सडक बनाउने भनिए पनि हालसम्म कुनै काम नभएपछि स्थानीय आक्रोशित बनेका हुन्। उनीहरूले केही दिनअघि घोराहीस्थित सहिद नेत्रलाल चोकमा ब्यानर टाँसेर विरोध जनाए।

उक्त सडक ठेक्कामा दिएको ४ वर्षसम्म पनि कुनै प्रगति नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। यही सडकलाई मुद्दा बनाएर चुनाव जितेका दाङका सबै सांसदले धोका र विश्वासघात गरेको हुँदा उनीहरूलाई प्रवेश निषेध गरिएको सडक संघर्ष अभियानले जनाएको छ। सडक खण्ड निर्माणमा चासो नदेखाएले दाङका कुनै पनि सांसदलाई जिल्ला प्रवेश गर्न नदिने उनीहरूले चेतावनी दिएका छन्। प्रहरीले उक्त ब्यानर भने हटाइसकेको छ।

यो योजना २०७६ असारमा शुरु भई २०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो। घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको चारलेन सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले लिएको छ। ३० महिनाभित्रै काम पूरा गर्ने सम्झौताबमोजिम १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा उक्त कम्पनीले सडक निर्माण गर्ने जिम्मा लिएको थियो।​

सांसदलाई जिल्ला प्रवेश निषेध भनेर ब्यानर टाँस्न नहुने कतिपयको भनाइ छ। चोकमा सांसदलाई प्रवेश निषेध भनेर ब्यानर टाँस्नु समस्याको समाधान नभएको दाङ युवा मञ्चका अध्यक्ष समीर वली बताउँछन्।

वलीले यो क्षेत्रको सडक विभाग, टेन्डर आह्वान गर्ने कम्पनी, संघीय सरकारमा गएका सांसदसँग समन्वय गरी फोरलेन सडको काम अघि बढाउन सबैले पहल गर्नुपर्ने बताए।

केही समयअघि ठेक्का प्रक्रिया रद्द गरेर पुनः अर्को ठेक्का प्रक्रिया आह्वान गर्ने सूचना आएको थियो। त्यो प्रक्रिया कार्यान्वयनमा ढिलाइ भएको विषयमा सबैले आवाज उठाउनुपर्नेमा उनले जोड दिए।

गत मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले आफूले चुनाव जितेसँगै तत्कालै फोरलेन सडक निर्माणका लागि थाल्ने प्रतिबद्धता जनाएका थिए। दाङ निर्वाचन क्षेत्र २ का उम्मेदवारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले आफूले चुनाव जिते दुई वर्षभित्र उक्त सडक बनाउने प्रतिबद्धता जनाएका थिए।

चुनाव जितेसँगै सांसदले सडक निर्माणमा चासो नदिएको गुनासो बढेको छ। दाङ क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले वाचा पूरा गर्नेतर्फ आफूहरू लागेको बताए।

‘फोरलेन सडकको काम चार वर्षअघि शुरु भएको हो। हामी आएको चार महिना मात्रै भएको छ। यो बीचमा हामीले निर्माण कम्पनीलाई १५ दिनभित्र काम शुरु नगरे ठेक्का प्रक्रिया रद्द गर्ने दबाव दिएका थियौँ’, उनले भने, ‘काम शुरु नभएपछि कम्पनीसँग सम्झौता रद्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

आयोजना प्रमुख दिनेश थापासँग प्राविधिक कुरा मिलाएर आगामी असारसम्म टेन्डर रद्द गरेर नयाँ टेन्डर खोल्ने तयारी भएको उनले बताए। सरकारले पनि देशभर ९ वटा आयोजनाको काम अलपत्र पार्ने भारतीय कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय भएकाले पनि आफूहरू पनि रद्द गर्ने प्रक्रिया शुरु गरेको उनले बताए। साथै उनले चुनावका वेला जनतासँग गरेको वाचा र जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता जाहेर गरे।

मृत्यु मार्ग बन्दै चारलेन

घोराही-तुलसीपुर चारलेन सडक मृत्यु मार्ग बन्दै गएको छ। समयमै चारलेन सडक बन्न नसक्दा ४ वर्षको अवधिमा उक्त सडकमा ६२ वटा सवारीसाधन दुर्घटना हुँदा २८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका तथ्यांक छ।

२०७५ पुस महिनादेखि २०७९ वैशाख ५ गतेसम्म घाइते भएका ६२ वटा सवारी दुर्घटनामा परेर २८ जनको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.