हिमपहिरोमा पुरिएको आशंका

|

जुम्ला : मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन्।

जुम्ला पातारासी गाउँपालिकाका-२ तल्फी गाउँका ३ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार पातारासीका १५ जना यार्सा टिप्न गएमामध्ये ३ जना हिम पहिरोमा पुरिएका भन्ने अपुष्ट खबर आएको र विस्तृत खबर आउन बाँकी छ। उनका अनुसार शुक्रवार उक्त घटना भएको र टाढा भएकाले शनिवार जानकारी प्राप्त भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीका अनुसार मुगु र डोल्पाको सीमामा रहेको पाटन च्यार्खु लेखमा ३ जना बेपत्ता भएका छन्। उनका अनुसार जुम्ला पातारासी-२ तल्फी गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्णसिंह सार्की र ३६ वर्षीय वीर बोहरा रहेका छन्।

प्रहरीका अनुसार मुगु सदरमुकामबाट करिब ६ दिन लाग्ने उक्त स्थानमा उनीहरू लुकिछिपी अर्को बाटोबाट गएको पाइएको छ। मौसम खराबका कारण जेठ ४ गते मात्रै यार्सा टिप्ने भनिए पनि उनीहरू अर्को बाटोबाट गएको खबर आएको छ।

बेपत्ता भएका ३ जनाको साथमा १५ जनाको समूह भएको प्रहरीले जनाएको छ। घटना भएको खबरले जुम्लाको पातारासी पेरे गाउँ चिन्तित छ। बाँकी १२ जनाको अवस्थाको जानकारी दिन र उनीहरूको उद्धार गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.