हावाहुरीको पनि बढ्यो जोखिम

|

काठमाडौं : प्राकृतिक विपद्का जोखिमपूर्ण घटनाहरुमध्ये अहिले चट्याङ सबैभन्दा बढी जोखिमपूर्ण देखिएको छ। चट्याङबाट मानिसको ज्यान गइरहेको छ भने घरपालुवा जनावरसमेत मरिरहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाख १५ गतेदेखि हालसम्म अर्थात २० दिनमा मात्रै चट्याङबाट  ४ जनाले ज्यान गुमाएका छन् भने २७ जना घाइते भएका छन्।

वर्षातको समय सुरू हुँदै छ। अहिले पनि केही दिनदेखि वर्षासँगै चट्याङ पर्न थालेको छ। जसकारण आकाशमा बादल गड्याङगुडुङ गरेर गर्जिँदा हिजोआज सर्वसाधारण तर्सन थालेका छन्।  

चट्याङबाटकहाँ कसको मृत्यु र घाइते भए ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २० दिनको अवधिमा धेरै चट्याङ परेको छ। वैशाख १५ गते चट्याङबाट रूकुम पश्चिममा १ जना घाइते भए। वैशाख १६ गते चट्याङबाट ताप्लेजुङमा १ जनाको मृत्यु भयो भने लम्जुङ र दैलेख, जाजरकोटमा ४ जना घाइते भए।

वैशाख १७ गते चट्याङबाट ओखलढुंगामा १ जनाको मृत्यु भयो भने पाँचथर र जाजरकोटमा ३ जना घाइते भए। वैशाख १८ गते चट्याङबाट भोजपुरमा ४ जना घाइते भए।

वैशाख २१ गते चट्याङकै कारण काठमाडौंमा १ जनाको मृत्यु भयो। वैशाख २२ गते चट्याङले रोल्पा र कञ्चनपुरमा ४ जना घाइते भएका थिए। वैशाख २६ गते चट्याङबाट दार्चुलामा १ जनाको मृत्यु भयो भने २ जना घाइते भए। 

जेठ १ गते चट्याङबाट दार्चुला र पर्वतमा गरि ४ जना घाइते भए भने जेठ २ गते चट्याङबाट नै दैलेख र कैलालीमा ५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

कसरी लाग्छ चट्याङ ?

चट्याङविज्ञ डा. श्रीराम शर्माका अनुसार वायुमण्डलमा जब विद्युतीय चार्जको असन्तुलन हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा विद्युतीय चार्जको प्रवाहलाई चट्याङ परेको भनेर बुझ्नुपर्छ, यो विद्युतीय करेन्ट हो।

घरमा जडान गरिएका तारमा प्रवाह हुने विद्युतीय करेन्ट जस्तै हो यो चट्याङको विद्युत प्रवाह पनि।

उनले भने, ‘घरमा जुन करेन्ट बिजुली बत्ती बाल्न, खाना पकाउन प्रयोग गर्छौं‚ त्यस्तै नै हो चट्याङको विद्युत पनि। बत्तीमा सजिलो बाटो दिन्छौँ, तारमा बगेको देखिँदैन, एकैचोटि हिटर र बल्बमा बलेको देखिन्छ। जहाँ बढी अवरोध हुन्छ, त्यहाँ ताप उत्पन्न हुन्छ, हिटरको क्वायलमा ताप उत्पन्न हुन्छ, बल्बमा ऊर्जा निस्किन्छ।’ 

उनले ठूलो मात्राको विद्युत वायुमण्डलमा बग्ने बताए। ‘वायुमण्डलको अवरोधलाई चिरेर जमिनमा करेन्ट आइपुग्छ, त्यसलाई चट्याङ भन्छौँ। यसमा विद्युतीय शक्तिको मात्रा औसतमा हेर्ने हो भने ३० किलो एम्पिएर अर्थात ३० हजार एम्पिएर हुन्छ, घरमा प्रयोग हुनेमा लगभग १५ एम्पिएर हुन्छ,’ उनले तुलना गर्दै भने।

उनका अनुसार सामान्यतया चट्याङमा १ करोड भोल्टदेखि १ अर्ब भोल्टसम्म विद्युत प्रवाह हुन सक्छ।

काठमाडौं किन जोखिम?

चट्याङविज्ञ शर्माका अनुसार शहरी क्षेत्रभन्दा गाउँघरमा चट्याङ धेरै परिरहेको छ। यसका कारण छन्। हिमाली क्षेत्रमा चट्याङ थोरै पर्छ भने पहाडी क्षेत्रमा बढी पर्ने गरेको छ।

‘चट्याङ जहाँ पनि पर्न सक्छ तर बच्ने संरचनाको हिसाबले बजारका पक्की घर सुरक्षित मानिन्छन्,’ उनले भने, ‘गाउँघरमा फलामका रड प्रयोग गरेर बनाएका घर कमै हुन्छन्, गाउँमा त्यसैले घरभित्र पनि चट्याङका कारण मृत्यु हुने गर्छ।’ 

तर पछिल्लो समय गाउँघरसँगै शहरी क्षेत्रमा पनि चट्याङ धेरै परिरहेको छ। यसबाट एक जनाको ज्यान गइसकेको छ।

वैशाख २० गते चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा चट्याङले लागेर मकवानपुर भीमफेदी घर भई काठमाडौं बस्ने ३५ वर्षीय राजु तामाङ गम्भीर घाइते भए।

निर्माणाधीन एक घरमा काम गरिरहेका वेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा वैशाख २१ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

किन काठमाडौंमा पनि चट्याङको जोखिम बढ्यो? भन्ने प्रश्नमा चट्याङविज्ञ शर्मा भन्छन्, ‘हामीलाई काठमाडौंमा चट्याङ नपर्नुपर्ने भनेर त्यस्तो लागेको मात्रै हो, पहिला पनि चाँगुनारायणमा घटना घटेको हो, चट्याङ पर्नबाट कुनै शहर अछुतो छैन। १०/१५ वर्षमा चट्याङ पर्न सक्छ नपर्न पनि सक्छ।’

तर शहरका घरहरू फलामे छड प्रयोग गरेर बनेका घर तुलनात्मक हिसाबले सुरक्षित हुने र त्यही भएर मानवीय क्षति कम हुने गरेको उनले बताए। ‘त्यसैले काठमाडौंमा चट्याङ नपर्ने हो भन्ने छैन तर  परे पनि कम जोखिम हुन्छ,’ उनले भने।

उनले शहरी क्षेत्रमा चट्याङ कम लाग्नुको अर्को कारणमा बजारका मानिस धेरैजसो घरभित्रै बढी क्रियाकलाप गर्ने गरेको उल्लेख गरे। उनले भने, ‘गाउँघरमा बढी काम घरबाहिर हुन्छ– गाईवस्तु चराउने, खेतमा काम गर्ने बढी हुन्छ, खुला मैदान, ठूला रूखमा ओत लाग्दा चट्याङ लागेको पाइन्छ।’

उनका अनुसार धेरैजसो वैशाख‚ जेठ र भदौ महिनामा चट्याङ पर्छ। अत्यधिक मात्रामा वैशाख–जेठमा पर्ने र असार–साउनमा बादल भए पनि कम चट्याङ पर्ने सम्भावना हुने उनको भनाइ छ। 

उनले यसबाट बच्न पहिला त आफू सचेत हुनुपर्ने र सके तामा, नसके जिआई, आलमुनियम प्रयोग गरेर सुरक्षित घर बनाउनुपर्ने सुझाव दिए। 

हावाहुरीको पनि जोखिम उस्तै 

पछिल्लो समय हावाहुरीबाट पनि सर्वसाधारणको ज्यान गएको छ। कैयौं घाइते भएका छन्।

जेठ १ गते हावाहुरीबाट काठमाडौंमा १ जनाको मृत्यु भएको छ भने डडेलधुरामा १ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ। २ गते हावाहुरीबाट महोत्तरीमा २ जना घाइते भएका थिए।

किन मिल्दैन मौसम पूर्वानुमान?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमबारे दिएको सूचना कहिलेकाहिँ नमिल्दा धनजनको र मानवीय क्षति हुने गरेको छ। मौसम विभागले पानी पर्दैन भनेको बेला पानी परिरहेको हुन्छ भने पर्छ भनेको बेला पानी नपरेर घाम लागिरहेको हुन्छ।

​महाशाखाले हिजो (मंगलबार) कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित क्षणिक वा हलुका वर्षाको सम्भावना रहेको जनाएको थियो तर हिजो उपत्यकामा पानी परेन। 

महाशाखाले आज (बुधबार) दिउँसाे पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने पूर्वानुमान गर्‍यो तर उपत्यकामा दिउँसै रात परेजस्ताे भयाे‚ पानी पनि पर्‍याे।

महाशाखाकी मौसमविद् गंगा नगरकोटी मौसमसम्बन्धी गरिएको पूर्वानुमान सधैँ ठ्याक्कै नमिल्ने बताउँछिन्। तर पछिल्लो समय मौसमसम्बन्धी धेरै पूर्वानुमान मिलिरहेको उनको तर्क छ।

‘हिजो उपत्यकामा पनि हलुका त पानी पर्‍यो, कहिलेकाहिँ त पक्कापक्की नै त मिल्दैन,’ उनले भनिन्। उनले बढी जाडो महिना मौसमको पूर्वानुमान मिल्ने बताइन्।

‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना’ तयार गरिने

प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायहरूले गर्नुपर्ने कामहरूसमेत उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना’ तयार गर्ने जनाएको छ।

गत वैशाख २९ गते उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औं बैठकले त्यससम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिइसकेको छ।

गृहमन्त्री श्रेष्ठले विपद् जोखिमलाई न्यून गर्न सकिने भएकोले सम्बन्धित सबै निकायलाई पूर्वतयारी र विपद् जोखिम न्यूनीकरणलाई गम्भीरतापूर्वक प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले देशका विभिन्न स्थानमा हुने सक्ने जोखिमलाई मध्यनजर गरेर सम्बन्धित निकाय, प्रदेश तथा स्थानीय सरकारले गर्नुपर्ने पूर्वतयारी, उद्धारलगायत कार्यहरूका लागि उपलब्ध एवं आवश्यक साधनस्रोतको विवरणसहितको कार्य योजना तयार गर्ने बताए।

हावाहुरी, चट्याङ, बाढी पहिरो जस्ता प्राकृतिक विपदबाट बच्न सर्वसाधारणहरूलाई उनको आग्रह छ। 

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.