|

काठमाडौं : नेपालीलाई पोल्याण्ड लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिक समातिएका छन्।

उनीहरूले टिकटकमार्फत विज्ञापन गरेर १ हजारभन्दा बढी नेपालीलाई पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण दिने तयारी गरेका पोल्याण्ड र विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको हो।

दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका पोल्याण्डका नागरिक एलेग फेडोसिक र दुबईका नागरिक रिया फेडोसिकलाई पक्राउ गरिएको विभागका अनुसन्धान अधिकृत धर्मराज लम्सालले थाहा खबरलाइ जानकारी दिए।

मेरियट होटलमा १ हजारभन्दा बढी व्यक्तिलाई पोल्याण्ड लैजानका लागि भन्दै अभिमुखीकरण दिने तयारी रहेको पाइएको उनको भनाइ छ।

नियन्त्रणमा लिनुअघि एक समूह म्यानपावर कम्पनी र दोस्रो समूह कामदारलाई अभिमुखीकरण दिइसकेको विभागले बताएको छ। अनुगमनका क्रममा अभिमुखीकरणका लागि अनुमति नै नलिएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको लम्सालले स्पष्ट पारेका छन्।

अभिमुखीकरणमा सहयोग गरेको आशंकामा इगल म्यानपावर कन्सल्टेन्सीका कृष्ण ढकाललाई समेत विभागमा हाजिर हुन पत्र थमाइएको छ। विदेशी नागरिकहरूसँगै भेटिएका ढकालले भने अभिमुखीकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। यद्यपि थप अनुसन्धानका लागि भोलि विभागमा हाजिर हुन निर्देशन दिइएको अनुसन्धान अधिकृत लम्सालले बताए।

अभिमुखीकरणकै लागि उपस्थित एक युवा उनीहरूबाटै दुई लाख रुपैयाँ ठगीमा परेको समेत खुलेको छ। उनीहरूको गतिविधिबारे जानकारी पाएर नेपाल आएका ती युवाले दुबईमा नै उजुरी गरेको कागजात समेत लिएर आएका लम्सालले जानकारी दिए। लम्सालका अनुसार पोल्याण्डमा जाने प्रलोभनमा परेर ठगीमा परेका ती युवालाई पनि आफूसँग रहेको कागजात लिएर भोलि विभागमा आउन भनिएको छ।

ठगीमा परेको दाबी गरेका युवकले आफूसहित ५०-६० जना अन्य युवासमेत ती दुईजनाबाट ठगिएका बताएका छन्। साथै ती नागरिकबाट ठगिएका अन्य व्यक्तिलाई समेत उजुरी दिन विभागले आह्वान गरेको छ।

विभागबाट अनुमति लिएका वा नलिएका कुनै कन्सल्टेन्सी वा म्यानपावर कम्पनीबाट ठगिएमा वैदेशिक रोजगार विभाग र व्यक्तिबाट ठगीमा परेका पीडितले प्रहरीमा गएर ठगीको मुद्दा हाल्न सकिने विभागले जनाएको छ।

कानुनमा इजाजतबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, वैदेशिक रोजगारमा पठाउँछु भनी झूटो आश्वासन दिएमा वा प्रलोभन देखाई रकम असुली गरेमा ३ देखि ७ वर्षसम्म कैद सजाय र ३ लाखदेखि ५ लाख रुपैयाँसम्मजरिवाना गरिने व्यवस्था छ।

वैदेशिक रोजगार गई अलपत्र परेमा पीडितसँग लिएको रकमको ५० प्रतिशत हर्जानासहित विदेश जाँदा आउँदासम्मको खर्चसमेत सम्बन्धित व्यक्तिले दिनुपर्ने कानुनी व्यवस्था छ। अधिकांश पीडितले उक्त कानुनी व्यवस्थाअनुरूप न्याय पाउन सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.