संखुवासभामा साहसिक यात्रा गर्ने सपना
संखुवासभामा साहसिक यात्रा गर्ने सपना
विराटनगर : ‘म त गाडी चढ्न पो काठमाडौं आएको हुँ, यतै पो अल्झिएँ’, हाँस्दै सन्तोष राई सुनाउँछन्।
संखुवासभा जिल्लाको सिबुवामा जन्मेका उनी व्यावसायिक साइकिलिस्ट हुन्। उनी काठमाडौं हिँड्ने वेला संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीसम्म पनि सवारीसाधन पुगेको थिएन। उनी जन्मेको गाउँले सडक देख्नै बाँकी थियो। गाडीको हर्न बज्नै बाँकी थियो।
गाउँमा यातायातको अभाव खड्किएका कारण पनि गाडी चढ्ने हुटहुटीले धनकुटाको हिले पुगेका सन्तोष रहरै रहरले काठमाडौं हान्निए।
१५ वर्षको उमेरमा काठमाडौं पुगेका सन्तोषका लागि संघर्षको मैदानमा अवसरको गल्ली उत्तिकै साँघुरो थियो। यद्यपि जिन्दगीको आरोह अवरोहसँग नडगमगाई उनले सफलताको गन्तव्य भेट्न पाइला अगाडि बढाइरहे।
उनले उच्च शिक्षा हासिल पनि गरेका छैनन्। दश कक्षासम्मको अध्ययन गरेर पढाइ यात्रालाई बिट मारेका उनले अनुभवको आधारमा आफूले काम गरिरहेको सुनाउँछन्।
‘काठमाडौंमा धेरै दुखः गरेँ, पढ्नलाई पुनः गाउँमै फर्किएँ तर एसएलसी पनि पास गरिनँ’,उनी विगत सुनाउँछन्,‘त्यो समय सिबुवालीको झैझगडा अहिले कथन बनेको छ, साथीभाइको संगत त्यसैले स्कुलबाट रेष्टिकेट भएँ। सबैका अगाडि फटाहाको ट्याग लाग्यो। यसपछि म काठमाडौंमा आएँ।’
र्याफ्टिङबाट सुरु भयो ‘करियर’
उनका जेठा दाइ काठमाडौंमा बस्थे। उनीसँगै काम गर्ने अवसर नपाएका पनि होइनन् तर उनको अध्ययन कम भएकाले कति कुरा नबुझ्दा काममा बाधा भएको अनुभव उनीसँग छ। बाँच्नका लागि दाजुसँगै गलैँचा बुन्ने गरेको अनुभव पनि उनीसँग छ। दुखःसुखका तगारा पन्छाउँदै अघि बढेको उनको यात्रा केही समय र्याफ्टिङमा पुगेर अल्झियो। अर्थात् र्याफ्टिङ चालकको रूपमा काम गर्न सुरु गरे। उनलाई यो क्षेत्रमा प्रवेश गराउने मुख्य भूमिका मनीष राईले गरेको उनी सुनाउँछन्।
‘काठमाडौंमा धेरै दुख गरेँ, त्यसको भनेर साध्य नहुँदो हो, संघर्षरत यात्रामा मैले दाइ मनीष राईको साथ पाएँ’‚ उनले सुनाए, ‘मैले र्याफ्टिङ चालकको तालिम लिएँ, त्यसमा पास गरेपछि झण्डै तीन वर्ष यसै क्षेत्रमा काम गरेँ।’ त्यहीबाट पर्यटन क्षेत्रमा रहेर काम गर्ने इच्छा जागेको उनी सुनाउँछन्।
विदेश जाने सपना कहिल्यै जागेन
गाउँले परिवेशमा हुर्किएको उनको जीवन सुखको अनुभूति गर्न साथै स्वर्णिम भविष्य निर्माण गर्न कुनै समय उनले लाहुरे बन्ने सपना पनि सजाए तर लाहुरे हुन चाहिने तौल नहुँदा उनको सपना बीचैमा तुहियो। त्यो दिनदेखि पल्टने सपना त्यागेर नेपालमै बसेर केही गर्छु भन्ने उनले सोच बनाएका थिए।
लाहुरे सपना त्यागेका सन्तोषका गाउँका कतिपय साथीभाइ रोजीरोटीका लागि वैदेशिक रोजगारीमा कतार, दुबई गए। उनलाई भने कहिल्यै परदेशिने रहर नजागेको सुनाउँछन्।
‘त्यो समय गाउँमा विदेश जानुपर्छ भन्ने थियो, कतिपय साथीभाइ गए पनि तर मलाई परदेशिनु थिएन’, उनले भने,‘मलाई नेपाल नै प्यारो लाग्छ, यहाँको माटो प्यारो छ। त्यसैले यहीँ केही गर्छु भनेर काठमाडौं खाल्डोमा दुःख गरेको हुँ।’
विदेशी पाहुना घुमाउँदै ‘साहसिक यात्राको अनुभव ’
कामले काम सिकाउँछ भने जस्तै उनले काम गर्दै जाँदा विदेशी पाहुना घुमाउने र त्योसँगै ठाउँ हेर्ने अवसर पाएका थिए। हरेक यात्रामा साहसिक यात्राको अनुभव सँगालेको बताउने उनी त्यसपछि माउण्टेन बाइकमा आबद्ध भएर काम सुरु गरे।
त्यसो त उनी साइकिलिङमा प्रयोग हुने स्कट बाइसाइकलको डिलर पनि लिएका छन्। उनले यो ब्राण्ड देशैभरका साइकल व्यवसायी समक्ष पुर्याउँदै आइरहेका छन्। जाइन बाइसाइकल माउण्टेन बाइक वर्कशप, बिक्रीवितरण मात्रै गर्दैनन् उनी हिमालयन सिंगल ट्रयाकका सञ्चालक समेत हुन्। साइकिलिङका प्रशिक्षकसमेत रहेका उनले आफ्नो कम्पनीबाट धेरै जना व्यावसायिक साइकिलिस्ट र गाइड उत्पादन गरेका छन्। तीनवटा भाषा राम्रोसँग बोल्न सक्ने उनी शिक्षा अति आवश्यक भए पनि अनुभव सबैभन्दा बलियो प्रमाणपत्र रहेको उनको बुझाइ छ। एउटा विषयलाई हजार कोणबाट काम गर्न सके सफलताको बाटो भेटिने उनी सुनाउँछन्।
‘म यो क्षेत्रमा प्रवेश गर्नु त्यति सहज थिएन, धेरै संघर्ष गरेको छु। मिहिनेत र लगनशीलता हुनु जरुरी छ र निरन्तरता पनि आवश्यक छ’, उनी भन्छन्, ‘साइकल मेरो ‘प्यासन’ थियो। म अन्तरराष्ट्रिय रेसर पनि हुँ।’
उनको खेल क्षेत्रमा विदेशी माटो हुँदै नेपालमा पनि योगदान रहेको छ। ४ वर्षसम्म इजराइलबाट गेम खेलेका उनी स्पेनमा माउण्टेन बाइकिङबाट काम गर्दै नेपालमा एशियन गेम खेल्न आएका थिए।
त्यसयता नेपालमा नै केही गर्ने सोचले गाउँमा आफ्नो भोगाइलाई रचनात्मक ढंगले प्रयोगमा ल्याएको बताउने उनी ब्रिटिस क्याम्पमा पनि ट्रेनिङ गर्ने र आफैँ पनि तालिम लिने गरेको बताउँछन्। उनी भन्छन्, ‘अरूलाई तालिम दिँदा आफूले पनि धेरै सिकिन्छ।’
‘साइकिलिङमा सम्भावना धेरै छ’
साहसिक यात्रामा जोखिम जति अवसर पनि उत्ति नै रहेको उनको अनुभव छ। यसलाई सही तरिकाले सदुपयोग गरे आम्दानीको स्रोतको माध्यम पनि राम्रो हुने उनी बताउँछन्।
‘इन्धन बचाउन साइकल चढौँ स्वस्थ्य रहौँ’ भन्ने मूल मन्त्रका साथ साइकिलिङ क्षेत्रमा होमिएका उनी नेपालको सबैभन्दा धेरै व्यावसायिक साइकिलिस्ट आफ्नो कम्पनीबाट उत्पादन गर्छन्।
‘यो क्षेत्रलाई चिन्न सके, आम्दानीको स्रोतसँगै स्वास्थ्यका लागि पनि फाइदा छ, नेपालको सबैभन्दा धेरै व्यावसायिक गाइड र साइकिलिस्ट हाम्रो कम्पनीले उत्पादन गरेको छ‘, उनले भने, ‘त्यसो त कति रेसरलाई हामीले स्पोन्सर पनि दिने गर्थ्यौं तर अहिले आर्थिक तरलताले मौन छौँ।’
जन्मभूमिमा साइकल लिएर पुग्ने इच्छा
भौगोलिक र प्राकृतिक हिसाबले सुन्दर संखुवासभा जिल्ला साहसिक यात्राका लागि सम्भावना बोकेको स्थान रहेको उनले बताए। संसारको सबैभन्दा होचो अरुण उपत्यका र मकालु बेस क्याम्पले गर्दा पनि साइकिलिङका लागि धेरै उचित स्थान रहेको उनको बुझाइ छ।
२२ वर्षदेखि आफू जन्मेको भूगोल छोडेर काठमाडौंका ठमेलमा व्यवसाय गर्दै आएका उनी अब आफू जन्मेको गाउँ हुँदै मकालु बेस क्याम्पसम्म साइकिलिङ गर्दै पुग्ने इच्छा रहेको बताउँछन्।
‘संखुवासभामा साहसिक यात्राको निकै सम्भावना छ, म नेपालको सबैजस्तो ठाउँमा माउण्टेन रुट पहिल्याँदै पुग्छु, अपर मुस्ताङको रुट त्यहाँको जनसंख्या, खानपिन, वातावरणको रिसर्च गर्दै माउण्टेन बाइकिङको टुर गर्ने हाम्रो कम्पनी हो’, उनले भने, ’संखुवसभालाई जोड्न मकालु हिमाल, वरुण राष्ट्रिय निकुञ्ज सबै छ।’ यो व्यवसायलाई स्थानीय सरकारले पनि चासोको विषयमा राख्नुपर्नेमा उनले जोड दिए।
प्लेनबाट देखेको कम्पनी खोल्ने सपना
कहिले अक्करे भीरको बाटो त कहिले खोल्साखोल्सीमा साइकलको पाङ्ग्रासँगै गन्तव्य खोज्दै हिँड्ने सन्तोष यो क्षेत्रमा प्रवेश गर्ने कल्पना पनि गरेका थिएनन् तर यही पेसा उनको लागि जीवन बनेको छ। कुनै समय रहरसँगै बाध्यताले डोर्याएर परदेशी माटोमा पुगेका सन्तोष नेपाल फर्कँदै गर्दा प्लेनको झ्यालबाट देखिएको दृश्यले कम्पनी खोल्ने सपना सजाएका थिए।
कुनै समय पैसा कमाए कम्पनी खोलेर पर्यटन क्षेत्रमा केही गर्ने उद्देश्य राखेका उनले साँझ प्लेनबाट हेर्दा अस्ताउँदै गरेको सूर्यले पहेँलै पारेर हिमाललाई ढाक्दा देखिएको दृश्यले व्यवसायको धारणा ल्याएको उनले बताए। त्यसैलाई आधार बनाए हिमालय सिंगल ट्र्याक नाम दिएर कम्पनी स्थापना गरेको उनले सुनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।