|

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताएका छन्। 

शुक्रवार काठमाडौंमा आयोजित दृष्टिविहीनका लागि व्यावसायिक सीप विकास र प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सिटिभिटीसँग सहकार्य गरी सरकारले नेत्रविहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउन सक्ने नेत्रहीनले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताए। उनले नेत्रहीनका लागि कस्ता सीप दिने भन्नेबारे विस्तृत छलफल गर्न आवश्यक देखिएको पनि बताए।

उनले भने, ‘सिटिभिटीले सीप परीक्षण गर्छ। सीप परीक्षण गर्ने क्रममा उहाँहरूलाई अलि सहजीकरण गर्नुपर्ने हो कि? नीति प्रक्रियामा। सीप परीक्षणमा अरूलाई भन्दा फरक किसिमबाट गर्नुपर्छ। त्यसैअनुसार उहाँहरूले रोजगारीको बजार पाउने व्यवस्था गर्नुपर्छ।’

कार्यक्रममा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यावसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रममा दृष्टिविहीनलाई नसमेटिएको बताए। उनले सीपबिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रममा समेट्नैपर्ने जरुरी रहेको बताए। दृष्टिविहीनले गरिरहेका कामको सरकारी निकायबाट प्रमाणित गर्ने काम नभएकोप्रति गुनासो गरे।

उनले भने, ‘अहिले जुन व्यावसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रममा दृष्टिविहीनको सवाल त्यति समेटिएको छैन। त्यसमा समेटिनुपर्छ। सीपबिना गुजारा हुँदैन। सीप भएपछि धेरै अवसर हुन्छन् भनेर पहल गरेका हौँ, यो पहल गरेको धेरै वर्ष भयो, अहिले शिक्षा मन्त्रालयले उद्योग सीप विकासको रणनीति बनाएको छ, त्यसमा दृष्टिविहीनलाई समेट्ने काम भएको छ। यो कार्यक्रम शिक्षा मन्त्रालयको र नेत्रहीन संघ लगायतको संयुक्त पहलमा आयोजना गरिएको हो। हामी सबै मिलेर व्यावसायिक सीप विकासको प्रवर्धनमा लाग्नुपर्छ। दृष्टिविहीनले गरिरहनुभएका कामको सर्टिफाइ गर्ने काम भएको छैन।’

कार्यक्रममा अन्य वक्ताले सीप विकाससँग सम्बन्धित काममा तीन तहका सरकारबीचको समन्वय, संघीय मन्त्रालय र निकायबीचको समन्वयका साथै सीपविकासको पाठ्यक्रम र सीप परीक्षणलाई कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.