|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता स्वार्थका लागि राष्ट्रपति संस्थालाई दुरुपयोग गरिएको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले सत्ता स्वार्थका लागि नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिलाई दुरुपयोग गरिएको बताएका हुन्। 

‘यत्रो दिन किन नागरिकता विधेयक प्रमाणीकरण गर्नुपरेन र भारत भ्रमणको एक दुई घण्टा अगाडि  कसको स्वार्थका लागि नागरिकता विधेयक प्रमाणीकरण गरियो? राष्ट्रपति भन्ने संस्थाले सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको छ,’ उनले भने। 

अध्यक्ष लिङ्देनले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिएको विषयमा समेत आपत्ति जनाए। उनले एकजना व्यक्तिलाई छोडेर समग्र विधि र पद्धति माथि नै प्रश्न उठाउने काम भएको बताए। 

‘आम माफीको विषयमा पनि प्रश्न उठाउन चाहन्छौँ। तीनवटै अदालतले दोषी ठहर गरे पनि मन्त्रिपरिषदको सिफारिसमा माफी दिँदा कस्तो नजिर बस्छ? हामी कुनै एउटा व्यक्ति जेल जानु र छुट्नुसँगको कुरा गरिरहेको छैनौँ। समग्र विधिको कुरा गरेका छौँ। हामीले देशलाई कुन बाटोमा हिँडाउँदै छौँ,’ उनले भने। 

अध्यक्ष लिङ्देनले भारतको नयाँ संसदमा अखण्ड भारतको नक्सामा नेपालको भूमि समेटेको र त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणका क्रममा उठान नगरेकोमा आपत्ति जनाए। उनले प्रधानमन्त्री प्रचण्डले रोष्टममा उभिएर जवाफ दिनुपर्ने बताए। 

‘भारतले नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राखियो। त्यसमा नेपालको भूमि पनि राखिएको छ। त्यसबारेमा उहाँले के कुरा उठाउनुभयो? जबसम्म उहाँले रोस्टममा आएर यस विषयमा स्पष्ट पार्नुहुन्न तबसम्म सदन अगाडि चल्न सक्दैन,’ उनले भने। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.