|
फाइल तस्वीर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन्। उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने बताए।

उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको स्पष्ट पारे। सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताए।

सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे। उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे।

उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरू बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे। उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे।

सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन्। त्यसैगरी उनले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडि नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा वृहत् छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए।

 त्यस्तै आफूहरू जन्मसिद्ध नागरिकहरूले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरू छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.