|

काठमाडौँ : नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ।

बिहीवार काठमाडौंको नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा प्रतियोगिता शुरु भएको हो। साथै माउण्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप पनि शुरु भएको आयोजकले जनाएको छ।

आज एक कार्यक्रमबीच उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले गरे। उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुनेछ।

योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बङ्गलादेश गरी तीन देशका खेलाडी सहभागी छन्। स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ।

८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

यसैगरी माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुने भएको छ। यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.