|

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नरहेको विपक्षी दलको भनाई छ।

नीति तथा कार्यक्रम कार्यान्वयन नै हुन नसक्ने भएकोले यसको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको  विपक्षी गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले  प्रतिक्रिया दिएका छन्।  

अल्पमतमा परेको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने अवस्था रहेको कारण यसमा टिप्पणी आवश्यक नभएको उनीहरुको भनाई थियो।

माओवादी केन्द्र

संविधानलाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन्। कोशी प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका आङ्बोले संविधानको धारा १८४ लाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको जिकिर गरे।

यसखालको नीति तथा कार्यक्रमले प्रदेशवासीको अपेक्षा पनि पूरा गर्न नसक्ने बताउँदै उनले कार्यान्वयनमा नजाने नीति तथा कार्यक्रमले नयाँ या पुरानो के ल्यायो भनेर हेर्नुपर्ने कुनै अवस्था नरहेको प्रतिक्रिया दिए।

नेपाली काँग्रेस

नेपाली काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने दावी गरे। नीति तथा कार्यक्रम निबन्ध जस्तो रहेको प्रतिक्रिया दिँदै उनले सबै १५ दिनमै प्रदेशमा आमूल परिवर्तन होलाजस्तो ल्याएको बताए।

बजेटको अवस्था एकातिर रहेको बताउँदै उनले भने, ‘अर्कोतिर यो सरकार अल्पमतमा छ। सायद भरे १२ बजेसम्ममा प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुहोला।’ १५ दिनका लागि नीति तथा कार्यक्रम नल्याएको भए हुने बताउँदै उनले भने,‘ यसमा खास नौलो कुरा केही छैन। उहाँहरुको घोषणापत्र जस्तो पनि छ।’

एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले अल्पमतमा परेको सरकार रहेकोले यो कार्यक्रम पास नहुने बताए।

चन्द्रमामा मान्छे पुर्‍यायो भने मान्छे बाँच्छ बाँच्दैन होला भन्ने जस्तो बहसको अर्थ नरहेको बताउँदै उनले त्यस्ता विषयहरू कार्यक्रममा रहेका भए पनि सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास नै नहुने भन्दै यसको कुनै अर्थ नरहेको प्रतिक्रिया दिए। उनले भने, ‘अर्को नीति तथा कार्यक्रम बन्छ। यो समय कटनी मात्रै हो।’

के भन्छ सत्ता पक्ष?

सरकारले संसदको अधिवेशन अन्त्य गर्नेभन्दा पनि स्वाभाविक ढंगले नीति तथा कार्यक्रम ल्याएको र छलफल गरेर पारित हुने नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले विश्वास व्यक्त गरे ।

सामान्य परिस्थितिमा बाहेक बजेट संसदबाटै ल्याइने बताउँदै उनले भने, ‘मधेश प्रदेशमा एमालेले सरकारलाई समर्थन दिएको कारण कोशी प्रदेशमा पनि जे हुनसक्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.