|

विराटनगर : अल्पमतमा परेका मुख्यमन्त्रीले पहिले विश्वासको मत लिनुपर्नेमा कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांदहरूले जोड दिएका छन्।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन्।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिए। प्रदेशसभामै बजेट ल्याउनुपर्नेमा जोड दिँदै उनले अध्यादेशको बाटोमा नजान आग्रह समेत गरे।

नेपाली काँग्रेसका सांसद केदार कार्कीले समर्थन गुमाइसकेको सरकारले प्रदेश प्रमुखलाई ल्याएर वाचन गर्न लगाउनु संसद् र प्रदेश प्रमुखको अपमान गरेको बताए।

उनले बजेट नल्याई बजेट अधिवेशन अन्त्य गर्न नहुने बताउँदै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन अझै समय रहेको बताए।

उनले मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिएर पर्सि बजेट ल्याउने समय रहेको जिकिर गरे।

‘दिउँसो मात्रै नभएर राति पनि जनताको विषयमा छलफल गरौंला, बहस गरौंला, बजेट ल्याउन पनि असार १ गते १२ बजेसम्मको समय छ। मुख्यमन्त्रीलाई म भन्छु– हिम्मत गर्नुहोस्। हिम्मत छैन भने छोडिदिनुहोस्’, उनले भने, ‘तपाईंले गरेको गल्ती सदर गर्न सांसदहरू साक्षी बस्न सक्दैनन्।’

उनले सभामुखबाट विश्वासको मत लिन सरकारलाई रुलिङ गर्नुपर्ने जिकिर पनि गरे।

राप्रपा संसदीय दलका तर्फबाट बोल्दै सांसद अम्बरबहादुर विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए।

कोशी प्रदेशसभामा दलहरूका तर्फबाट सम्बोधन गर्ने क्रममा नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास नहुने आशंका बढेकाले बजेट ल्याउने विषयमा अर्को बाटो अपनाउन सक्ने बताए।

बहुमत स्थापित गर्न सकिए संसदबाट बजेट ल्याउने बताउँदै उनले भने, ‘होइन भने अर्को बाटोबाट भए पनि ल्याइन्छ। अब नीति तथा कार्यक्रम पारित नहुने आशङ्का उत्पन्न भयो।’

उनले विशिष्ट खालको परिस्थितिमा आएको नीति तथा कार्यक्रम पास गर्ने बताए। उनले मुख्यमन्त्रीले आज राजीनामा दिएको खण्डमा अर्को सरकार गठन भएर संवैधानिक व्यवस्थानुसार असार १ गते बजेट ल्याउन सम्भव नहुने बताए।

यसअघि विपक्षीले आजै विश्वासको मत लिएर मात्रै वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिए। भण्डारीले अध्यादेशबाट बजेट ल्याउँदा अवैधानिक नहुने भन्दै संवैधानिक बाटोबाटै बजेट आउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.