|

काठमाडौं : सरकारले प्रत्येक वर्ष चिकित्सा शिक्षाका विभिन्न विधामा सरकारी छात्रवृत्तिमा विद्यार्थीलाई पढाउँदै आएको छ।

चिकित्सा शिक्षातर्फ सरकारी छात्रवृत्तिमा स्नातकोत्तर तहमा एमडी/एमएस तथा एमएस्सी‚ एमपीएच र एमएस्सीआईटी नर्सिङ जस्ता स्वास्थ्यसम्बन्धी विधामा सरकारले छात्रवृत्तिमा अध्यापन गराउँदै आएको छ। 

यीमध्ये छात्रवृत्तिमा एमडी एमएस अध्ययन गरेका चिकित्सकलाई अध्ययनपछि सेवा पोष्टिङको दरबन्दी सहज रूपमा मिलाएर खटाउन सरकारलाई सजिलो भए पनि एमएस्सी, एमपीएच, एमएस्सीआईटी, नर्सिङ तथा एम फर्मा जस्ता विधामा अध्ययन गरेकाहरूलाई भने छात्रवृत्ति करारनामाअनुसार पोष्टिङ गर्न सकेको छैन।

यसरी एमडी एमएस बाहेक विधामा अध्ययनरत १६२ जनालाई सरकारले छात्रवृत्ति करारनामाअनुसार पोष्टिङ गर्न नसकेको हो। अध्ययन चिकित्सा शिक्षा आयोगको माध्यमबाट हुने भए पनि सेवामा खटाउने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो। तर सरकारी कोटातर्फबाट छात्रवृत्ति पाउनेले अध्ययनपछि आफ्नै दरबन्दीमा पोष्टिङ भए पनि खुलातर्फबाट छात्रवृत्ति पाएर आउने आयुर्वेद, एमडिएमएस र एमएसबाहेक अन्य विद्यार्थीहरूलाई पोष्टिङ गर्न समस्या भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चिकित्सा शिक्षा आयोगको माध्यमबाट पहिलो र दोस्रो ब्याचका ६४१ मध्ये नेपाल सरकारका तर्फका १९४ र खुलातर्फका ४४७ जनाले स्नातकोत्तर पास गरेका थिए। तर हाल खुलातर्फको छात्रवृत्तिमा अध्ययन गरेका १६२ जनालाई पोष्टिङ गर्ने स्थान तथा पारिश्रमिकका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बजेट नहुँदा उनीहरू छात्रवृत्ति अध्ययन गरेपछि गर्नुपर्ने सेवा गर्नबाट वञ्चित भएका हुन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार एमडी एमएसमा सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरू अध्ययनपछि आफ्नै दरबन्दीमा काम गर्न जाने भए पनि यस बाहेकका विषयमा अध्ययन गरेकाहरूका लागि समस्या भएको बताउँछन्।

उनका अनुसार मन्त्रालयले व्यवस्थापन गर्न नसकेका जनशक्तिमा एम फर्मा गरेका १३ जना, नर्सिङ ७६ जना, एमपीएच ५८ जना, एमफिल ३ जना, एमएस्सी ७ जना र एमएस्सीआईटी ५ जना रहेका छन्।

यो संख्या चिकित्सा शिक्षा आयोग गठन भएपछि छात्रवृत्तिमा अध्ययन गरेकाहरूको संख्या हो। यही अवस्थामा गए आगामी वर्षमा यो संख्या थप थपिदै जाने देखिन्छ।​

जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. पौडेल एमडी एमएस बाहेकका विधामा छात्रवृत्तिमा अध्ययन गरेकाहरूलाई सेवामा खटाउन हाल दरबन्दीका साथै आवश्यक स्रोत नभएको बताउँछन्।

‘एमडी एमएसमा अध्ययन गरेकाहरू अध्ययनपछि आफ्नै दरबन्दीमा पुगेर काम गर्नुहुन्छ तर यसबाहेकको विधामा अध्ययन गरेकालाई अहिले समस्या भइरहेको छ। उनीहरूका लागि दरबन्दी पनि छैन। दरबन्दी नभएपछि आवश्यक स्रोत नहुने भयो। त्यसले गर्दा समस्या भइरहेको छ’‚ डा. पौडेलले भने ‚‘छात्रवृत्तिमा अध्ययन गरेपछि सेवामा लगाउन नपाइरहेका वेला छुट्टै कार्यविधि बनाएर सेवामा खटाउने तयारी पनि भइरहेको छ।‘

छात्रवृत्तिमा अध्ययन गरेकाहरूले अध्ययनपछि दुई वर्ष सरकारले खटाएको स्थानमा पुगेर सेवा दिनुपर्ने हुन्छ। छात्रवृत्तिमा अध्ययन गरी दुईवर्षे करारनामा विद्यार्थी खटाउँदा सरकारको ७३ करोड ३६ लाख ६३ हजार ७७७ खर्च हुने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.