|

अचेल मलाई के लाग्न थालेको छ भने मैले पुस्तकलाई माया गरेँ भने पुस्तकले पनि मलाई माया गर्छ। मैले पुस्तक पढ्न मन गरेँ भने पुस्तकले पनि मलाई पढिदेओस् भन्ने चाहन्छ।

यो सोच्दा म आफैँ छक्क पर्छु र रोमान्चित् हुन्छु- के साँच्चै पुस्तकमा पनि ज्यान हुन्छ? चेतना हुन्छ? पुस्तकमा ज्यान हुन्छ होला र त त्यसले मलाई जिउँदो बनाउँछ? पुस्तकमा पनि चेतना भन्ने तत्व हुन्छ होला र त त्यसले मलाई चेतनशील बनाउँछ। जोसँग जे छैन, त्यो अरूलाई उसले कसरी दिन्छ नत्र? जुन चिज मसँग छैन, त्यो चिज अरूलाई म कसरी दिन सक्छु? जुन आफू छैन, त्यस्तै अरूलाई कसरी बनाउने मैले?

पुस्तकमा ज्यान पनि छ र चेतना पनि छ र त पुस्तक मेरो नजिकको साथि बन्न सकेको छ।

बहुलाएछ नभन्नुहोला, पुस्तकसँग म दोहोरो सम्वाद गरिरहेको हुन्छु, घण्टौँसम्म। त्यति लामो सम्वाद त भर्खरै लभ परेका प्रेमी-प्रेमिकाहरूको बीचमा मात्र हुन्छ होला।

सुन्छु र पढ्छु, मैले हप्तादिन लगाएर पढेको पुस्तक केही मानिसले केही घण्टाभित्रै एउटै बसाइमा चाटचुट पारेर पढी सिध्याउछन् अरे। मैले महिनौँमा पढी नभ्याएको पु्स्तक केहीले दुई-चार दिनमै पढिसक्छन् अरे। 

कतिले किताब हातमा लिनेबित्तिकै झ्याउ लागेर आउँछ भन्छन्। मलाई चाहिँ अहिलेसम्म त्यस्तो भएको छैन धन्न। त्यसैले, झ्याउ लागेर पढ्न नसकेको होइन मैले। बरु त्यसको उल्टो, मेरो केसमा प्रत्येक पानालाई प्रेमिकालाईझैँ च्याप्पै अङ्गालीराख्ने र छाड्नै नचाहने बानीले गर्दा पढ्न नसकेको हुँ जस्तो लाग्छ। कुरो बिग्रेकै पुस्तकभित्र छिरेपछि त्यसबाट निस्कन सितिमिति नसक्ने मेरो कमजोरीले गर्दा हो।

मान्छु म उनीहरूलाई र बधाई पनि दिन्छु। छक्क पर्छु, कसरी सकेका होलान्?

यो चाहिँ किताब आजै पढिसक्छु भनेर पढ्न सुरु गरेँ भने कतातिर कुन पेजमा हो पुगेर ट्याक्कै अड्किँदोरहेछु, पत्तै पाउदिनँ। र घन्टौँसम्म त्यसैमा अल्झिँदोरहेछु।

कतै यो मानसिक गडबडी त होइन मेरो? हो-होइन डाक्टर र मनोविद साथिहरू नै जानुन् !

अप्ठेरो त कहिले पर्छ भने, जब म कुनै साथीकहाँ वा आफन्तकोमा जान्छु, ऱ्याकमा वा टेबुलमा किताब देख्छु, लोभिन्छु, मन थाम्न सक्दिनँ र भन्छु, ‘मलाई पनि पढ्न देऊ है यो किताब।’

दिन्छन् पनि धेरैजसोले त, तर तु फर्काउने अघोषित सर्तमा। किनभने कतिपय अवस्थामा उनीहरूले पढ्न भ्याएकै हुँदैनन्।

कसैले भर्खरै किनेर ल्याएका हुन्छन्, कसैले भर्खरै पढ्न सुरु गरेका हुन्छन् र कतिले आधाउधी पढिसिध्याएका हुन्छन्। जसले पढ्न भनेर ल्याएको किताब पढ्न सुरु नगर्दै वचन हार्न नसकेको भरमा अर्कोलाई दिई पठाउँछ, त्यसो गर्नु भनेको आफूले खान ल्याएको आइसक्रिम चाख्दै नचाखी डिब्बैसमेत अरूलाई दिई पठाउनु जस्तै हो, खाएर फर्काइदेऊ भनेर। लैजानेले फर्काउँछ कि फर्काउन्न के थाहा?

तर, मैले एउटा राम्रो सिस्टम बसालेको छु पहिल्यैदेखि, अर्थात् करिब २० वर्ष पहिलेदेखि। मैले कोबाट कुन किताब कहिले ल्याएँ र पढेर कहिले फर्काएँ भन्ने रेकर्ड राखेको छु। त्यसैगरी, आफूसँग भएको किताब कसलाई कहिले दिएँ र कहिले फिर्ता पाएँ भन्ने पनि रेकर्ड राखेको छु।

यसबाट मलाई सजिलो भएको छ। र अर्को कुरो, त्यो बेलादेखि नै, मैले कुन किताब कुन स्रोतबाट पाएँ र कहिले पढी सिध्याएँ भन्ने रेकर्ड पनि राखेको छु। यसमा खासगरी किनेका र उपहारस्वरूप पाएका पुस्तकहरू पर्छन्। यी सब गर्नुको आवश्यकता किन पऱ्यो भने, पढेका पुस्तकहरूको संख्या बढ्दै जाँदा पहिले पढेका पुस्तकहरूको नाम बिर्सिंदै गइँदोरहेछ।

उदाहरण नै दिन्छु : एकदिन बिपीको ‘बाबु, आमा र छोरा' भन्ने पुस्तक ल्याएँ, आफन्तकहाँबाट। जब पाना पल्टाउन थालेँ, लाग्यो यो किताब त मैले पढिसकेको छु। जब कि त्यो निकै चर्चित किताब हो। त्यति चर्चित किताबमा त मेरो स्मरण शक्तिले काम गरेन र चिप्लिन गयो भने अरूमा के होला? बुढ्यौलीले ङ्याक्दै जानाले पनि स्मरण शक्ति कमजोर हुँदै जाने क्रम बढ्दोरहेछ।

यी सब तरिका अपनाएको हुनाले अब चाहिँ ढुक्क छु। एकदिन खसखस लाग्यो : हेरौँ न त कति पु्स्तक पढिएछ रेकर्ड राख्न थालेदेखि अहिलेसम्ममा। पाना पल्टाउन लहड चल्यो। संख्या हेरेर निराशा मात्र हात लाग्यो। म निराश किन भएँ भने, रेकर्ड राख्न थालेदेखि, अर्थात् माघ २०५९ देखि अहिलेसम्म, अर्थात् माघ २०७९ सम्म, यो २० वर्षमा, जम्माजम्मी करिब ८०० पुस्तक मात्र पढिएछ। सालमा सालाखाला ४० पुस्तक। अनि महिनामा जम्मा ३ वटा। हैट, के पढाई भो र!

मान्छे ३-४ वटा त हप्ता दिनमै पढ्छन् र फेसबुकतिर फोटो टाँस्न भ्याउँछन् कफीको बाफ उठिरहेको कपसहित। किताब र कफिबीच सायद एउटा नजानिँदो सम्बन्ध हुँदोहेछ क्यार ! म पनि तात्तातो कफीको चुस्की लिँदै किताब पढ्न मन पराउँछु। कतै पढेको वा सुनेको छु : कफीमा भएको क्याफिनले हाम्रो मस्तिष्कको नसा अलिकति फुलाइदिन्छ रे, रगतसँगै अक्सिजनको मात्रा अलिकति बढ्न जान्छ रे, र मस्तिष्कले ताजापन महसुस गर्छ रे।

कफी खानुको अर्को एउटा फाइदा पनि छ, त्यो के भने किताब पढ्दा वा अरू कुनै काम गर्दा निद्रा लाग्ने जुन समस्या छ, त्यसलाई यसले कम गर्छ। यसमा म रे जोड्दिनँ, किनभने यो मेरो प्रत्यक्ष अनुभव हो। धेरै वर्ष अगाडि इन्जिनियरिङ पढ्दा सिमेस्टरभरि अल्छी मानेर थन्क्याएको काम अन्तिममा जाँच आउने बेलातिर रात-रातभर नसुतीकन गर्नुपर्दा सबभन्दा गतिलो साथ त्यतिबेला कफीले नै दिन्थ्यो। पढ्ने बेलामा वा ड्रइङ गर्ने बेलामा मलाई चाहिएको औषधि नै त्यही थियो।

कतिले किताब हातमा लिनेबित्तिकै झ्याउ लागेर आउँछ भन्छन्। मलाई चाहिँ अहिलेसम्म त्यस्तो भएको छैन धन्न। त्यसैले, झ्याउ लागेर पढ्न नसकेको होइन मैले। बरु त्यसको उल्टो, मेरो केसमा प्रत्येक पानालाई प्रेमिकालाईझैँ च्याप्पै अङ्गालीराख्ने र छाड्नै नचाहने बानीले गर्दा पढ्न नसकेको हुँ जस्तो लाग्छ। कुरो बिग्रेकै पुस्तकभित्र छिरेपछि त्यसबाट निस्कन सितिमिति नसक्ने मेरो कमजोरीले गर्दा हो।

हुन त पढ्ने भन्ने कुरो पुस्तक मन पर्नु वा नपर्नुमा पनि निकै फरक पर्छ। कतिपयले आफूलाई कत्ति पनि मन नपरेको पुस्तकलाई 'भर्टिकल्ली' पढ्छन्, पाना पल्टाउँछन् र माथिदेखि तलसम्म ठाडै पढ्छन्। अर्कोथरीले मन नपरेको पुस्तक 'डायागोनल्ली' पढ्छन्, पाना पल्टाउँछन् र माथिल्लो पंक्तिको सुरुदेखि अन्तिम पंक्तिको पुछारसम्म एकैपटक सरसर्ति बाकटे पाराले पढ्छन्। बुझ्ने-नबुझ्ने चाहीँ व्यक्तिको आ-आफ्नो खुबीमा भर पर्छ। अर्को एकथरीले आफूलाई ठिकै लागेको किताबको पाना पल्टाउँछन् र सुरुदेखि अन्त्यसम्म इलेक्ट्रोनिक प्रिन्टरको गतिमा आँखा कुदाएर पढ्छन्।

म त्यस्तो केही सक्तिनँ। यस कुरामा म अति नै सुस्त छु। मेरो एउटै गुण भनेको म किताबलाई माया गर्छु, भेदभाव नराखी माया गर्छु। पढेका जति सबै बुझ्छु भनेर दाबी पनि म गर्दिनँ। तर नबुझेको किताबलाई पनि म उत्तिकै माया गर्छु। नबुझिने किताबले ममा झन बढी आकर्षण पैदा गर्छ, आहा, यो किताब पढेर कुरो बुझ्न पाएँ!

त्यसैले म नबुझेको किताबलाई दोहोऱ्याउने जमर्कोसमेत गर्छु। 'नबुझेको किताबलाई त झन् छोड्दै नछोड् जीवन' भनेर मलाई सदबुद्धि दिने श्रद्धेय रूपचनदाइ (स्व. रूपचन्द्र विष्ट) हुन्। यो कुरा मैले मेरा पहिलेका पुराना नोटहरूमा कतै उल्लेख गरिसकेको छु।

दुःखान्त (ट्राजिक) पुस्तकहरूप्रति ममा गहिरो लगाव छ। मलाई लाग्छ त्यस्ता पुस्तकहरू पढेको कारणले पनि होला, मैले दुःख पर्दा मनलाई दह्रो बनाउन सकेको छु। यो मैले अनुभव गरेर आफ्नो लागि मानेको एक किसिमले प्रमाणित जस्तै कुरो हो।

मैले अझै पनि खुट्याउन सकेको छैन, मेरो मन केही मात्रामा बलियो छ भने त्यो दु:खान्त पुस्तकहरू पढेर हो कि आध्यात्मिक पुस्तकहरू पढेर हो? दुःखले मान्छेको मनलाई बलियो बनाउँछ भन्ने कुरा त महाभारतकी पाण्डवकी आमा कुन्तीको सुप्रसिद्ध भनाइलाई शास्त्रीय भनाइको रूपमा लिन सकिन्छ।

उनले भगवान् कृष्णसँग दुःख मागेकी थिइन् आपद-विपदमा मात्र ईश्वरको साथ पाइन्छ भनेर, र भनेकी थिइन्, सुखमा सबैले आफूलाई मात्र सम्झिन्छन्, ईश्वरलाई सम्झिने त दुःखमा मात्रै हो (भागवत\१.८.२५)।

किताब किनेर पढ्ने मामिलामा म ज्यादै कन्जुस छु। वर्षभरिमा गनेर आधा दर्जन किताब पनि सायदै किन्छु होला। रेस्टुराँमा गएर एक छाक खाएको पैसाले लौ त भनूँ भने दुई वा तीनवटा किताब आउँछन्। तर, किताब किन्न मेरो दाँतबाट पसिना बग्छ सधैँ। किन? यसको अर्थ हो, ममा भौतिक शरीरको, अर्थात् अन्नमय शरीरको भोक त छ, तर त्योभन्दा माथिल्लो शरीरको भोक अझै जागिसकेको रहेनछ।

जो मान्छेलाई पुस्तक देख्नेबित्तिकै त्यसप्रति मनमा श्रद्धा रसाउन थाल्छ, उसले जस्तोसुकै पुस्तकलाई पनि माया गर्छ।

म देख्छु, कतिपयले स्थापित प्रकाशन गृहभन्दा बाहिरका पुस्तकतिर आँखै लगाउँदैनन्। स्तर पुग्दैन भन्ने लाग्दोहोला उनीहरूलाई सायद। कतिले व्यक्तिगत सुख-दुःख, अनुभव र भोगाइहरू समेटेर आफ्नै स्रोत-साधनबाट निकालेका पुस्तकहरूप्रति हेयभावले हेर्छन् र भन्छन्, ह्या, आफ्नो अहंको बेलुन फुकाएर दुनियाँलाई देखाउन खोजेको हो क्या !

त्यसो होइन तर। प्रत्येक व्यक्तिको सुख-दुःख, उसको तल-माथि, उसको कष्ट-पीडा, उसको उन्नति-अवनति आदि सबै उसको मात्रै होइन, उसको परिवारको हो, परिवारको मात्रै होइन उसको खानदानको हो, खानदानको मात्रै होइन उसको समाजको हो, उसको क्षेत्रको हो, उसको देशको हो। कतिपय अवस्थामा त त्यो सम्पूर्ण विश्वको हो।

के बुद्धले भोगेका कुराहरू, उनले बोलेका कुराहरू, विश्वका होइनन्? व्यक्तिले भोगेका, त्यसबारे बोलेका, लेखेका कुराहरूको संगालो नै कालान्तरमा गएर इतिहास बन्ने हो।

प्रत्येक व्यक्तिको भोगाइ उसको सम्पत्ति हो। व्यक्ति-व्यक्ति मिलेर समाज बन्ने भएकोले र अन्ततोगत्वा सिङ्गो राष्ट्र बन्ने भएकोले व्यक्तिको भोगाइ राष्ट्रको सम्पत्तिको एउटा अंश हो।

स्थापित प्रकाशन गृहबाट प्रकाशित र व्यक्तिगत पहलमा छापिएका दुवै थरीका कृतिहरू पढ्दा कहिलेकाहीँ मलाई कस्तो लाग्छ भने स्थापित प्रकाशन गृहका प्रकाशनहरू तामझाम र तडकभडकयुक्त हुन्छन्, तिनीहरूको विज्ञापन र मार्केटिङ राम्रो हुन्छ, मिडियामा समीक्षाहरूको ओइरो लागेको हुन्छ र मेचीदेखि महाकालीसम्मै तिनीहरूले बजार पाएका हुन्छन् र त्यत्तिकै मात्रामा पाठकहरूबाट वाहवाही पनि पाएका हुन्छन्।

तर, व्यक्तिगत पहलमा प्रकाशित कतिपय पुस्तकभित्रको विषयवस्तु सशक्त, गहकिला र स्तरयुक्त हुँदाहुँदै पनि तिनीहरू गुमनाम हुन्छन् र पाठकसमक्ष पुग्नसकेका हुँदैनन्। साहित्यिक विधासित सम्बन्धित मिडियाले यता पनि ध्यान दिनुपर्छ। के थाहा, ढुङ्गा भनेर फ्यालिएको वस्तुलाई धोएर पुछपाछ पारेपछि हीरा भएर पो चम्किन्छ कि!  खोज्ने हो भने कतिपय उदाहरण छन् त्यस्ता।

कोभिड सुरु भएदेखि यता मैले व्यक्तिगत पहलमा छापिएका केही पुस्तक पढ्ने मौका पाएँ। श्रीहरि अर्यालको 'बानेश्वरको सेरोफेरो', डा. अवनिभूषण उपाध्यायको 'मुटुसँग सहयात्रा', रामबिन्दु श्रेष्ठको 'मेरा सोभियत सम्झनाहरू', चन्द्रकान्त आचार्यको 'शान्ति र स्वतन्त्रता', विष्णुबहादुर सिंहको 'मौनता : मुक्तक संग्रह', डा. विश्वदीप अधिकारीको 'अन्तर्दृष्टि' आदि विभिन्न स्वादका केही प्रतिनिधि रचनाहरू मात्र हुन्। धेरै छन् त्यस्ता। मैले पढ्न नपाएका त अझ कति होलान् कति !

किताब किनेर पढ्ने मामिलामा म ज्यादै कन्जुस छु। वर्षभरिमा गनेर आधा दर्जन किताब पनि सायदै किन्छु होला। रेस्टुराँमा गएर एक छाक खाएको पैसाले लौ त भनूँ भने दुई वा तीनवटा किताब आउँछन्। तर, किताब किन्न मेरो दाँतबाट पसिना बग्छ सधैँ। किन? यसको अर्थ हो, ममा भौतिक शरीरको, अर्थात् अन्नमय शरीरको भोक त छ, तर त्योभन्दा माथिल्लो शरीरको भोक अझै जागिसकेको रहेनछ।

ममा ज्ञानको भोक अझै जागिसकेको रहेनछ। छ भन्ने ठूलै भ्रम पालेर बसेको रहेछु म। तर मैले पुस्तकलाई माया गरेकैले त होला, पु्स्तक पनि खै कसरी कसरी मेरो हातमा परेकै छन्।

यहाँसम्म कि, कतिले त आफूले अरूबाट मागेर ल्याएको किताब आफूले पहिले नपढी मलाई पढ्न दिएका छन्। धन्य हुन् उनीहरू। उनीहरूप्रति म यति धेरै आभारी छु कि भनिसाध्य छैन !

(१६ मे, २०२३\काठमाडौं\नोटबुकको पानाबाट)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.