|

संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।

बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।

बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा प्रहरीहरू परिचालित छन्।

वर्षाका कारण खोजीमा समस्या भएको प्रहरीले जनाएको छ। घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खोजीमा सक्रिय रहेका छन्। बाढी र पहिरोमा बेपत्ता भएका सङ्खुवासभाका विभिन्न स्थानका २० जनाको अवस्था अझै अज्ञात छ।

बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि सोमबार एक जनाको मात्र शव फेला परेको छ। उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ।

बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना मजदुर छन्। बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर पनि अझै बेपत्ता छन्।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन्। गम्भीर घाइते दुवैको उपचार भइरहेको छ। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको छ।

बाढी पहिरोमा बेपत्ता भएकाहरू

​बेपत्ता हुनेहरुमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सुनसरी इटहरीका सन्तोष ढकाल, चैनपुर नगरपालिका–४  का भुवनसिंह तामाङ,  चैनपुरका सुवास राई, सुपरभाइजर झापा गौराहदहका फैजबहादुर कार्की, धनकुटा पाख्रीबासका गणेश गिरी, इलामका राजकुमार मगर, झापाकी मिना श्रेष्ठ (भान्से), कैलालीका रामजतन थारु, बर्दियाका राहुल थारु, रोहित थारु, पुलसन थारु, कालीराम थारु, राजराम थारु, कैलालीका सुगत थारु, अमर थारु, सिता थारु र सङ्खुवासभा पाँचखपनका दीपक मगर रहेका छन्।

सभापोखरी–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन्। चैनपुर नगरपालिका-१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अपर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।

१७ घरपरिवार विस्थापित 

बाढी पहिरोका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल परेको पानीले आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घर परिवार विस्थापित भएका हुन्।

बाढी पहिराले पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बाढी पहिरोका कारण ११ घर पूर्ण क्षति भएका छन् भने ६ घरमा आंशिक क्षति पुगेको छ। बाढी पहिरोबाट विस्थापित छरछिमेकी र आफन्तको शरणमा बसेका छन्।

बाढी पहिरोका कारण चैनपुर नगरपालिकामा ८ घर, पाँचखपन नगरपालिकामा ४ घर, सभापोखरी गाउँपालिकामा ४ घर र मकालु गाउँपालिकामा एक घरपरिवार विस्थापित भएका छन्।

चैनपुर नगरपालिका-४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचना क्षति भएको हो। बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षति भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.