|

इलाम : गाउँतिर त चिया पिएपछि मात्रै बिहानीको सुरुवात हुन्छ। बिहान उठेर गाउँ डुल्दा देखिने साझा दृश्य स्टिलको गिलासभरि चिया हालेर सुर्की लाउँदै गरेका केटाकेटी, अधबैंसे र वृद्धहरू।

चिसो मौसममा त झन् गाउँका मानिसहरू अँगेनाको छेउमा बसेर सुरुप–सुरुप चिया सुर्काइरहेको दृश्य हेरिरहुँ झै लाग्छ।

सहरी परिवेशमा पनि चियाको प्रभाव उत्तिकै छ। बिहानै उठ्यो, चिया खाऊँ न ! साथीलाई पर्खिनुपर्‍यो, चिया खाएर समय काटौँ न! काम गरेर थाकियो, चिया पिऊँ न ! अर्थात्, प्रायः घटनासँग चिया जोडिन्छ। अन्य पेय पदार्थभन्दा सस्तो र छिटो हुने भएकाले पनि चिया नेपालीको दैनिकी बनिसकेको छ।

साहित्यिक कार्यक्रमदेखि सामाजिक कार्यक्रमसम्म, पिउनका लागि रोजाई नै चिया हो। त्यसैले आजकाल हरेक महत्वपुर्ण भेटघाटको नारा नै हो ‘चियापान’

राजतन्त्र र गणतन्त्रमा चिया

राजा वीरेन्द्रले पूर्व भ्रमण गरेपछि किसानहरूलाई चिया खेती ऋणमा दिने व्यवस्था गरेका थिए। ‘राजा हुँदा चिया क्षेत्रमा धेरै राहत हुन्थ्यो। चिया रोपण, उद्योग स्थापना लगायतका धेरै कार्यमा ५० प्रतिशत अनुदान हुन्थ्यो।’

तत्कालीन निगममा चियाविज्ञका रूपमा काम गरेका चन्द्रभुषण सुब्बा भन्छन् ‘चिया रोपणमा प्रोत्साहन हुन्थ्यो किसानहरूले उत्साहित भएर चिया रोप्न लाग्थे। चियासम्बन्धी सबै क्षेत्रमा कृषि विकास बैंकबाट सरल ब्याजदरमा ऋण उपलब्ध हुन्थ्यो। अहिले चियाले कृषि ऋणसमेत पाउँदैन्’ २०३५ देखि २०४५ को दशकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनको कार्यहरू गर्‍यो।

 २०४६ सालको राजनीतिक परिवर्तनपछि पुर्वका किसानहरू उत्साहित भएर चिया खेतीमा लाग्न थाले। वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो।

बोर्ड स्थापना हुनुअघि देशरभर ११७१ किसानले ५३४.७६ हेक्टरमा चिया विस्तार गरेको देखिन्छ।  आर्थिक बर्ष २०५६÷५७ मा नेपालमा कुल चिया खेती विस्तार १० हजार २ सय ४९ हेक्टरमा थियो। बोर्ड गठन भएपछि २०५० सालदेखि २०६० सालसम्ममा ५४ दशमलव ६ प्रतिशत चिया विस्तार भएको छ।

मुलुक गणतन्त्रमा प्रवेश गरेपछि २०७० सम्म २७ तथा २०७० सालयता १ दशमलव ९ प्रतिशत मात्रै चिया खेती विस्तार भएको चिया तथा कफी विकास बोर्डको तथ्यांकले देखाउँछ।

भारत परस्त बजारले समस्या

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २७ हजार ५ हेक्टरमा चिया खेती हुन्छ। २६ हजार टन (२ करोड ६० लाख केजी) वार्षिक उत्पादन छ।

उत्पादन भएको चिया करिब ९० प्रतिशत बजार अहिले पनि भारतमै निर्भर छ। ३० देशमा नेपालको दूतावास रहे पनि नेपाली चियाको प्रवर्द्धन हुन सकिरहेको छैन्। बर्सेनि भारतले नेपाली चिया निर्यातमा अनेक बखेडा निकाल्ने गरेको छ।

कहिले गुणस्तरीयतामा प्रश्न त कहिले चियाका उच्च मात्रामा प्रेस्टिसाइड भेटिएको भन्दै सिमा नाकाबाट फर्काउँदै आएको छ। ‘जिओग्राफिकल इन्डिकेसन’ (जिआई)मा दर्ता नरहेको, गुणस्तहीन उत्पादन भएको जस्ता बखेडा सधैँ जसो नेपाली चियाले खेप्दै आएको छ।

नेपाली चियाको प्रमुख आयातकर्ता देश भारत हो। भारतले वार्षिक रूपमा आयात गर्ने ३ करोड केजी सिटीसी चियामध्ये १ करोड ५० लाख केजी नेपालबाट निर्यात हुन्छ। नेपाली चिया निर्यातकर्ताहरूले भारतमा आफ्नो बस्तु विक्री वितरणका लागि उनीहरूले कडा क्वारेन्टाइन नियमहरू पालना गर्नुपर्ने गुनासो राख्दै आएका छन्।

जसमा कोलकाताको केन्द्रीय खाद्य प्रयोगशालाबाट परिक्षण स्विकृती प्रमाणपत्र समेत समावेश छ। प्रमाणपत्र ६ महिनाका लागि मात्र मान्य हुने भएको कारण निर्यातकर्ताहरूले पटकपटक समस्या भोग्दै आएका छन्।

नेपाली चियाको अवसर र चुनौती

चिया खेतीमा करीब ११६ वटा नीजि बगान र १५ हजार भन्दा बढि साना किसानहरूका माध्यमबाट ७० हजार बढी प्रत्यक्ष अप्रत्यक्ष रोजगारीमा सम्लग्न रहेका छन्। ३० हजार बढी पूर्णकालीन रोजगारी यस क्षेत्रले प्रदान गर्दै आएको छ।

आम्दानी, रोजगारी र विदेशी मुद्रा आर्जनका दृष्टिले नेपालको एउटा प्रमुख नगदे बालीका रूपमा चिया रहेको छ।  नेपालको सिटिसी चियाको करिब ५० प्रतिशत आन्तरिक बजार तथा ५० प्रतिशत भारतीय बजारमा निकासी हुँदै आएको छ।

अर्थोडक्स चिया स्वदेशी बजारमा करीब ५ देखि ७ प्रतिशतको युरोप, अमेरिका, अष्ट्रेलिया, जापान रसिया, चीनलगायत तेस्रो मुलुकमा पुगेका छन्।  विगत १० वर्षमा नेपाली चियाको निर्यात बजार वार्षिक करिब ७ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ।

अर्थोडक्स चियाको विश्व बजारमा पहिचान स्थापित गरेको छिमेकी देश भारतको दार्जिलिङ चिया र नेपाली अर्थोडक्स चिया उत्पादन भइरहेको भौगोलिक बनावट र हावापानीमा समानता पाइन्छ।

दार्जिलिङको तुलनामा नेपालका चियाहरू यङ बुस भएको कारण उच्चतम प्रविधि प्रयोग गरेर विश्व बजारमा स्थापित गर्न सक्ने अवसरसमेत रहेको छ। धेरै हदसम्म समानता रहेको छ। सरकारी, निजी, सहकारी साझेदारीलाई कार्यान्वयनमा ल्याउन प्रयास अघि बढाएको खण्डमा नेपाली चियामा सुधार आउने देखिन्छ।

नेपाली अर्थोडक्स चियाको निर्यातलाई तेस्रो मुलुकहरूमा विविधिकरण गर्दै निर्यातमा बृद्धि गर्नु दीर्घकालीन योजना आवश्यक रहेको चिया उद्यमी बुद्धभूषण तामाङ बताउँछन्। उनी तेस्रो मुलुक निर्यातलाई बढाउन सकिएको खण्डमा भारतीय बजारमा समेत नेपाली चिया प्रतिस्पर्धात्मक मूल्यमा बिक्री हुने बताउँछन्।

अहिले नेपालका किसानहरूको चिया तेस्रो बजारसम्म पुर्‍याउनका लागि अर्गानिक प्रमाणिकर र ब्रान्डिङकै समस्या रहेको छ। साना किसानहरूले उच्च गुणस्तरको चिया उत्पादन गरिरहे पनि एक रुपता नहुँदा विदेशी बजार पाउन सकेको छैन।

समान गुणस्तर र प्रकारको नहुने समस्याले बजारको विश्वासनीयता कायम गर्न कठिनाइ रहेको चिया उद्यमी सचिन सुब्बा बताउँछन्।  सामूहिक बजारीकरणको अभ्यास हुन नसक्दा उच्च मूल्यका निर्यात बजारमा नेपाली साना चिया उद्यमीहरूको पहुँच पुग्न सकिरहेको छैन।

नेपाली चियामा सुधारको संकेत

किसानहरूबाट अर्गानिक चिया उत्पादनमा सरकारी तवरबाट सहयोग नपाएको गुनासो बढेपछि चिया तथा कफी विकास बोर्डले परियोजना अघि बढाएको थियो।

परियोजना साना किसानहरूमा केन्द्रित रहेको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक विष्णुकान्त भट्टराईले बताए। नेपालको चिया विश्वबजारमा स्थापित गर्ने लक्ष्य परियोजनाले लिएको समेत उनले बताए। परियोजनाले तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि बिक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ गर्ने पनि लक्ष्य राखेको छ। 

परियोजना सुरु भएपछि नेपालमै अक्सन बजारबाट चिया विक्रीको कार्य प्रारम्भ भएको पाइन्छ।

गत वैशाख १५ गते २७ औ चिया दिवसको अवसर पारेर आयोजित टी टेस्टिङ कार्यक्रममा  डेमो अक्सन’ मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको थियो।

अमेरिकी नागरिक जेनीले  प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेकी थिइन्। लिलाम बढाबढमा ५ केजी अर्थोडक्स चिया ५० हजार रुपैयाँमा खरिद गरेकी थिइन्। प्रतिकेजी एक हजार मूल्य तोकिएको चियाको मूल्य १० हजारसम्म पुग्नु सकारात्मक सन्देश भएको चिया उद्योगी बुद्धभूषण योञ्जन बताउँछन्।

अक्सनमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ता थिए। ‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी ६ हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी ४ हजारका दरले चिनियाँ खरिदकर्ताले किनेका थिए।

भट्टराईका अनुसार चिया गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षमा ७ सय किसानलाई भकारो सुधारमा सहयोग गरेको छ। १५ वटा उद्योगमा अनलाइन सिस्टम लागू गरिएको छ।

अनलाइन सिस्टम लागू भएपछि तेस्रो मुलुकका खरिदकर्ताहरूले उद्योगबाट खरिद गरेको चिया गुणस्तर, मूल्यका बारेमा अनलाइनबाटै थाहा पाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.