|

कास्की : कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरू खुसी भएका छन्।

पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको बुझाइ छ। व्यवसायीहरू सरकारले कोराना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन्।

उनीहरूले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरू खुसी भएको बताए। उनले व्यवसायीहरूले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनमा जोड दिएकाले पनि पर्यटकहरूको आगमन बढेको बताए।

ड्रागन बोट फेस्टिभल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरू पोखरामा आएको र उनीहरूबाट अन्य पर्यटकहरू पनि आउने वातावरण बनेको बताए।

उनले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए। त्यस्तै, होटल एशोसिएसन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरू बढ्दा व्यवसायीहरूमा आशा थपिएको बताए। उनले पोखरामा पर्यटकहरू बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरूका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको जिकिर गरे।

उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए। उनले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउन सके पर्यटकहरूको कमी नहुने स्पष्ट पारे।

‘पोखराको पर्यटन व्यवसाय अहिले बढेको छ। अहिले हामी आशावादी भएका छौँ। पर्यटन व्यवसायी थला परेका थिए, अहिले राम्रो भइरहेको छ। बाहिर जानेहरूलाई पनि यहाँ सिक्ने अवसर भएको छ। हामीले हजारौँ रोजगारी सिर्जना गरेका छौँ', उनले भने,'कोरोना पछाडि दक्ष जनशक्तिको अभाव छ। अब पर्यटकहरूको भीड लाग्नेछ। गर्मी छल्न अहिले पनि भारतीय पर्यटक पोखरा आइरहेका छन्। पोखरा विमानस्थलमा नियमित उडान हुनसके पर्यटकको कमी हुँदैन। पोखराको प्रवर्द्धनमा जोड दिनुपर्छ।’

त्यस्तै  गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूले पर्यटकहरूको आवागमन बढे पनि स्थायी हुन नसकेको गुनासो गरे। उनले कोरोनापछि पर्यटकहरू बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको बताए। उनले पोखरामा विदेशी पर्यटकहरूको आगमन अझै कम रहेको बताए।

व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरूको मनोबल बढ्ने र पर्यटकहरू पनि वृद्धि हुने बताए। उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.