|

काठमाडौं : पछिल्लो समय नसर्ने रोगका विरामी दिनानुदिन बढ्दै छन्। नसर्ने रोगको प्रमुख कारकमा सुर्तीजन्य पदार्थको सेवनलाई लिइन्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालद्वारा गरिएको एनसीडी स्टेप्स सर्वेक्षणअनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ।

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग निम्त्याउने हुनाले यसका कारण हुने मुत्यु दिनदिनै बढ्दै गएको अध्ययनले देखाएको छ। 

त्यसैगरी सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने, दृष्टि  र श्रवण शक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन्।

अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर लगायतका स्वास्थ्य जोखिम बढाउने बताइन्छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार पछिल्लो समय युवा उमेरमै मुटुरोग देखिनु प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवनलाई लिने गरिएको छ। प्रा.डा. सायमीले भने‚ ‘केही वर्ष अगाडिसम्म मुटु रोग भन्नेबित्तिकै ४० वर्षमाथिका उमेर समूहलाई धेरै लाग्ने गर्थ्यो तर हाल आएर ४० वर्षभन्दा कम उमेरका अर्थात् युवा उमेर समूहलाई पनि मुटुरोग बढ्दै गएको छ।’

उनका अनुसार युवावस्थामा नै मुटुमा समस्या देखिएर अस्पताल आउने विरामीसँग कुरा गर्दा उनीहरूले धेरैले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइने गरेको छ। आजभोलि धेरै महिलालाई पनि हृदयघात हुने गरेको छ। यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन नै रहेको छ।

विकास अनुसन्धान प्रतिष्ठानले एक वर्षअघि सार्वजनिक गरेको एक तथ्यांकले भने एक वर्षमा नेपालमा ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले मृत्यु हुने गरेको देखाएको छ। यो संख्या नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालद्वारा गरिएको एनसीडी स्टेप्स सर्वेक्षणको भन्दा पनि धेरै हो। 

स्टेप्स सर्भे २०१९ अनुसार नेपालमा २८.९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ र ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। नेपालीको पहिलोपटक धुम्रपान गर्न सुरु गर्दाको औसत उमेर १७.८ वर्ष रहेको छ।

यता नेपालमा मात्रै होइन विश्वमै सुर्तीजन्य पदार्थ सेवन  बढ्दो छ। विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। सुर्तीजन्य पदार्थको प्रयोग महिलाहरूको (७.८ प्रतिशत) तुलनामा पुरुषहरूमा (३६.७ प्रतिशत) बढी हुने गरेको छ।

अमेरिकन लङ्गस एसोसिएशनका अनुसार चुरोटमा ७ हजारभन्दा बढी विभिन्न प्रकारका हानिकारक रसायन (तत्त्व) हुन्छन्। तीमध्ये सयौँ रसायन स्वास्थ्यका लागि अत्यन्त हानिकारक छन् भने कम्तीमा ७० वटा रसायन क्यान्सर रोगका प्रमुख कारक तत्त्व हुन्।

यता सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिलाई न्यूनीकरण गर्नका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि रोकथाम गर्न धेरै चुनौती रहेको देखिन्छ। हाल पनि नेपालमा सुर्ती उद्योगको हस्तक्षेप र उनीहरूको रणनीतिले चुनौती भने यथावत् रहेको अवस्था छ। हाल प्रचलित ई–सिग्रेट, सिसा, हुक्कालगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिष्कृत रूपलाई रोक्ने गरी बृहत् तरिकाले कार्यक्रम सञ्चालन गर्नसमेत आवश्यक देखिन्छ।

सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न राज्य नै अग्रसर हुनुपर्ने बताउँछन्‚ सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण हुनुपर्छ भन्ने अभियान चलाइरहेका संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द।

उनका अनुसार सार्वजनिक स्थानहरू जस्तैः शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, वृद्धाश्रम आदि स्थानबाट कम्तीमा १०० मिटरभित्र सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु, फुटकर रूपमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने व्यवस्था प्रभावकारी कार्यान्वयन हुनु, १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था कडाइका साथ लाग्नुपर्ने चन्दको भनाइ छ।

उनले भने, ‘सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन सबैभन्दा पहिले भएकै नियम कडाइका साथ लागू गर्न राज्य नै लाग्नुपर्छ, जसका लागि खिल्ली चुरोट बिक्री गर्न नपाइने‚ सार्वजनिक स्थान जस्तै स्कूल कलेज छेउमा बिक्रीवितरण गर्न नपाइने, सुर्ती चुरोट उत्पादन गर्ने उद्योगहरूलाई निरुत्साहित गर्न राज्य नै लाग्नुपर्छ।' 

दिगो विकासका लक्ष्यअनुसार सन् २०३० सम्म सुर्तीजन्य पदार्थको उपभोगमा ५० प्रतिशतले कमी ल्याई १५ प्रतिशतमा घटाउने उद्देश्य रहेको छ। विगत एक दशकमा सुर्तीजन्य पदार्थविरुद्धका नीति नियम बनाई जति कार्यक्रम गरी पनि सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रणमा अपेक्षित नतिजा भने आएको छैन।

यसो हुनुको प्रमुख चुनौतीको रूपमा नहुनु र विश्व स्वास्थ्य संघको सिफारिसअनुसार चुरोटको खुद्रा मूल्यमा करको अंश ७५ प्रतिशतभन्दा माथि हुनुपर्छ तर नेपालमा सबैभन्दा बढी बिक्री हुने ब्रान्डको चुरोटको मूल्यमा करको अंश केवल ३५–४० प्रतिशतको बीचमा रहेको छ। यो दक्षिण एशियाका अन्य राष्ट्रहरूका लाग्ने करको दरभन्दा कम हो।

नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थमा कर बढाउने विषय चर्चामा आउने गरे पनि विभिन्न कारणले बढ्न सकेको छैन। सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानि न्यूनीकरण गर्न सरकारले नियमित रूपमा विभिन्न काम गर्दै आएको छ। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको छ।

यसैगरी नेपालले ७ नोभेम्बर २००६ मा सुर्तीजन्य पदार्थ तथा धुम्रपान नियन्त्रण गर्ने सम्बन्धी महासन्धि अनुमोदन गरी त्यसैअनुरूप नेपालमा सुर्तीजन्य पदार्थको न्यूनीकरण, नियन्त्रण तथा नियमन गरी जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिवृद्धि गर्न केही नीतिगत व्यवस्था अघि सारेको छ।

कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहर केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाइने व्यवस्था रहेको छ। त्यसैगरी सुर्तीजन्य पदार्थ बिक्रेताले अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ नबेच्ने र बेच्न नलगाउने र चुरोट तथा बिडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था रहेको छ।

तथ्यांकअनुसार सन् २००० मा २५ हजार ३ सयभन्दा कम रहेको संख्या २०१९ मा आइपुग्दा ३७ हजार ५ सयभन्दा बढी हुन पुगेको छ। सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने मृत्युको संख्या सन् १९९० देखि वर्षैपिच्छे बढ्दै गएको छ। विशेष गरी सन् २००० देखि द्रुत गतिमा बढेको तथ्यांकमा उल्लेख छ।

नेपालमा कुल मृत्युको करिब २० प्रतिशत सुर्तीजन्य पदार्थका कारण भएको उल्लेख छ। यस्तै प्रतिवेदनले नेपाल सुर्तीजन्य पदार्थबाट सबैभन्दा बढी दरमा मृत्यु हुने दक्षिण एशियामै पहिलो बनेको छ। मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको छ।

३० वर्षअघि नेपालमा सुर्तीजन्य पदार्थबाट हुने मृत्युदर श्रीलंकाभन्दा कम थियो तर हाल भने दोब्बरले बढी भएको उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.