|

काठमाडौं : कोशी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। 

मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उनी अल्पमतमा परेसँगै सरकार ढलेको हो। मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत पर्यो।  जम्मा उपस्थित सांसद संख्या ८९ रहेका थिए।

पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन। 

प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुखबाहेक) १२ र एकीकृत समाजवादीका ४ जना सांसद छन्। 

मंसिर ४ को निर्वाचनपछि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रदेशहरूमा सोहीबमोजिम सरकार गठन भएका थिए। 

तर, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनको संघारमा केन्द्रमा समीकरण बदलिएपछि त्यसको असर प्रदेशहरूमा पनि पर्यो।  एमालेले नेतृत्व गरेका गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका सरकार त्यतिबेलै ढले। तर, विशिष्ट अंकगणित भएका कारण कोशी प्रदेश सरकार भने अहिलेसम्म कायम थियो। 

कोशीमा अब एमाले र राप्रपा प्रतिपक्षमा बसेको अवस्थामा अरू सबै मिल्दा पनि सरकार गठन हुन कठिन छ। ९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ।

एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद हुन्छन्। माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएका कारण हाल प्रतिपक्षमा रहेका सबै मिल्दा पनि ४६ सांसद मात्रै पुग्ने हुँदा अब बन्ने नयाँ सरकारले पनि विश्वासको मत पाउन कठिन देखिन्छ।

यसले कोशी प्रदेश मध्यावधि निर्वाचनतिर जाने जोखिम देखिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.