|

भालुबाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सबै एउटै डुङ्गामा सवार रहेको भन्दै प्रदेश डुबेमा सबै डुब्ने चेतावनी दिएका छन्।

बुधबार प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठकलाई विशेष सम्बोधन गर्दै उनले सत्तापक्ष मात्र नभई प्रतिपक्ष पनि डुब्ने भन्दै डुङ्गा चलाउने वेला सँगै खियाएर जाऊँ, सँगै अगाडि बढौँ भन्ने अहिलेको सरकारको नीति रहेको बताए।

उनले भने, ‘हामीले पहिले पनि संवाद गरेका छौँ। चाहे त्यो समिति बनाउँदा होस्, प्रदेश निजामती सेवा ऐन ल्याउने कुरामा होस्। हाम्रो सहमति र सहकार्य जरुरी छ।’​

यसैगरी उनले अहिले प्रदेशको औचित्यमाथि धेरै कुरा उठेको भन्दै त्यो औचित्यलाई सावित गरेर अगाडि बढ्नुपर्ने समेत बताए। यस्तै संसद्‌मा बोल्दा ध्यान दिन समेत सांसदहरूलाई उनले आग्रह गरे। सभामा बोलेका सबै कुरा रेकर्ड हुने भएकाले यसको मर्यादा राख्नुपर्ने समेत आग्रह गरे।

उनले भने, ‘हामी हिजो प्रतिपक्षमा हुँदा धेरै गल्ती गरेका थियौँ। ती गल्ती सच्याउँदै प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रदेशको औचित्य सावित गर्नुपर्छ।’

उनले सबैलाई साथ लिएर प्रदेश सरकार हिँड्न चाहेको बताए। उनले समृद्ध प्रदेश बनाउने भन्दै नारा लगाए पनि कहिलेकाहीँ समृद्ध के हो भनेर चुक्ने गरेको समेत बताए। उनका अनुसार समृद्ध भन्ने गरे पनि आर्थिकभन्दा भौतिक कुरा अगाडि बढ्ने गरेको छ।

उनले भने, ‘जनतालाई कसरी कमाउने बनाउनेभन्दा मेरो घरअगाडि बाटो बन्यो कि नाइँ भन्ने कुरामा मात्र ध्यान दिन्छौँ। अहिले केन्द्र सरकारसँग छलफल गरेर एक अर्ब हामी राख्छौं। एक अर्ब तपाईँहरू दिनुहोस्। एक अर्ब बाहिरबाट ल्याएर हामी बास्केट फन्ड बनाएर त्यसलाई नै आर्थिक विधि बनाएर कृषि, पर्यटन, वनमा पनि आयवृद्धि कार्यक्रम राख्छौं भनेका छौँ। बाटो बनाउँदा त्यो बाटोले आर्थिक वृद्धि दिन्छ कि दिँदैन भन्ने कुरामा ध्यान दिनुपर्ने छ।’

अहिलेको बजेटले पनि त्यही बाटोमा डोर्‍याएको भन्दै यसमा अगाडि बढ्न प्रदेश सरकार तयार रहेको समेत बताए। उनले अहिलेको नीति तथा कार्यक्रम आइसकेको हुँदा आउँदो वर्षका नीति तथा कार्यक्रम यसलाई अझै समृद्धि बनाउँदै लैजाने समेत बताए।

यसैगरी उनले अब बजेट वैशाखमा बनाउने र चैतसम्म सबै योजना आइसक्ने खालका बनाएर जेठमा त्यसमा छलफल गरी जाने समेत प्रतिबद्धता गरेका छन्। यस्तै उनले प्रतिपक्ष दलले राखेका कुरामा सरकारले पूर्ण ध्यानाकर्षण भएको बताए।

प्रजातन्त्रको सुन्दर पक्ष भनेको पक्ष र प्रतिपक्ष हुने नै भएको बताए। उनले प्रतिपक्षले उठाएका कुरालाई सरकारले गम्भीर रूपमा लिएको समेत बताए।

उनले भने, ‘उहाँहरूले कुरा उठाइसकेपछि हामीले केही छलफल गरेका थियौँ तर टुङ्गोमा पुग्न सकेका थिएनौँ। हिजो साँझ दुबै पक्ष बसेर छलफल भएपछि हामीले उठाएका कुरा गम्भीर रूपमा लिएको र सहमतिका आधारमा अगाडि बढ्छौं भन्ने भएको छ।’

यस्तै आफूहरूले संवादको थालनी गरेको भन्दै त्यसैले प्रदेशलाई अगाडि बढाउने समेत उनले बताए।

‘अब हामीले ५ वर्षमा के गर्ने भन्ने कुरामा गहन छलफल हुन जरुरी छ। हिजो हामीले नियम कानुन बनायौँ। अहिले प्रदेश सरकारको औचित्य पुष्टि गर्ने वेला भएको छ‘‚ उनले भने।

उनले प्रतिपक्षले उठाएका कुरालाई गम्भीर रूपमा लिएर सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। प्रदेश मन्त्रिपरिषद्ले आवश्यक संस्था राख्ने वा हटाउने बारेमा समिति गठन गरेको उनले बताए। यस्तै उनले त्यही आधारमा सबैसँग छलफल गरेर मात्र अगाडि बढाउने समेत उल्लेख गरे।

प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको हो। बजेटमाथि असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको एमालेले मङ्गलबार बसेको प्रदेश सभाको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो भने बैठक बहिष्कार समेत गरेको थियो।

त्यसपछि दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने सहमति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.