|

विराटनगर : कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै अब बन्ने नयाँ सरकार कसको पोल्टामा पर्ला भन्ने प्रश्नको समाधान संघीय राजधानी पुगेर टुंगो लागेको छ।

मुख्यमन्त्रीको दौडमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो रहेका थिए। उनीहरुबीच सहमति जुट्न सकस भएपछि थापा र आङ्बो काठमाडौं हान्निएका थिए।

सोहीअनुसार सोमबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले नेपाली काँग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने सहमति भएसँगै मुख्यमन्त्रीको विषय टुंगो लागेको छ।

यता, प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन्।

खापुङले नेपालको संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दावी पेस गर्न आह्वान गरेका हुन्। सरकार गठनको आह्वानसँगै गठबन्धनको तर्फबाट  थापाले मुख्यमन्त्रीका लागि दावी पेस गर्नेछन्।

तर केन्द्रमा पुगेर मुख्यमन्त्रीको विषय टुंगो लगाए पनि नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा सम्मिलित गठबन्धनसँग प्रष्ट बहुमत नहुँदा राप्रपा नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने निर्णायक रहेको छ।

कोशी प्रदेशमा ४ दल समाहित हुँदा पनि प्रदेशसभामा ४६ जनामात्र सांसद पुग्छन्। जुन संख्या सरकार निर्माणका लागि अपुग छ। बहुमत जुटाउन ४७ सांसद आवश्यक पर्ने हुँदा यतिवेला गठबन्धन दलहरु राप्रपा फकाउन लागि परेका छन्।

त्यसो त गठबन्धन दलका नेताहरुले संसदीय अङ्कगणितमा सभामुखलाई संसदीय दलको सदस्य भनेर गणना गर्दा गठबन्धनको पक्षमा सरकारको दाबी पुग्ने जिकिर गर्छन् तर सभामुखले आफू पदमा आसिन हुनु अगावै पार्टी परित्याग गरिसकेको हुँदा उनी कुनै पनि दलको नहुने र भूमिकाविहीन हुने जानकारहरु बताउँछन्।

सभामुखले राजीनामा दिएर भए पनि ४७ पुर्‍याउने गठबन्धन दलको जिकिर भए पनि ज्येष्ठ सदस्य गठबन्धन दल नेपाली काँग्रेसका गयानन्द मण्डल हुने भएकाले कुनै पनि हालतमा अब बन्ने गठबन्धनको नयाँ सरकारका लागि बहुमत पुग्ने अवस्था देखिँदैन।

यता, राप्रपाका संसदीय दलका नेता एवम् प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले  सरकारमा सामेल हुने नहुने कुनै निर्णय नभएको बताए। समयमा नै निर्णय गर्ने बताउँदै उनले २१ गते साँझ ५ बजेसम्म सरकार गठन गर्ने समय भएकाले निर्णय भएपछि जानकारी गराउने बताए।

गठबन्धनले पहिले आफू निर्णय गरिसकेर राप्रपासँग सहयोग माग्ने निर्णयप्रति आफ्नो असन्तुष्टि रहेको समेत उनको भनाइ थियो।

‘पहिले उहाँहरुले आफू निर्णय गर्नुभयो नेपाली काँग्रेस संसदीय दलको नेता मुख्यमन्त्री बन्ने भनेर अनि निर्णय गरेपछि हामीसँग सल्लाह माग्नुभएको हो त्यो निर्णय हामीलाई चित्त नबुझेको हो,’ उनले भने, ‘तर पनि हामी सल्लाह गरिरहेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.