|

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।

नेविसंघबाट राजनीतिको सुरुवात गरेका मुख्यमन्त्री उद्वव थापा २०१४ साल मंसिर १५ गते झापाको अर्जुन धारा ४ मा जन्मिएका हुन्।

मुख्यमन्त्री थापा विस २०३४ सालदेखि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका थिए। काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेका उनले नेविसंघको विभिन्न तहमा रहेर काम गरेका थिए।

२०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा खटेका उनी विपी कोइरालाको सुरक्षा दस्तामा बसेर पनि काम गरे।

२०४६ को जनआन्दोलनका क्रममा भने उनी राजावादी बनेर आन्दोलन दबाउन लागेका थिए। ‘त्यसबेला आन्दोलनकारी झापाको शनिश्चरे बजार बन्द गराउँदै हिँड्दा उद्धव थापासहितका युवाहरु पछि–पछि खुलाउँदै आउथे,’ कांग्रेस झापाका पुराना एक नेताले भने,‘ त्यस बेला उनलाई हामी मण्डलेको हवल्दार वैदार भन्थ्यौं।’ ती नेताका अनुसार थापा आन्दोलन लगतै कांग्रेसमा नै फर्किएका थिए।

उनले नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको सचिव र सभापतिको एक÷एक कार्यकाल पूरा गरे। त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति बनेका उनीको निरन्तर पार्टीको जिम्मेवारीमा बसे।

१० औं जिल्ला अधिवेशनबाट कांग्रेस जिल्ला सचिव बनेका उनी ११ औं अधिवेशनबाट उपसभापति बने। थापाले दुई कार्यकाल जिल्ला सभापति बनेको कांग्रेस झापाका सभापति देउमान थेबेले जानकारी दिए। उनका अनुसार १२ औं र १३ औं अधिवेशनबाट उनी झापा जिल्ला सभापति निर्वाचित भएका थिए।

झापा क्षेत्र नम्बर ४ बाट २०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका उनी एमाले उम्मेदवार प्रेम गिरीसँग पराजित भए। २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट उठेका उनी पवित्रा खरेलसँग पराजित भएका थिए।

दोस्रो जनआन्दोलनका क्रममा उनी पक्राउ परेका थिए। विस २०६१ मघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले शाही ‘कू’ मार्फत सत्ता हातमा लिएपछि सुरु भएको आन्दोलनका क्रममा तत्कालीन शाही नेपाली सेनाको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकको बंङ्करमा राखेको थियो।

त्यसबेला आफूमाथि कठोर यातना दिइएको उनले बताउने गरेका छन्। वाणिज्य शास्त्रमा स्नातक गरेका उनी कांग्रेसभित्र सोझो नेताको रुपमा पनि परिचित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.