|

काठमाडौं : कालिकोट जिल्लाको एउटै वडाका ३११ जना एकैपटक विरामी भएपछि उनीहरूको स्वाब र रगत संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि ल्याइने भएको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार संक्रमण देखिएको कालीकोटको तीलागुफा नगरपालिका–१० रुडुगाउँमा पुगेर चिकित्सकहरूले ९ जना विरामीको स्वाब र रगत संकलन गरेर ल्याएको र त्यसलाई टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइने तयारी भएको बताए।

डा. बस्नेतका अनुसार संक्रमण देखिएको समुदायमा ३ जना चिकित्सक र प्यारामेडिक्स सहितका स्वास्थ्यकर्मीले विरामीको अवस्था बुझेर आएको समेत बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बस्नेतका अनुसार अहिलेसम्म विरामीको लक्षण हेर्दा भाइरल ज्वरो जस्तो देखिएको बताए।

उनका अनुसार संक्रमणको लक्षण भएका प्रायः विरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने जस्ता भाइरल संक्रमणको लक्षण देखिएको छ भने केही विरामीमा अनुहारमा दाग देखिने, हातखुट्टा सुन्निनेलगायत लक्षण देखिएको छ।

यस्तै लक्षण देखिएकी १३ वर्षीया एक बालिकाको मृत्यु भएको छ। डा. बस्नेतका अनुसार ती बालिकाले क्षयरोगको औषधि सेवन गरिरहेको खुलासा भएको छ।

विरामी हुनेमध्ये धेरै बालबालिका तथा महिला रहेको समेत उनले बताए।

हाल दुईजना विरामी अस्पताल भर्ना भएर उपचाररत भए पनि उनीहरूको स्वास्थ्य पनि सुधार हुँदै गएको छ। डा. बस्नेतले भने‚ ‘जिल्ला अस्पताल र तीलागुफा नगर अस्पतालका चिकित्सक र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका स्वास्थ्यकर्मी सहितको टोली पुगेर फर्किएको छ‚ जसमा ९ जना विरामीको स्वाब र रगतको नमूना समेत लिएर आउनु भएको छ। अब यो नमूनाको परीक्षण गरेपछि थप कुरा पुष्टि होला तर हालसम्म विरामीको लक्षण हेर्दा भाइरल संक्रमण जस्तो देखिएको छ।‘

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पानीजन्य संक्रमण रोगसम्बन्धी फोकल पर्सन उपेन्द्र ढुङ्गाका अनुसार हाल त्यहाको समस्या नियन्त्रणभित्रै रहेको र आवश्यक परे केन्द्रबाट थप स्वास्थ्यकर्मीको टोली जान तयारी अवस्थामा रहेको छ।

‘हाल प्रदेश, जिल्ला र स्थानीय तहका स्वास्थ्यकर्मी समुदायमा पुगी विरामीको उपचार गरिरहनु भएको छ। आवश्यक परे हामीले यहाँबाट स्वास्थ्यकर्मीको टोली पठाउन तयारी अवस्थामा राखेका छौँ। प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीसँग हामी निरन्तर सम्पर्कमा छौँ’‚ संक्रमण रोगसम्बन्धी फोकल पर्सन ढुङ्गानाले भने।

हालसम्म विरामीको लक्षण र हेर्दा भाइरल ज्वरोको संक्रमण फैलिएको जस्तो देखिएको समेत ढुङ्गानाले बताए।

‘संक्रमण फैलिएकै समुदायमा पुगेर विरामीको उपचार गरेर आउनु भएको चिकित्सक तथा स्वास्थ्यकर्मीको भनाइमा विरामीको लक्षण हेर्दा भाइरल ज्वरोको संक्रमण फैलिएको जस्तो देखिएको छ तर केही विरामीबाट परीक्षणका लागि स्वाब र रगत संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ। परीक्षणको रिपोट आएपछि थप पुष्टि हुन्छ’‚ संक्रमण रोगसम्बन्धी फोकल पर्सन ढुङ्गानाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.