|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत बिहीबार सार्वजनिक गरेसँगै यतिखेर विद्यार्थी कुन विषय पढ्ने र कुन कलेजमा पढ्ने भन्ने अन्योलमा छन्। यस्तै अन्योलमा अभिभावकहरू पनि छन्। त्यसो त अभिभावकहरू अहिले विभिन्न कलेजहरूमा बुझ्न जाने गरेका छन्।

कोही विद्यार्थी साथीहरूको संगतमा महँगो निजी कलेज छान्दा अभिभावकमाथि आर्थिक भार र चिन्ता झनै थपिएको छ। कक्षा ११ मा के विषय पढ्ने र अभिभावकहरूले कस्ता कलेज छान्ने भन्ने विषयमा भर्ना अगावै विभिन्न कुराहरूमा ध्यान दिन आवश्यक रहेको विज्ञहरू बताउँछन्।

ती कुराहरूलाई बेवास्ता गरेर भर्ना गर्दा अभिभावकहरूमाथि आर्थिक भार थपिने र विद्यार्थीहरूको भविष्य अन्धकारतर्फ जाने शिक्षाविद्हरू बताउँछन्। 

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला कक्षा ११ मा भर्ना हुनुअघि मुख्यत पहिलो प्राप्तांक नतिजा, दोस्रो अभिभावकहरूको खल्ती (आर्थिक अवस्था), शहरमा बसेर पढ्न सक्ने/नसक्ने यी चार सन्तुलनबाट मात्रै विषय र कलेज छान्नुपर्ने बताउँछन्। 

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसइईमा २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। ०.८ देखि १.२ जीपीए २ हजार २ सय जनाले ल्याएका छन्। १.२ देखि १.६ जीपीए ३८ हजार ७७० जनाले ल्याएका छन्।

१.६ देखि २ जीपीए ८८ हजार ४४७, २ देखि २.४ जीपीए एक लाख २ हजार २९३ जना विद्यार्थीले ल्याएका छन्। २.४ देखि २.८ जीपीए ८९ हजार ३३१ जना,२.८ देखि ३.२ जीपीए ६२ हजार ३६२ जनाले ल्याएका छन् भने ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन्। 

‘विद्यार्थीहरूले जुन विषय पढे पनि हुन्छ, विषयसँग गराइको सम्बन्ध हुँदैन, रोजगारीसँग जोडेर पनि नपढौँ, म चाहिँ पहिला रहर जोडौँ, रोजगारी खोज्दै गरौँला भन्छु, सबै संकाय र विषय राम्रै छन्, मात्रै विद्यार्थीहरूमा रूचि चाहिन्छ, रूचिबिना हुँदैन,’ शिक्षाविद् कोइराला सुझाव दिन्छन्। 

‘आर्थिक अवस्थाअनुसार भर्ना नभए पछि दुर्घटना निम्तिन सक्छ’ 

शिक्षाविद् डा. मीनबहादुर शाहीले अहिले अभिभावकहरू मेरो छोराछोरीले यति यति जीपीए ल्याए भनेर हल्ला फैलाउने काम गरिरहेको भन्दै यसो गर्नाले कुनै फाइदा नहुने बताउँछन्।

उनी भन्छन्, ‘अभिभावकहरूले मेरा छोरा छोरीले जीपीए ४ ल्यायो, अब कक्षा ११ मा गणित, विज्ञानलगायत पढाउँछु भन्नु नै गलत हो, पहिला त घरको आर्थिक अवस्था हेरेर मात्रै कलेजहरूमा भर्ना गराउनुपर्छ।’

उनले विद्यार्थीहरूमा जे रूची हुन्छ ती विषय पढाउनुपर्ने बताए। ‘आर्थिक अवस्थाअनुसार अहिले बढी कुन क्षेत्र वा विषयबाट योगदान पुग्छ, त्यसमा पो बढी जोड दिनुपर्छ,’ उनले भने, ‘नभए विद्यार्थीहरूको भविष्य डावाँडोल हुन्छ।’

उनले अहिले आर्थिक अवस्था नहेरी महँगो कलेजहरूमा भर्ना गरे पछि शुल्क तिर्न नसक्ने र त्यसले गर्दा विद्यार्थीहरूमा मानसिक तनाव भइ आत्महत्या गर्नेसम्मको घटनाको सम्भावना रहेको बताए।

‘यस्ता घटनाहरू पहिला भइसकेका छन्, त्यसैले दोहोरिन दिनु हुँदैन, शिक्षामा अर्थबाट छुट हुँदैन, त्यसैले पहिलै ध्यान दिनुपर्छ,’ उनले भने। कक्षा ११ मा कस्ता विषय र कलेज छान्ने विषयमा सरकारले सहजीकरण गर्नुपर्ने, सञ्चारमाध्यम र शिक्षाकर्मीहरूले यस विषयमा व्यापक सन्देश सिर्जना गर्नुपर्ने उनको माग छ।

अर्का शिक्षाविद् प्राडा टंकनाथ शर्मा पनि साथीहरूको संगतमा नभइ विद्यार्थीहरूको चाखअनुसार विषय छान्नुपर्ने बताउँछन्।

उनी सुझाव दिन्छन्, ‘पहिला त विद्यार्थीहरूमा यो विषय पढ्छु भन्ने भित्री मनबाटै इच्छा जाग्नुपर्छ, अहिले त भर्ना गर्ने मात्रै सोच छ, पढेर पछि के गर्ने सोच नै छैन, यस्तो होइन, पछि यो पेसा लिन्छु भनी सङ्काय/विषय छान्नुपर्छ।’

अधिकांश अभिभावकहरू आफ्ना छोराछोरीहरू भविष्यमा डाक्टर, पाइलट र इन्जिनियर बनोस् भन्ने सपना बोक्छन्। ‘तर यी सबै सपना विद्यार्थीहरूले पूरा गर्न सक्दैनन्, अभिभावकहरूमा पनि त्यसका लागि आर्थिक भार पर्छ, त्यसैले अर्काले यो विषय पढ्यो म पनि यही पढ्छु भन्ने गर्नुहुँदैन, त्यसैले विद्यार्थी र अभिभावकहरूमा भएको क्षमताअनुसार अघि बढ्नुपर्छ।’

कजेजको विज्ञापनबाट प्रलोभनमा नपर्न आग्रह 

अहिले निजी कलेजहरू सामाजिक सञ्जालदेखि कलेजहरूको वेबसाइटसम्म विभिन्न विषयहरूको विज्ञापन गरिरहेका छन्। विद्यार्थीहरूलाई प्रलोभनमा पार्न विभिन्न विषयमा छुटको व्यवस्था गरिरहेका छन्। तर त्यसको प्रलोभनमा नपर्न विद्यार्थीहरूलाई शिक्षाविद् शाही आग्रह गर्छन्।  

‘अहिले निजी कलेजहरूले २० प्रतिशत छुटलगायत प्रलोभनमा पार्न अनेक किसिमका विज्ञापन गरिरहेका छन्, त्यसमा विद्यार्थी फस्न हुँदैन, साथीहरू यो कलेज त्यो कलेजमा पढौँ भन्ने गर्छन्, त्यस्तो कुरामा पनि मान्नुहुँदैन, जहाँ सबै पक्षबाट क्षमता अर्थात् पढ्न र पढाउन सक्ने हैसियत हुन्छ, त्यसअनुसार अघि बढ्नुपर्छ,’ उनले भने। 

शिक्षाविद् कोइराला कलेजको विभिन्न प्रलोभनबाट बच्न बरू पहिला पढेका दिदीदाइहरू हुन्छन्, उनीहरूबाट त्यहाँको पढाउने शैली, वातारण बुझेर मात्र भर्ना हुनु उपयुक्त हुने बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.