|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रूपले आपसमा समायोजन (मर्ज) गर्नका लागि ८ वटा क्याम्पसको आवेदन परेको छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा ध्रुवकुमार गौतमले हालसम्म क्याम्पस मर्ज गर्नका लागि ८ वटा आवेदन आएकोमा चारवटाको निर्णय भइसकेको जानकारी दिए। 

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मर्ज हुन चाहने त्यस्ता क्याम्पसले असार मसान्तभित्र निवेदन पेश गर्न सक्ने व्यवस्थासहित जेठ ३० गते सूचना प्रकाशित गरेको थियो।

उक्त सूचनाअनुसार आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई २०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेश गर्न सकिनेछ। समायोजनबापत कुनै शुल्क लाग्नेछैन। त्रिविले यो व्यवस्था पहिलोपटक गरिएको जनाएको छ।

यी हुन् मर्ज भएका क्याम्पस

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा गौतमका अनुसार डिगनिटी कलेज डाइनामिक कलेजसँग मर्ज भइ अब कोहलपुरमा मात्रै सञ्चालन हुनेछ। यसैगरी पुतलीसडकमा रहेको एशियन कलेज अफ हायर स्टडिज कलेज अब जावलाखेलबाट सञ्चालन हुनेछ।

‘हामीले आवेदन खुलाएपछि जम्मा ८ वटा निवेदन परेको हो। यी चारवटाको मर्जको निर्णय भइसकेको छ। अरू चारवटा कलेजको आवेदन आए पनि कुन कलेजसँग मर्ज गर्ने भन्ने निर्णय भएको छैन, अब छिट्टै होला’‚ उनले भने।

आवेदनका लागि समय थपिने

मर्ज गर्नका लागि आवेदन दिने समय अब २ दिन मात्रै बाँकी छ। यो समय सकिएपछि थप समय दिइन्छ दिइँदैन भन्ने प्रश्नमा त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा गौतमले भने, ‘थप समय दिन्छौं, अझै मर्जका लागि निवेदन आउने सम्भावना भएकाले फेरि सूचना जारी गरी आवेदनका लागि समय दिन्छौं।’

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरूको संख्या बढ्दो छ। जब प्लस टु परीक्षा दिन्छन्‚ त्यसलगत्तै विदेशतिर जाने मनशाय बनाएका हुन्छन् विद्यार्थीहरू। वर्षेनि लाखभन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) लिन्छन्।

ती विद्यार्थीहरू बढी अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका‚ बेलायत लगायतका देशमा जाने गरेको पाइन्छ। जसकारण यहाँका निजी कलेज होस् वा सरकारी कलेजहरूमा विद्यार्थी संख्या घटेको छ। त्यही कारण पनि क्याम्पसहरू मर्ज गर्ने वा बन्द गर्ने अवस्थामा छन्। बढी भने मर्ज गर्ने निधोमा पुगेका छन्।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा गौतमले मर्ज भएका क्याम्पसहरूले केही अनुदान नपाउने तर यसका धेरै फाइदा रहेको जानकारी दिए।

उनले भने, ‘क्याम्पस एक आपसमा मर्ज भएमा क्याम्पस ठूलो बन्छ। विद्यार्थी संख्या धेरै हुन्छ। धेरै शैक्षिक कार्यक्रम चलाउन पाइन्छ, विद्यार्थीहरू पढ्न सहज हुन्छ, आकर्षित पनि हुन्छन्। शैक्षिक गुणस्तरमा राम्रो हुन्छ।’ उनका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त निजी क्याम्पसहरू मात्र मर्ज हुनेछन्। यस्ता १ हजार ६० क्याम्पस छन्। त्रिविका आंगिक क्याम्पस भने ६२ वटा छन्। 

मर्जका लागि यी कागजपत्र चाहिने

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका अनुसार मर्ज गर्न विद्यार्थीको संख्या तोकिएको छैन तर दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय चाहिनेछ। यस्तै सम्बन्धनसम्बन्धी पत्रहरू, नवीकरण पत्रहरू र अक्षयकोषको रसिद चाहिनेछ। यी कागजात भएमा क्याम्पस मर्ज हुनेछन्।

विश्वविद्यालय अनुदान आयोगले पनि कम विद्यार्थी भएका सामुदायिक क्याम्पस तथा निजी कलेजहरू मर्ज गर्नेमै जोड दिएको छ। आयोगका सदस्य सचिव शंकरप्रसाद भण्डारी भन्छन्, ‘क्याम्पसहरू मर्ज गर्ने नीति नै छ। त्यसैले क्याम्प कलेज मर्ज गरिँदै लगिन्छ।’

त्रिविले पछिल्लो समय अव्यवस्थित क्याम्पस व्यवस्थापन गर्दै गएको छ। पहिलोपटक क्याम्पसहरू ‘मर्ज’ गर्दै त्रिवि भने र निजी कलेजहरूलाई कडाइ गर्दै गएको छ। त्रिविले सम्बन्धन प्राप्त क्याम्पसलाई पटक-पटक सम्बन्धन नवीकरण गर्न ताकेता गरे पनि नवीकरण नगरेपछि १७५ कलेज/क्याम्पसको नामावली सार्वजनिक गरेको छ। तत्काल नवीकरणको प्रक्रियामा नगए ती कलेजहरू स्वतः खारेज गर्ने त्रिविको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.