|

काठमाडौं : यो हप्ता नेपालमा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांङ्कअनुसार अघिल्लो हप्तासम्म एक हजार १९३ रहेको डेंगु संक्रमितको संख्या एक हप्ताको बीचमा दुई हजार ९३० पुगेको छ।

महाशाखाको विवरणअनुसार हालसम्म यो वर्ष कोशी प्रदेशमा डेंगुका बिरामी धेरै भेटिएका छन। कोशी प्रदेशमा हालसम्म संक्रमितको संख्या १७४६ जना पुगेको छ ।

यस्तै गण्डकी प्रदेशमा २६९, बाग्मती प्रदेशमा ४६८, सुदुरपश्चिम प्रदेशमा २७९, लुम्बिनी प्रदेशमा १३४ र कर्णाली प्रदेशमा सबैभन्दा कम १८ जना संक्रमित भेटिएका छन।

​जिल्ला तहमा हेर्ने हो भने असार यता कोशी प्रदेशको सुनसरीमा सबैभन्दा धेरै १५७१ जना संक्रमित भेटिएको छ। यस्तै धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दामाथि छ। महाशाखाको विवरणअनुसार हाल धादिङमा २५८, दार्चुलामा १८८ र कास्कीमा १४९ जना संक्रमित पुगेका छन।

संक्रमितको संख्या बढिरहेको तर संक्रमितको संख्या १०० ननाघेका जिल्लाहरुमा संखुवासभामा ५८, काठमाडौंमा ४६,भक्तपुरमा ३५, कन्चनपुरमा ३९, म्याग्दीमा ३५ र झापामा ३२ जना रहेका छन। यस्तै गतवर्ष महामारीकै रुप लिएर डेंगु संक्रमण फैलिएको ललितपुर जिल्लामा भने यो वर्ष जम्मा २६ केश रिपोर्ट भएको महाशाखाले जनाएको छ।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल यो हप्ता डेंगु संक्रमितको संख्या अलि बढेको बताउँछन। उनले भने,'सुनसरी जिल्लामा डेंगुका संक्रमितको संख्या अलि बढेको छ,अबको एक/डेढ महिना डेंगुको संक्रमण बढ्ने मौसम हो, त्यसैले सबै जना सतर्क भइ डेंगुको जोखिम बढ्न नदिन आफ्नो घरवरपर सफा राख्नुका साथै अन्य सावधानी समेत अपनाउनुपर्छ।'

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। त्यसबेला ५४ हजार ७८४ जनामा संक्रमण भएको थियो। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

अघिल्लो वर्ष काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो।

नेपालमा हाल डेंगुका ४ वटा ‘सेरोटाइप्स’ पुष्टि भएको छ। जसमध्ये नेपालमा हालसम्म १ र २ बाट धेरै संक्रमित भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरकफरक सेरोटाइप्सले संक्रमण भयो भने गम्भीर असर देखाउने सम्भावना हुन्छ।

चिकित्सकले डेंगी लागेका ८० प्रतिशत मानिसमा कुनै लक्षण नदेखिने वा कम देखिने बताएका छन्। कडा लक्षण भएकामध्ये ८० प्रतिशत आफैँ निको हुने र २० प्रतिशतलाई अस्पतालमा आएर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन।

डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ।

मन्त्रालयले घरवरपरका खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्न, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.