|

काठमाडौं : काठमाडौंको चन्द्रागिरी डाँडामा रहेको भालेश्वर महादेवको प्रसिद्ध मन्दिरमा आज साउने संक्रान्तिदेखि विशेष आरती गर्न थालिएको छ। 

समुन्द्र सतहबाट २५ सय ५१ मिटर उचाईमा अवस्थित भालेश्वर महादेव मन्दिरमा तीनै प्रहरको पूजाआजा हुने गर्छ। बिहान ६ बजे‚ दिउँसो १२ बजे र साँझ सूर्यास्तको समयमा पञ्चोपचार विधिले पूजा गर्ने गरिन्छ। 

सतीदेवीको मृत शरीर बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतीदेवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेवको उत्पत्ति भएको हिमवत्‌खण्डमा उल्लेख भएको पाइन्छ। 

विभिन्न कथनका आधारमा भालेश्वर महादेवको दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र मृत्युपश्चात शिवलोकमा बास हुने विश्वास रहेको छ। 

नेपाल एकीकरण गर्ने क्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका यही ठाउँबाट अवलोकन गरेका थिए भनिन्छ। त्यसबेला पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेको र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वाससमेत रहिआएको छ।

हाल चन्द्रागिरी डाँडासम्म जान सन् २०१६ देखि चन्द्रागिरी केबलकारले सेवा दिँदै आएको छ। थानकोटदेखि चन्द्रागिरी डाँडा सम्म २.४ किमी दूरीमा ३८ वटा गन्डोलाहरू भएको केवलकार संचालनमा रहेका छन्। केवलकारले प्रतिघण्टा १००० जना मानिस ओसार्न सक्छन्।

भालेश्वर मन्दिरको विशेष आरती तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.