|

विराटनगर : रापिलो घाममा अँध्यारो अनुहार लगाएर सडकमा उभिएकी कटहरी गाउँपालिका–५ की गीतादेवी राम जोगबनीबाट खरिद गरेर ल्याएको सामान के गर्ने कसो गर्ने भन्दै दोधारमा परेकी थिइन्।

साउन १ गतेदेखि जोगबनी नाकाको रानी भन्सारमा कडाई हुन्छ भन्ने पत्तो नभएको उनी सुनाउँछिन्। ‘मलाई यस्तो कडा हुन्छ भनेर कहाँ थाहा थियो र?‚’  उनी प्रश्न गर्दै भन्छिन्, ‘पत्तो पाएको भए आउने थिइनँ, भन्सार दिँदा भन्सार काट्दैन उता प्रहरीले जान दिँदैन के गर्ने के नगर्ने?’

उनले दैनिक उपभोग्य सामग्री धनियाँ, चनालगायत सामान लिएर आएकी रहिछन्। उनलाई भन्सार कर्मचारीले खाद्य परीक्षण प्रतिवेदनबिना जाँचपास गर्न नमिल्ने भन्दै सामान खरिद गरेकोमा पसलमा नै फिर्ता गर्न भनेको उनले सुनाइन्।

आफूले किनेको सामान भन्सार कटाउन नदिएपछि त्यहीँ छोड्न या फर्काउने निर्णय लिन भने सकिरहेकी थिइनन्। उनी भन्दै थिइन्, ‘फिर्ता लगौँ पसलेले फिर्ता लिँदैन नलगौँ यहाँबाट घर लग्न दिँदैन।’

इटहरीकी विनिता थापा पनि सोमबार मध्य घाममा भन्सार कट्न नदिएको दैनिक उपभोग्य सामग्री हातमा बोकेर उभिरहेका भेटिए। उनले ५ लिटर तोरीको तेल, ५ किलो चिनी, दाललगायत सामान जोगबनीबाट किनेर रानी भन्सार क्षेत्रमा आईपुगेकी रहिछन् तर उनको सामानको न त भन्सार काटियो न सुरक्षकर्मीले सामान गन्तव्यसम्म लैजान नै दिए।

 खाद्यवस्तु भित्र्याउँदा खाद्य परीक्षण प्रतिवेदनसमेत हुनुपर्ने नियम लगाएपछि उपभोक्ताले ल्याएको वस्तुको भन्सार नकाटिएको हो। 

यता, जोगबनीबाट सामान खरिद गर्दै व्यवसाय गर्दै आइरहेका केही हुल भने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको विरुद्धमा उत्रिएका थिए।

उनीहरुले मेयर कोइरालाले गर्दा भन्सारमा कडाई भएको भन्दै कराईरहेका थिए विराटनगर–१७ रानीनिवासी बन्दना राय र रुक्सना खातुन। उनीहरु भन्सार नाकामा कडाई हुँदा धेरैको दैनिक व्यवसाय ठप्प भएको भन्दै विरोध जनाइरहेका थिए।

क्यारिइङ्ग चलाउने राय र खातुनले रानी नाका बन्द गराएर सहायक नाकाबाट तस्करी चलाउन खोजेको आरोप मेयर कोइरालालाई लगाए।

उनीहरुको दैनिक आम्दानीको स्रोत भनेको जोगबनीबाट सामान क्यारिइङ्ग गरेर आफ्नो पसलसम्म ल्याउने र त्यहाँबाट विराटनगरका अन्य पसलहरुमा सप्लाई गर्ने रहेछ।

पछिल्लो समय विराटनगर महानगरपालिकासँग उद्योगी–व्यापारीले बजार चलायमान बनाउन सहयोग मागेपछि स्थानीय सरकारले सम्बन्धित सरोकारवाला पक्षसँग भन्सार कडाईका लागि आग्रह गरेको थियो।

सोहीअनुसार भन्सार कार्यालय विराटनगरले साउन १ गतेदेखि एक सय रुपैयाँभन्दा बढीको सामान खरिद गरेर आएमा अनिवार्य भन्सार बुझाउनुपर्ने नियम लगाएको छ।

भन्सार बुझाउने मात्रै नभई भन्सार जाँचपासका लागि आवश्यक पर्ने कागजात पनि अनिवार्य गरेपछि खाद्यान्न तथा खाद्यवस्तु ल्याउन सहज देखिएको छैन।

जोगबनी पुगेर कपडा वा जुत्ताचप्पल वा खाद्यान्न तथा खाद्यवस्तुबाहेकका सामान किनेर भन्सार बुझाएपछि ल्याउन सकिन्छ। तर नियमानुसार भन्सार अनिवार्य बुझाउनुपर्ने हुन्छ।

खाद्य क्यारेन्टाइनको रिपोर्टसमेत संलग्न गराउनुपर्ने वस्तुहरु चिनी, चामल, चियापत्ती, कफी, दूध, जिरा, धनियाँ, बिस्कुट, भुजिया, दालमोठ, तोरीको तेल, काजु, किसमिस जस्ता सामान लिएर भन्सार कटाउँदा अनिवार्य थप कागजातसमेत खोजिने गरेको छ।

जोगबनी गएर सामान खरिद गर्नेहरुले कागजात पूरा गरेपछि भन्सार महसुल बुझाउनुपर्ने विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले बताए।

उनका अनुसार कसैले अर्को देशबाट खाद्यान्न तथा खाद्यवस्तु खरिद गरेर भित्र्याउँछ भने नियमानुसारको कागजात पूरा गरेपछि मात्रै भन्सार जाँचपास र महसुल असुली हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.