‘यातायात व्यवसायीको दबाबमा सरकारले भाडा घटाएन’

|

काठमाडौं : सरकारको बेवास्ताले दुई पटक इन्धनको मूल्य घटे पनि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटेको छैन। इन्धनको मूल्य साउन १ गते घटेर अन्तर प्रदेशमा चल्ने सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा घटे पनि उपत्यकाको लागि भने नघटेको हो।

नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रूपैयाँ मूल्य घटाएको छ। यस्तै, काठमाडौं लक्षित पेट्रोलमा ६ रूपैयाँ, डिजेलमा ४ रूपैयाँ र एलपी ग्यासमा १० रूपैयाँले मूल्य घटेको छ।

मूल्य घटेसँगै वर्गीकरणअनुसार पेट्रोल तराईमा १६१ रूपैयाँ ५० पैसा, भित्री मधेशका जिल्लाहरूमा १६३ रूपैयाँ र काठमाडौंमा १६४ रूपैयाँमा झरेको छ। डिजेलको नयाँ मूल्यअनुसार तराईमा १४३ रूपैयाँ ५ पैसा, भित्री मधेशका जिल्लामा १४५ रूपैयाँ र काठमाडौंमा १४६ रूपैयाँ भएको छ।

मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने यात्रुवाहक सवारीसाधनमा २ दशमलव १३ प्रतिशतले भाडा घटाएको छ। यसैगरी, मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको छ।

घटेको भाडा आज (मंगलबार)देखि नै लागू हुने विभागले जनाएको छ तर काठमाडौं उपत्यकाभित्रको हकमा भने हालसम्म भाडा घटाइएको छैन।

यसअघि इन्धनको मूल्य घट्दा पनि घटेन भाडादर

नेपाल आयल निगम सञ्चालक समिति बैठकले गत चैत २० मा डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३ रूपैयाँ घटायो। त्यसपछि मूल्य घटेको भोलिपल्टै आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीले ‘फ्युल सरचार्ज’ ५.९ प्रतिशतले घटाउने निर्णय गरे।

तर सार्वजनिक बसको भाडा भने अझै घटेको छैन। त्यसबेला यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले अर्कोपटक डिजेलको मूल्य घटेपछि स्वचालित वैज्ञानिक भाडा सार्वजनिक यातायातको भाडा पनि घट्ने थाहाखबरलाई जानकारी दिएका थिए। 

तर त्यसपछि निगमले गत असार १९ गते काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँ मूल्य घटाए पनि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा घटेन।

विभागले भनेअनुसार पछिल्लो समय दुई पटक इन्धनको मूल्य घट्दा पनि केन्द्र सरकार होस् या प्रदेश सरकार कसैले पनि भाडा समायोजन गर्न कुनै चासो देखाएका छैनन्। जसकारण सर्वसाधारणहरू मारमा परेका छन्।

‘यातायात व्यवसायीको दबाबमा सरकारले घटाएन भाडा’ 

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन यातायात व्यवसायीहरूको दबाबमा सरकारले भाडा घटाउन नसकेको बताउँछन्।

‘हामीले भाडा घटाउन दबाब दिइरहे पनि उता सरकार यातायात व्यवसायीहरूको दबाबमा छ, उनीहरूको मिलेमतो छ, अनि कसरी भाडा घट्छ,’ उनले भने।

उनले जति नै उपभोक्ता एवं यात्रुहरू ठगिए पनि सरकारले बेवास्ता गर्ने गरेको बताए। ‘२ पटक इन्धनको मूल्य घटिसक्यो तर खै भाडा नै घटेन। हामीमाथि शोषण भइरहेको छ, अझै कत्तिञ्जेल सरकार चुप बस्छ?,’ उनले भने।

उनका अनुसार इन्धनको मूल्य पटक पटक घटे पनि अहिले सार्वजनिक बसहरूले चढ्यो  कि न्यूनतम २० देखि ४० रूपैयाँसम्म भाडा तिर्नुपर्छ। 

प्रदेश सरकार भन्छ : एक दुई दिनमा भाडा घट्छ

भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेश, हेटौंडाका सूचना अधिकारी राजु अर्यालले एक दुई दिनमा काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा घट्ने जानकारी दिए।

उनले यसलाई बेवास्ता नगरिएको तर्क गरे। ‘इन्धनको मूल्य घटेको छ, अब भाडाको विषयमा छलफल भइरहेको छ, आजभोलिमा भाडा समायोजन भइ भाडादर घट्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.